Kakhara सबैको खबर सम्पूर्ण खबर
समाजवादी मोर्चा रुकुम पश्चिमको संयाेजकमा चन्द्र सी, सानीभेरी ५ को अध्यक्षमा मोर्चाले जसिरामलाई सघाउने
चन्द्र सी ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा रुकुम पश्चिमको संयोजकमा चन्द्र सी चयन हुनुभएको छ । मोर्चाको आइतबार मुसिकोटमा बसेको बैठकबाट नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र सी लाई मोर्चाको संयोजकको जिम्मेवारी हस्तान्तरण गरिएको हो । 

मोर्चाका संस्थापक जिल्ला संयोजक नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक गोविन्द रोका सचिनले आलोपालो प्रणाली अन्तरगत चन्द्र सी लाई नेतृत्व हस्तान्तरण गर्नुभएको हो । बैठकले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ५ को अध्यक्षमा मोर्चा घटक दल नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतलाई विजयी गराउन सहयोग गर्ने निर्णय गरेको छ । 

त्यस्तै मोर्चाले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय रुकुम पश्चिमको कार्यसम्पादनबारे आइरहेको व्यापक जनगुनासोका सम्बन्धमा सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराउने गराउने निर्णय समेत गरेको छ । साथै जनजीविका र सुशासनको क्षेत्रमा मोर्चालाई थप क्रियाशील बनाउने निर्णय भएको मोर्चाले जनाएको छ । जिल्लामा मोर्चा गठन भएदेखि हालसम्मका गतिविधि र उपलब्धिको समीक्षा समेत गरिएको मोर्चाका निवर्तमान संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा अलपत्र पारिएका विकास निर्माणका विभिन्न आयोजनाहरू सुचारु गराउन जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय तथा आयोजनास्थलमा धर्नालगायतका सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गरिएको, लामो समयदेखि अलपत्र पारिएको मेघा पुलको ठेक्का रद्द गराइएको, जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा देखिएको खानेपानी समस्या समाधानका लागि परिणाममुखी पहल गरिएको छ । 

यसका साथै मध्यपहाडी लोकमार्गको भण्डारीकाँडा–सेरिगाउँ सडक खण्डको किनारामा वृक्षारोपण गरिएको, गलत काम गर्दा समाजवादी मोर्चाले छोड्दैन है भन्ने सन्देश प्रवाह भएको, जिल्लाका ६ वटै स्थानीय तहहरूमा मोर्चाको सङ्गठन विस्तार गरिएको, जिल्ला स्तरमा एक र पालिका स्तरमा एक सन्देश सभा सम्पन्न गरिएको लगायतका आन्तरिक तथा बाह्य कार्यक्रमहरू सहित माओवादी केन्द्र नेतृत्वको पहिलो कार्यकाल सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालिएको रोकाको भनाई छ । 

मोर्चाका निवर्तमान संयोजक गोविन्द रोका सचिनको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्त शर्मा कुशलको विशेष उपस्थिति रहेको थियो । मोर्चाको बैठकले गरेका निर्णय मोर्चाका संयोजक चन्द्र सी ले आज विज्ञप्ति मार्फत सार्वजनिक गर्नुभएको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update