Kakhara सबैको खबर सम्पूर्ण खबर
यातायात व्यवसायीले मनपरी भाडा असुल्ने देखि यात्रुलाई गन्तव्यमा नपुर्‍याई सास्ती दिने गरेको गुनासो 

रुकुम पश्चिममा यातायात व्यवसायीले मनपरी भाडा असुल्नेदेखि यात्रुलाई गन्तव्यमा नपुर्‍याई सास्ती दिने गरेको गुनासो बढेको छ । जिल्लाका विभिन्न सडक खण्डमा सञ्चालन हुने सवारी साधनले तोकिएको भाडा दर भन्दा बढी भाडा असुल्ने तथा तोकिएको स्थानमा नपुर्‍याई यात्रुलाई अलपत्र पार्ने प्रवृत्ति बढेको भन्दै गुनासो बढ्न थालेको हो । 

जिल्ला भित्र रहेका यातायात व्यवसायीले यात्रुबाट तोकिएको भन्दा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राखेर बाध्यात्मक यात्रा गराउने, तोकिएको रुटमा काटिएको टिकट अनुसार (चौरजहारी, सिम्ली, चाइनाबगर लगायत) तोकिएका स्थानहरूमा यात्रुहरूलाई नपुर्‍याई सास्ती दिने गरेको आम जनगुनासो आएकाले सबै यातायात व्यवसायी तथा सरोकारवाला बिच छलफल गरी विभिन्न निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलबाट तोकिएको भाडा दर लिनुपर्ने र सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, दोहोरो टिकट काट्ने समस्यालाई नियन्त्रण गर्नुपर्ने, यातायात समितिहरूले निर्धारण गरेका सबै रुटमा सम्बन्धित सवारीसाधन समयमा पुगी टिकट काटेका यात्रुहरूलाई उठाउने र तोकिएको गन्तव्यसम्म यात्रुहरूलाई पुर्‍याउने व्यवस्था अनिवार्य गर्नुपर्ने, सर्वसाधारण र यात्रुहरूले ट्राफिक नियमको पालना गर्ने कार्यमा सहयोग गर्ने, जिल्ला ट्राफिक प्रहरीले कडाइकासाथ कार्यान्वयन गर्ने, गराउने लगायतका निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । 

त्यस्तै पार्किङ व्यवस्थापन सम्बन्धमा दीर्घकालमा लामो दुरीका सवारी साधन, हलुका सवारी साधन तथा तीन पाङ्ग्रे सवारी साधनका लागि छुट्टाछुट्टै पार्किङ स्थल बनाउने गरी तत्काललाई तोकिएका स्थानहरूमा मात्र सवारीसाधन रोक्ने (यात्रु ओराल्ने र चढाउने मात्र) कार्यलाई प्रभावकारी कार्यान्वयन गर्ने, अटो सञ्चालन भएका स्थानीय तहले अटोहरूको भाडा निर्धारण गरी कार्यान्वयन गर्ने, गैर कानुनी ढङ्गले सञ्चालित त्यस्ता अटोहरूको कडाइकासाथ नियन्त्रण गर्ने निर्णय भएको छ । 

त्यस्तै गरी मालवाहक सवारीसाधन मुसिकोट खलङ्गा बजार आगमन तथा प्रस्थानका लागि साँझ र बिहानको समय प्रयोग गर्ने व्यवस्था गर्नुका साथै मालवाहक सवारीसाधनमा यात्रुहरू नराख्ने कुराको ट्राफिक प्रहरीले निगरानी गर्ने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । 

भाडा दर निर्धारणको लागि समिति गठन 
जिल्लाका विभिन्न रुटहरूमा सञ्चालन भएका यातायात व्यवसायीले भाडा मनपरी असुल्ने गरेको गुनासो बढेपछि भाडा दर निर्धारण गर्न जिल्ला प्रशासन कार्यालयले समिति समेत गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । 

समितिको सदस्यमा यातायात सेवा कार्यालय चौरजहारी, सडक डिभिजन चौरजहारी, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्लामा क्रियाशील यातायात व्यवसायी प्रालीका प्रतिनिधि सदस्यको रूपमा रहेका छन् । समितिले जिल्लाभित्रका विभिन्न आन्तरिक सडकमा चल्ने पुराना सडक रुटहरूमा पछिल्लो समयमा भएको सडक स्तरोन्नति सँगै पूर्व निर्धारित भाडा दरलाई परिमार्जन गर्ने, नयाँ सडक रुटहरूमा सञ्चालित सवारी साधनहरूको भाडा दर निर्धारण गर्ने, तोकिएको भाडा दर लिए नलिएको, सिट क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता समस्यालाई नियन्त्रणका लागि सुझाव पेस गर्ने छ । समितिले यस विषयमा अध्ययन गरेर एक हप्ताभित्र प्रतिवेदन तयार पारी पेस गर्ने बताएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update