एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन रुकुम पश्चिमले मुसिकोट नगरपालिकामा धर्ना दिएको छ । मुसिकोट नगर प्रमुख महेन्द्र केसीले पदीय दम्भ देखाउँदै त्रिभुवन जनता माध्यमिक विद्यालयका सरकारी शिक्षक कर्मचारीहरूको तलब विगत चार महिनादेखि रोकेको भन्दै संगठनले धर्ना दिएको हो ।
एक विज्ञप्ति जारी गर्दै सङ्गठनले नगर प्रमुख जस्तो पदीय जिम्मेवारीमा रहेर आफ्नो पदीय मर्यादा विपरीतको नाङ्गो, वदनियतपूर्ण तरिकाले शिक्षक कर्मचारीको तलब रोकिदिएको उल्लेख आरोप लगाएको छ ।
ठाडो राजनीतिक हस्तक्षेपका कारण मुसिकोट नगरपालिका अन्तर्गतका विद्यालयहरूमा प्रमुख केसीले शिक्षक नियुक्ति लगायतका काममा अनियमितता गरी आफ्ना कार्यकर्ताहरू भर्ती केन्द्र बनाएर विद्यालयको शैक्षिक वातावरण लथालिङ्ग पारेको सङ्गठनले आरोप लगाएको छ ।
‘विगतमा त्रिभुवन जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिले आर्थिक अनियमितताको छानबिन गरी केही व्यक्तिहरूको प्रत्यक्ष संलग्नतामा अनियमितता देखिएपछि तिनै व्यक्तिहरूलाई बचाउनका निम्ति विव्यस विघटन गर्ने दुस्साहस गरेको, हाल सम्मानित उच्च अदालतको फैसलाले विव्यस स्थापित गरेको सर्वविदितै छ,’ विज्ञप्तीमा भनिएको छ ।
नगर प्रमुखको सेटीङमा अमर्यादित रूपमा शिक्षक नियुक्ति गर्दै आएकोमा त्रिजमाविमा प्रतिस्प्रर्धाबाट योग्य शिक्षक छान्नका लागि विव्यस र विद्यालय प्रशासनले पटक पटक शिक्षक नियुक्ति गर्न अनुरोध गर्दा समेत विगत दुई वर्ष देखि रिक्त रहेका उमावि र निमावि तहका शिक्षक कोटामा शिक्षक नियुक्ति नै गर्न नदिई बालबालिकाको योग्य शिक्षकबाट शिक्षा पाउने अधिकारबाट वञ्चित गरेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शेरबहादुर केसी र सचिव चन्द्रबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै आर्थिक अनियमिततामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा उनिहरूकै नेतृत्वमा विद्यालय बन्द गराउने, शिक्षक माथि हातपात गर्ने जस्ता अराजक र अमर्यादित कार्य पटक पटक भएको समेत संगठनको आरोप छ । लाखौँ रकम हिनामिना गरेका विद्यालय कर्मचारीलाई खाता सञ्चालन गर्न नदिएसम्म खाता रोक्का गर्ने नगर प्रमुखको ठाडो शैलीमा आदेश दिने प्रवृत्तिको समेत विरोध गरिएको छ ।
उच्च अदालतको फैसला आइसकेपछि अदालतको फैसलालाई सम्मान गर्दै विद्यालयका तमाम समस्याहरू समाधान गर्नु पर्नेमा कार्तिक २५ गते प्रअ बैठकको मौका पारी आफ्नो कार्यकक्षमा बोलाई त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपीराम केसीलाई प्रअ पदबाट राजीनामा दिन दबाब दिएको, प्रअ बैठकमा बस्न नदिएको, राष्ट्रपति रनिङ शिल्डमा विद्यालयलाई भाग लिन नदिने जस्ता अभद्र व्यवहार र धम्की दिएको प्रति समेत सङ्गठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रअ केसी माथि गरेको अमानवीय र पदीय मर्यादा विपरीत गरेका दुव्र्यवहार सच्याउने, विद्यालयका शिक्षक नियुक्ति, आर्थिक अनियमितता भएको रकम असुल उपर लगायतका तमाम समस्याहरू समाधान गरी विद्यालयमा स्वच्छ, मर्यादित र सुरक्षित शैक्षिक वातावरण निर्माण गर्न मुसिकोट नगरको कार्यपालिका र सम्वन्धित सरोकारवाला पक्षहरूसँग स्ंगठनले माग गरेको छ ।स स
विद्यालय जस्तो सयौँ बालबालिकाको भाग्य र भविष्य जोडिएको पवित्र स्थलमा राजनीतिक दाउपेच गरी व्यक्तिगत वा राजनीतिक स्वार्थपूर्तिका लागि नगर प्रमुख जस्तो गरिमामय पदलाई अमर्यादित बनाइ यस्तै अन्याय अत्याचारपूर्ण हर्कतको निरन्तरता दिने हो भने निर्मम भएर प्रतिवाद गर्ने र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्ष नै हुनुपर्ने सङ्गठनले चेतावनी समेत दिएको छ ।
सङ्गठनले यस विषमा मङ्गलवार नगरपालिका पुगेर धर्ना दिएर विरोध जनाउनुका साथै नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएको छ ।
प्रेस विज्ञप्ति