Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा मंसिर १ गतेदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुने
फाइल फोटो ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मंसिर १ गतेदेखि  तेस्रो राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने भएको छ । नगरपालिकाको वडा नम्बर ४,६ र ११ को सिमानामा पर्ने ट्याखोलामा शिल्ड सञ्चालन हुने भएको हो । तेस्रो राष्ट्रपति रनिङ शिल्ड १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा सञ्चालन उपसमिति संयोजक तथा बालकल्याण मावि सोलावाङका प्रधानाध्यापक भक्तबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आइतबार मुसिकोट नगरपालिकामा भएको प्रअहरुको बैठकले १ गतेदेखि ४ गतेसम्म शिल्ड सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रपति रनिङ शिल्डमा नगरभित्र रहेका ३ वटा संस्थागत र १६ वटा सामुदायिक गरेर १९ वटा माध्यामिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । शिल्डमा छात्र, छात्रा भलिवल, छात्र, छात्रा , हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट प्रतियोगिता सञ्चालन हुनेछन् । 

त्यस्तै दौड तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको छात्र, छात्र दौड प्रतियोगिता हुनेछ । मार्शल आर्टतर्फ कराते, तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको छ ।  शिल्डमा भलिवल प्रतियोगिता र मार्शल आर्टतर्फ कराते र तेक्वान्दोमा सहभागि जनाएका विद्यार्थीले अन्य कुनै पनि विधामा सहभागि हुन नपाउने उपसमिति संयोजक खड्काले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष मुसिकोट १३ मा रहेको महेन्द्र मावि छिवाङले शिल्ड जित्दा गत वर्ष भने खंलगामा रहेको त्रिजमाविले शिल्ड कब्जा गरेको थियो । मुसिकोट नगरपालिकाले आयोजना गरेको यो तेस्रो संस्करण हो । रनिङ शिल्डको मिति तोकिएसँगै विद्यालयहरुले शिल्डमा सञ्चालन हुने प्रतियोगिताको तयारी गरिरहेको जनाएका छन् । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update