रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले एक दिन सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै शुक्रबार कात्तिक शुक्ल पूर्णिमाको दिन सार्वजनिक विदा दिएको हो । नगरपालिकाको वडा नम्बर ५ थर्पूमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल डिग्रे शाईकुमारी मन्दिरमा कार्तिक शुक्ल पूर्णमाका दिन लाग्ने मेलाको अवसरमा एक दिन विदा दिएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र विष्टले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
भोली शुक्रकार मुसिकोट नगरपालिका र पालिका अन्तर्गतका १४ वटै वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक विद्यालय, संस्थागत विद्यालयलाई स्थानीय सार्वजनिक एक दिनको विदा दिएको नगरपालिकाले जनाएको छ । नगरपालिकिाले हरेक वर्ष डिग्रे मेलाको अवसरमा शुल्क पूर्णिमाको दिन सार्वजनिक विदा दिँदै आएको छ ।
हरिवोद्धनी एकादशीदेखि सुरु भएको डिग्रेमेला भोली शुल्क पूर्णिमाको दिन सकिँदै छ । डिग्रे मन्दिरमा पुजापाठ, बोका बली दिने गरिन्छ । मन्दिरमा पुजापाठ गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेकाे छ ।