Kakhara सबैको खबर सम्पूर्ण खबर
चौतारा मेला: महिला भलिबल तर्फको उपाधि टिम आयुष–चूडामणिलाई 

रुकुम पश्चिमको आठिबिसकोट नगरपालिका वडा नम्बर ९ को राडीमा जारी ३० औँ चौतारा मेलाको अवसरमा आयोजित महिला भलिबलको उपाधि आयुष–चूडामणि टिमले जितेको छ । आज भएको फाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई २–१ को सेटमा पराजित गर्दै रुकुम पश्चिमकै आयुष–चूडामणि टिम महिला तर्फ विजेता बनेको हो । वेस्ट अफ थ्री मा सञ्चालित फाइनलको पहिलो सेट रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २५–२० ले जितेको थियो ।

राष्ट्रिय खेलाडी प्रगति नाथ, सुमित्रा रेग्मी लगायतका खेलाडी सम्मिलित आयुष–चूडामणि टिमलाई दबाबमा राख्दै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले पहिलो सेट जित्न सफल भएको थियो । तर त्यसपछि भने पुनरागमन गर्दै आयुष–चूडामणि टिमले लगातार दुई सेट जित्दै उपाधि हात पार्न सफल भएको हो । आयुष–चूडामणि टिमले दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५–१७ को सहज जित निकालेको थियो । उसले कप सहित नगद नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पार्न सफल भएको छ ।

उपविजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले कप र नगद १ लाख १ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ । पुरुष तर्फको फाइनल खेल अहिले जारी छ । उपाधिका लागि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र टिम आदित्य बाँसथला भिडिरहेका छन् ।

पुरुष तर्फको विजेताले पुरस्कार स्वरूप ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता समूहले नगद २ लाख २ हजार २२ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गर्ने आयोजक चौतारा मेला व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update