Kakhara सबैको खबर सम्पूर्ण खबर
चौतारा मेलामा आयोजित पुरुष भलिबलको उपाधि टिम आदित्यलाई, ३ लाख ३ हजार पोल्टामा पार्‍यो
विजेता टिमका खेलाडी । फाेटाेः नमस्ते सुर्खेतकाे फेसबुकबाट ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ को राडीमा चौतारा मेलाको अवसरमा आयोजित सर्वाधिक पुरस्कार राशिको पुरुष भलिबलको उपाधि टिम आदित्य बाँसथलाले जितेको छ । बिहीबार आज भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–२ को सेटमा पराजित गर्दै टिम आदित्य बाँसथलाले उपाधि जितेको हो । फाइनलको पहिलो सेट टिम आदित्य बाँसथलाले निकै प्रतिस्पर्धाका बिच ३०–२८ ले जित्न सफल भएको थियो ।

त्यसपछिका दोस्रो र तेस्रो सेट भने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जित्दै खेलमा फर्किएको थियो । दोस्रो सेट रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २५–२० र तेस्रो सेट २५–२१ ले जित्न सफल भएको थियो । त्यसपछि भने टिम आदित्य बाँसथला खेलमा फर्किँदै चौथो र पाँचौँ सेट सहित उपाधि जित्न सफल भयो । उसले चौथो सेट २५–१७ ले जितेको थियो भने निर्णायक पाँचौँ सेट १५–११ ले जितेको थियो ।

उसले कप सहित ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगद हात पारेको छ । उपविजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २ लाख २ हजार २२ रुपैयाँ सहित कप प्राप्त गरेको आयोजक चौतारा मेला व्यवस्थापन समितिका अध्यक्ष दिलीप बटालाले जानकारी दिनुभयो । विजेता टिम आदित्यमा चर्चित खेलाडी धनबहादुर भट्ट, रविन चन्द, दुर्गा महताे लगायतका खेलाडी थिए भने पहल गहतराज, सफल विश्वकर्मा, रेशम छन्त्याल, चिरण खड्का, सुरेन्द्र केसी लगायतका खेलाडी थिए ।  

उहाँका अनुसार प्रतियोगितामा टिम बटाला तेस्रो भएको छ । आयोजकलाई पराजित गर्दै तेस्रो भएको बटालाले कप सहित ७५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update