रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुमा अवस्थित डिग्रे साइकुमारी मन्दिरमा आज मुख्य मेला लाग्दै छ । कार्तिक २७ गते हरिबोधिनी एकादशी देखि नै मेला सुरु भए पनि आज पूर्णिमाको दिन मुख्य मेला लाग्दै छ । मुख्य दिन आज डिग्रे साइकुमारी मन्दिर परिसरमा भव्य मेला लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मेलामा विभिन्न स्थानीय नाच सहित चर्चित सगाल नाच समेत प्रस्तुत हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । सगाल नाच मेला पसेपछि मेला सकिन्छ । हात हातमा लट्ठी सहित मुसिकोट नगरपालिका ७ को साँख गाउँबाट आएका स्थानीय मेला पसेपछि मेला सकिँदै जाने अध्यक्ष केसीको भनाई छ ।
उहाँका अनुसार देवीको रक्षाका लागि मन्दिर स्थापना देखि नै डिग्रे मेलामा सगाल नाच नाच्ने गरिएको छ । यसरी लट्ठी बजारेर नाच्दा भूत प्रेतबाट साइकुमारी देवीको रक्षा हुने विश्वास छ । आज मुख्य मेला लागेसँगै यस वर्षको डिग्रे साइकुमारीको मेला सकिने छ । आज पूजापाठ सहित मेला लाग्ने छ । आज बलि दिन भने नमिल्ने मन्दिर व्यवस्थापन समितिको भनाई छ ।
सुरुको दिन एकादशीमा तुलसीको विवाह सहित विशेष पूजाआजाका साथ डिग्रे मेला सुरु भएको थियो । २८ गते बुधवार द्वादशीका दिन बोका बली सहित पूजापाठ भएकामा बिहीबार पनि बली सहित पूजापाठ भएको थियो । बिहीबार त्रयोदशी र चतुर्दशी एकै दिन परेकोले दुई दिनको पूजापाठ एकै दिन भएको थियो । हरेक वर्ष ५ दिन मेला लाग्ने भए पनि यो वर्ष त्रयोदशी र चतुर्दशी एकै दिन परेकोले यो वर्ष मेला ४ दिन मात्र परेको डिग्रे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।
डिग्रे कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल मध्येको एक हो । यस मन्दिरमा हरेक वर्ष लाग्ने मेला समेत कर्णाली प्रदेशकै ठुलो मध्यको एक हो । यस मन्दिरमा वर्ष भरी नै पूजापाठ र बलि दिन सकिने भए पनि हरिबोधिनी एकादशी देखि पूर्णिमासम्मको अवधिमा हुने पूजापाठ, दर्शन र बलिलाई विशेष रूपमा लिने गरिन्छ ।
डिग्रे साइकुमारी मन्दिरमा पूजापाठ, दर्शन र बलि दिनाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेको छ । यस मन्दिरको महिमा ठुलो रहेको छ । जसका कारण रुकुम पश्चिम मात्र नभई देशका विभिन्न ठाउँ तथा छिमेकी देश भारतबाट समेत ठुलो सङ्ख्यामा भक्तजनहरू मन्दिरको दर्शनका लागि पुग्ने गरेको डिग्रे मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मेला अवधिमा मात्र एक हजार भन्दा बढी बोकाको बलि दिने गरिएको छ भने एक लाख बढी दर्शकले पूजापाठ, दर्शन तथा मेला भर्ने गरेको समितिको भनाई छ । मन्दिर व्यवस्थापन समितिका अनुसार डिग्रे साइकुमारी मन्दिर द्वापर युगको अन्त्य तिर स्थापना भएको र सोही समयबाट मेला सुरु भएको इतिहास रहेको छ ।।
यसैबिच डिग्रे मेलाको अवसरमा मुसिकोट नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा समेत दिएको छ । डिग्रे साइकुमारी मन्दिरमा कार्तिक शुक्ल पूर्णमाका दिन लाग्ने मेलाको अवसरमा आज बिदा दिइएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र विष्टले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
आज मुसिकोट नगरपालिका र पालिका अन्तर्गतका १४ वटै वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक विद्यालय, संस्थागत विद्यालयलाई स्थानीय सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले हरेक वर्ष डिग्रे मेलाको अवसरमा कार्तिक शुल्क पूर्णिमाको दिन सार्वजनिक बिदा दिँदै आएको छ ।