रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । यस वडामा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । आज एक कार्यक्रमका बिच वडा कार्यालय लाखुरीबोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
वडामा हुन लागेको उपनिर्वाचनका लागि सानीभेरी ५ को मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश रामप्रसाद बस्याल रहनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश रामप्रसाद बस्याल, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिँजाली, सुरक्षा निकाय, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
जिल्लामा एक ठाउँमा सानीभेरी ५ मा मात्र उपनिर्वाचन हुँदै छ । काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको गत वर्ष निधन भएपछि उपनिर्वाचन हुन गइरहेको छ । यस वडाका लागि काँग्रेस र नेपाल समाजवादी पार्टीले काँग्रेसका मोतीराम खत्रीलाई उम्मेदवार बनाउँदै छन् । उहाँ स्वर्गीय वडाध्यक्ष खत्रीका सहोदर भाइ हुनुहुन्छ । माओवादीले पूर्व वडा सदस्य जसिराम बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेकपा एमालेले अमृत खत्री र जनता समाजवादी पार्टीले हंशराज पुरीलाई उम्मेदवार बनाउने तयारी गरेकाे छ ।