Kakhara सबैको खबर सम्पूर्ण खबर
सकियो डिग्रे मेला 

रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला शुक्रबार आज सकिएको हो । आज मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा भव्य मेला लागेको छ । यो वर्ष एकादशी देखि आजसम्म  १ लाख  हाराहारीमा दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । 

एकादशी देखि आजसम्म मन्दिरमा पूजापाठ गर्ने देखि आज अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्तिहरू डिग्रे पुगेको अनुमान समितिको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरू रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङ लगायतका छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको समितिले जनाएको छ । 

डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्न मिल्छ । त्यस्तै बोकाको बलि समेत चढाउन मिल्छ । तर वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशी देखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । तर यय पटक भने तिथि घटबढका कारण ४ दिन विशेष मेला लागेको हो  । मेलामा पूजापाठ, दर्शन तथा बलि चढाउने गरिन्छ । 

6df8aa93-b117-43d0-86c4-a5cff79a6a8d-1731670036.jpegमन्दिर व्यवस्थापन समितिका अनुसार एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शन सहित बलि चढाउन मिल्छ । एकादशी देखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला सकिएको छ । हरेक वर्ष मेलाको अन्तिम दिन सगाल नाच देखाउँने गरिन्छ । मेला सकिएपनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर भने अहिलेसम्म समितिले जानकारी गराएको छैन । विवरण तयारीको काम भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ । 

2ac0fdcd-bd18-4e4f-9ea7-9f95819320af-1731670033.jpeg
यसैबिच मेलाको अवसरमा आज मुसिकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । नगरपालिका, नगरपालिका अन्तर्गतका १४ वटै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो । नगरपालिकाले हरेक वर्ष मेलाका अवसरमा एक दिन स्थानीय बिदा दिने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update