रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला शुक्रबार आज सकिएको हो । आज मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा भव्य मेला लागेको छ । यो वर्ष एकादशी देखि आजसम्म १ लाख हाराहारीमा दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।
एकादशी देखि आजसम्म मन्दिरमा पूजापाठ गर्ने देखि आज अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्तिहरू डिग्रे पुगेको अनुमान समितिको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरू रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङ लगायतका छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको समितिले जनाएको छ ।
डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्न मिल्छ । त्यस्तै बोकाको बलि समेत चढाउन मिल्छ । मेलामा शुक्ल पूर्णिमा अर्थात अन्तिम दिन सगाल नाच(लठ्ठी नाच) प्रस्तुत गरेरसँगै मेला समापन हुन्छ । मन्दिरमा पुजापाठ गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेको छ ।
तस्वीर : मनिष खड्का /कखरा