उपनिर्वाचनको मिति नजिकिए सँगै दलहरू चुनावी तयारीमा कस्सिएका छन् । रुकुम पश्चिममा उपनिर्वाचन हुन लागेको सानीभेरी गाउँपालिका ५ मा दलहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । त्यहाँ वडाध्यक्षको लागि चुनाव हुँदै छ । उपचुनावलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन याेङ्ग कम्युनिस्ट लिग (वाइसीयल)ले मार्च पास गरेको छ ।
वडाको मेलचाैर देखि हाँसु गाउँसम्म मार्च पास गरिएको वाइसीयलका केन्द्रीय सचिव शैलेशकुमार शर्माले जानकारी दिनुभयो । मार्च पासमा करिब ५ सय वाइसीयल र माओवादी नेता, कार्यकर्ताको सहभागिता रहेको सचिव शर्माले जानकारी दिनुभयो । उपनिर्वाचनको प्रचारप्रसार अन्तर्गत मार्च पास गरिएको उहाँले बताउनुभयाे ।
उपनिर्वाचनमा पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार जसिराम बस्नेतलाई विजयी गराउन वाइसीयलले सघाउने र सोही अनुसार शनिवार वडामा मार्च पास गरेको उहाँको भनाई छ ।
पार्च पासमा वाइसीयलका केन्द्रीय सचिव शर्मा सहित वाइसीयलका कर्णाली प्रदेश सह संयोजक लक्ष्मण ओली, जिल्ला संयोजक गोविन्द ओली, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सङ्गठन विभाग प्रमुख गोपाल शर्मा अनल, जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला संयाेजक गोविन्द रोका सचिन लगायतको उपस्थिति रहेको थियो ।
काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको गत वर्ष निधन भएपछि उपनिर्वाचन हुन लागेको छ । यस वडाका लागि काँग्रेस र नेपाल समाजवादी पार्टीले काँग्रेसका मोतीराम खत्रीलाई उम्मेदवार बनाउँदै छन् । उहाँ स्वर्गीय वडाध्यक्ष खत्रीका सहोदर भाइ हुनुहुन्छ ।
माओवादीले पूर्व वडा सदस्य जसिराम बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेकपा एमालेले अमृत खत्री र जनता समाजवादी पार्टीले हंशराज पुरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्दा हुँदै छ ।