अब रुकुम पश्चिममै आँखाको शल्यक्रिया अर्थात अप्रेशन हुने भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नं. १ मा रहेको आँखा उपचार केन्द्रको स्तर उन्नती गरी जिल्ला आँखा अस्पताल तथा सर्जिकल सेन्टरको रुपमा विकास हुन लागेको हो । दश बर्ष देखि प्राथामिक उपचार सेवा दिँदै आएको उक्त केन्द्रमा अब आखा अप्रेशन हुने छ ।
अस्पताल तथा सर्जिकल सेन्टरमा विकास गर्न कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य सेवा कार्यालय मार्फत १० लाख रकम आएको छ । त्यस्तै मुसीकोट नगरपालिको ५ लाख र अन्य आवश्यक बजेट तथा आन्तरिक स्रोत जुुटाएर अस्पताल तथा सर्जिकल सेन्टरका रुपमा विकास गरिने आखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।
प्रमुख केसीका अनुसार अस्पताल तथा सजिर्कल सेन्टर स्थापनाका लागि आवश्यक अप्रेटिङमाईक्रोस्कोप र मोतिया विन्दुको अप्रेशनमा अवश्यक सामग्रि खरिदको लागि प्रक्रिया थालिएको छ । सेन्टरको लागि आवश्यक सामग्री छिट्टै जडान गरी असार मसान्त सम्ममा आँखाको शल्यक्रिया सुरु गर्ने प्रमुख केसीले बताउनुभयो ।
अहिले आँखा उपचार केन्द्रबाट आँखा र कानको प्राथामिक उपचार सेवा दिईदै आएकोमा असार मसान्त सम्ममा उक्त उपचार केन्द्र सर्जिकल सेन्टरको रुपमा विकास हुने छ । जिल्लामै सर्जिकल सेन्टरको स्थापना भए आँखा अप्रेशनको लागि दाङ, नेपालगञ्ज, काठमाण्डौ लगायत ठाउँ जान नपर्ने भएको छ