Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगामा चुनाव चिन्ह रूख, उम्मेदवार एमालेका

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा मङ्सिर १६ गते हुने उपनिर्वाचनमा नेपाली, काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । पालिका उपाध्यक्ष र २ नम्बर वडाध्यक्ष गरी उपनिर्वाचन हुन लागेका दुवै पदमा दुई दलले साझा रूपमा चुनाव लड्न लागेका हुन । उपनिर्वाचनमा काँग्रेसको चुनाव चिन्ह र एमालेका उम्मेदवार हुने भएका छन् ।

निर्वाचन आयोगमा आधिकारिक रूपमा पुथाउत्तरगंगामा काँग्रेसका उम्मेदवार हुनेछन् । तर व्यवहारिक रूपमा भने एमालेका उम्मेदवार रहेका छन् । रूख चुनाव चिन्हमा नेकपा एमालेकी जिल्ला उप-सचिव केशकुमारी तुलाचन उपाध्यक्षको चुनाव लड्दै हुनुहुन्छ ।

दुवै दलको साझापनका लागि यसो गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतमले जानकारी दिनुभयो । वडा नम्बर २ मा भने एमालेका उम्मेदवार जीवन रोका सूर्य चुनाव चिन्हबाटै चुनाव लड्दै हुनुहुन्छ । यहाँ पनि एमाले-काँग्रेसकाे गठबन्धन छ ।

`पालिका उपाध्यक्ष र वडाध्यक्ष दुवैमा एमालेकै उम्मेदवार हुनुहुन्छ, काँग्रेस र एमालेले गठबन्धन गरेका कारण दुवै दलको अपनत्वत्वका लागि पालिका उपाध्यक्षमा रूख चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय भएको हो´ उहाँले भन्नुभयो ।

क-कसको पर्याे उम्मेदवारी ?
मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि पुथाउत्तरगंगामा पनि आइतबार मनोनयन दर्दा भएको छ । उपाध्यक्ष पदको लागि ४ जना स्वतन्त्र उम्मेदवार सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तकसेरामा तीन राजनीतिक दलसहित ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसको तर्फबाट केशकुमारी तुलाचन, माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा र एकीकृत समाजवादीका तर्फबाट सुनिता बुढा मगरले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहनभक्त बुढा, भिमकुमारी पुन र सूर्यदेवी सुनार रहेका छन् ।  २ नम्बर वडा अध्यक्ष पदका लागि नेकपा एमालेको तर्फबाट जीवन रोका, माओवादीको केन्द्रको तर्फबाट जगत् घर्ती र स्वतन्त्र उम्मेदवारको तर्फबाट शुक्रराज विक रहनुभएको छ ।

२०७९ को मत परिणाम कस्तो छ 
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्ष सहित १४ मध्य ११ वडामा माओवादी केन्द्रले जित्दा २ वडा एमाले र एउटा वडा नेपाली काँग्रेसले जितेको थियो । पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी भूपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेकी धर्मघर्ती बुढाले १ हजार ८ सय १२ मत पाउनुभएको थियो । 

उपाध्यक्षको मत हेर्दा एकल निर्वाचन भएमा माओवादी सहज अवस्था देखिन्छ भने गठबन्धन भएमा अप्ठ्यारो पर्ने देखिन्छ । उपाध्यक्षमा काँग्रेस र एमालेले पाएको मत जोड्दा ३ हजार ८ सय २२ हुन्छ । यसलाई हेर्दा माओवादीको मत २ सय ३७ बढी देखिन्छ । तर अध्यक्षमा पाएको मत भने काँग्रेस र एमालेको मत भन्दा कम छ । अध्यक्षमा माओवादीका पुणिराज घर्तीले ३ हजार ९ सय ९३ मत ल्याएर जित हासिल गर्नुभएको थियो । 

अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तेजेन्द्र खाम मगरले २ हजार १ सय १३, एमालेका उम्मेदवार वागलाल बुढाले १ हजार ८ सय ५२ मत पाउनुभएको थियो । काँग्रेस र एमालेको मत जोड्दा ३ हजार ९ सय ६५ हुन्छ । यो माओवादीले अध्यक्षमा पाएको भन्दा ५२ मत बढी हो ।  
वडा नम्बर २ को मत विवरण यस्तो छ ।

वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २ सय ३४ मत ल्याएर निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसका कर्णबहादुर बुढाले १ सय ७९ मत ल्याउनुभएको थियो । यस वडामा माओवादी र काँग्रेसका मात्र उम्मेदवार थिए । २०७९ को निर्वाचनमा पालिकामा छुट्टा छुट्टै चुनाव लडे पनि अधिकांश वडामा नेपाली काँग्रेस र नेकपा एमालेले एक अर्कालाई सघाएका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update