Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगामा माओवादीले अन्तिममा किन फेर्याे उम्मेदवार ?

उम्मेदवार छनोटका लागि कार्तिक २२ र २३ गते तकसेरामा बसेको नेकपा माओवादी केन्द्रको पुथाउत्तरगंगा गाउँपालिका समितिको बैठकले वडा नम्बर १२ कि ज्ञानदेवी पुनलाई पालिका उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्याे। सर्वसम्मत पालिका उपाध्यक्ष र वडा नम्बर २ का वडाध्यक्षको उम्मेदवार टुङ्ग्याएको माओवादीले मनोनयन दर्ताको दिन भने पालिका उपाध्यक्षका उम्मेदवार फेरेको छ ।

आइतबार उम्मेदवारको मनोनयन दर्ता भने नरपुरा बुढाले गराउनुभयो । उहाँ स्वर्गीय उपाध्यक्ष भूपेन्द्रा बुढाकी सहोदर दिदी हुनुहुन्छ । जनभावनालाई समेट्न र पार्टी भित्र थप छलफल गर्दा उम्मेदवार फेरिएको नेकपा माओवादी केन्द्र रुकुम पूर्वका जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभयो । `यसअघि पालिकाले ज्ञानदेवी पुनको नाम सिफारिस गरेको थियो, पछि पार्टी भित्र थप छलफल गर्दा जनभावनालाई समेट्ने गरी उम्मेदवार परिवर्तन गरिएको हाे´ उहाँले भन्नुभयो ।

पार्टी एक ढिक्का भएर चुनावमा होमिएको उहाँले बताउनुभयो । काँग्रेस-एमालेले गठबन्धन गरेका कारण पार्टी थप सशक्त भएर चुनावमा होमिएको उहाँको भनाई छ । पुथाउत्तरगंगाकाे उपाध्यक्ष र वडाध्यक्षको चुनावका लागि काँग्रेस र एमालेले गठबन्धन गरेका छन् । उपाध्यक्षमा काँग्रेसको चुनाव चिन्ह रूखबाट एमालेकी उम्मेदवार केशकुमारी तुलाचन चुनाव लड्दै हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीले एकल उम्मेदवारी दिएको छ । नेकपा एसबाट सुनिता बुढाको उम्मेदवारी परेको छ ।

यो बाहेक उपाध्यक्षमा स्वतन्त्र रूपमा कोपिला पुन बुढा, मोहनभक्त बुढा, भिमकुमारी पुन र सूर्यदेवी सुनारले उम्मेदवारी दिनुभएको छ ।

वडा नम्बर २ मा पनि काँग्रेस एमालेकाे गठबन्धन छ । यस वडामा गठबन्धनका तर्फबाट जीवन रोका र नेकपा माओवादी केन्द्रका तर्फबाट जन घर्ती र स्वतन्त्र उम्मेदवारको रूपमा शुक्रराज विकको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update