यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा वडा अध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता गरिएको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा दुई जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । काँग्रेस उम्मेदवार मोतीराम खत्री र माओवादी उम्मेदवार जसिराम बस्नेतका विरुद्धमा उजुरी परेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेसका तर्फबाट उम्मेदवार बनेका खत्री शिक्षक भएको र माओवादीका तर्फबाट उम्मेदवार बनेका बस्नेतको नाममा रहेको व्यवसायिक फर्मको कर चुक्ता नगरेको भनेर उजुरी परेको छ ।
यहाँ काँग्रेसबाट खत्री, माओवादीबाट बस्नेत, नेकपा एकीकृत समाजवादीबाट हशंराज पुरी र स्वतन्त्र रुपमा वीरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधवार उजुरी उपर जाँचबुझ गरी निर्णय लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत बस्यालले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसबाट निर्वाचिन वडा अध्यक्ष अलबहादुर खत्रीको गत वर्ष जन्डिसका कारण मृत्यु भएपछि वडा अध्यक्ष पदका लागि मङ्सिर १६ गते उप निर्वाचन हुँदै छ ।