मङ्सिर १६ गते हुने उप–निर्वाचनका लागि दलहरू जोडतोडका साथ लागेका छन् । आफ्नो साख जोगाउन तथा फेरिएको अवस्थामा दलको वास्तविक शक्ति पहिचान गर्न दलहरू उप–निर्वाचनको तयारीमा होमिएका हुन् । देशभरका ३१ जिल्लामा ४४ रिक्त पदका लागि उप–निर्वाचन हुँदै छ । जनप्रतिनिधि रिक्त भएर मङ्सिर १६ गते उप–निर्वाचन हुन लागेको एक स्थानीय तह हो रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका । जिल्लाको विकट स्थानीय तहको रूपमा हेरिने पुथाउत्तरगंगामा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को वडाध्यक्षका लागि उप–निर्वाचन हुँदै छ ।
उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा नम्बर २ का वडाध्यक्ष जसबहादुर श्रीपालीको गत भदौ २८ गते बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको गाउँपालिकाको गाडी दुर्घटनामा ज्यान गएको थियो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिको निधनले पुथाउत्तरगंगा गाउँपालिकामा दुई पदका लागि उप–निर्वाचन निम्त्याएको हो । गत निर्वाचनमा यस पालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मुख्य दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक्ला एक्लै चुनाव लडेका थिए ।
वडाध्यक्षका लागि भने अधिकांश वडामा काँग्रेस र एमालेले अघोषित गठबन्धन गरेका थिए । केही वडामा भने छुट्टा छुट्टै लडेका थिए । उप–निर्वाचनका लागि भने केन्द्रीय तथा प्रदेश सत्ता घटक नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिएका छन् । दुवै दलले माओवादी केन्द्र विरुद्ध तालमेलको औपचारिक निर्णय नै गरेका छन् । माओवादीको ‘गढ’ भत्काउन गठबन्धन आवश्यक ठानेको काँग्रेस–एमालेको भनाई छ । काँग्रेस–एमालेले जसरी भए पनि माओवादीलाई हराउने रणनीति लिएका छन् । जसका लागि उनीहरूको गठबन्धन रोचक देखिएको छ ।
उप–निर्वाचनमा व्यवहारिक रूपमा काँग्रेस उम्मेदवार विहीन छ । तर निर्वाचन आयोगको रेकर्डमा भने काँग्रेसका उम्मेदवार देखिन्छन् । यसको मतलब एमालेका उम्मेदवारले काँग्रेसको चुनाव चिन्हबाट चुनाव लड्दै छन् । एमालेकी उम्मेदवार काँग्रेस–एमालेको गठबन्धनका तर्फबाट नेपाली काँग्रेसको रुख चुनाव चिन्ह लिएर चुनाव लड्दै हुनुहुन्छ । अब एमालेले आफ्ना उम्मेदवारलाई काँग्रेसको चुनाव चिन्हमा मत माग्नुपर्ने भएको छ भने काँग्रेसलाई आफ्नो चुनाव चिन्हमा एमालेका उम्मेदवारलाई भोट माग्नुपर्ने अवस्था आएको छ । यसले मतदातालाई समेत अन्योलमा पार्ने देखिन्छ ।
दुवै दलको साझा अपनत्वका लाग यसो गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतमले जानकारी दिनुभयो । 'पालिका उपाध्यक्ष र वडाध्यक्ष दुवैमा एमालेकै उम्मेदवार हुनुहुन्छ, काँग्रेस र एमालेले गठबन्धन गरेका कारण दुवै दलको अपनत्वत्वका लागि पालिका उपाध्यक्षमा रूख चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय भएको हो' उहाँले भन्नुभयो । वडा नम्बर २ को अध्यक्षमा भने गठबन्धनबाट एमालेका उम्मेदवार एमालेकै चुनाव चिन्ह सूर्यबाटै चुनाव लड्दै छन् । वडामा एमालेले जीवन रोका मगरलाई उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा उपाध्यक्ष र २ नम्बर वडामा जित हासिल गरेको नेकपा माओवादी केन्द्र उपनिर्वाचनमा दबाबमा देखिन्छ । काँग्रेस र एमाले मिल्ने भएपछि माओवादीलाई अप्ठेरो परेको हो । यो दबाब उम्मेदवार छनोटमै देखिएको छ । सुरुमा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिकाले वडा नम्बर १२ की ज्ञानदेवी पुनलाई उम्मेदवारमा सिफारिस गर्यो । तर मनोनयन गर्दा भने माओवादीले उम्मेदवार फेर्यो । अन्तिममा आएर माओवादीले स्वर्गीय उपाध्यक्ष भूपेन्द्रा बुढाकी सहोदर दिदी नरपूरा बुढालाई उम्मेदवार बनाउने निर्णय गर्दै आफ्नै निर्णयबाट माओवादी पछि हट्न बाध्य भयो ।
यसलाई हेर्दा माओवादी काँग्रेस एमाले विरुद्ध दबाब देखिएको र सहानुभूतिको भोट तान्न अन्तिममा उम्मेदवार परिवर्तन गर्ने निर्णयमा पुगेको देखिन्छ । माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बरालले उप–निर्वाचनमा जीत हासिल गर्ने गरी लागेको बताउनुभयो । उम्मेदवार परिवर्तनका बारेमा उहाँले पार्टी भित्रको व्यापक छलफल र जीत सुनिश्चित गर्न यसो गरिएको बताउनुभयो । आज हामीले स्थानीय तह निर्वाचन २०७९ मा दलले पाएको मतका आधारमा कसको पल्ला भारी छ भनेर केलाउने प्रयास गरेका छौँ ।
२०७९ को मत परिणाम कस्तो छ
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्ष सहित १४ मध्य ११ वडामा माओवादी केन्द्रले जित्दा २ वडा एमाले र एउटा वडा नेपाली काँग्रेसले जितेको थियो । पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी भूपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेकी धर्मघर्ती बुढाले १ हजार ८ सय १२ मत पाउनुभएको थियो ।
उपाध्यक्षको मत हेर्दा एकल निर्वाचन भएमा माओवादी सहज अवस्था देखिन्छ तर एमाले-काँग्रेसकाे गठबन्धनले माओवादीलाई अप्ठ्यारो पर्ने देखिन्छ । उपाध्यक्षमा काँग्रेस र एमालेले पाएको मत जोड्दा ३ हजार ८ सय २२ हुन्छ । यसलाई हेर्दा माओवादीको मत २ सय ३७ बढी देखिन्छ । तर अध्यक्षमा पाएको मत भने काँग्रेस र एमालेको मत भन्दा कम छ । अध्यक्षमा माओवादीका पुणिराज घर्तीले ३ हजार ९ सय ९३ मत ल्याएर जित हासिल गर्नुभएको थियो ।
अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तेजेन्द्र खाम मगरले २ हजार १ सय १३, एमालेका उम्मेदवार वागलाल बुढाले १ हजार ८ सय ५२ मत पाउनुभएको थियो । काँग्रेस र एमालेको मत जोड्दा ३ हजार ९ सय ६५ हुन्छ । यो माओवादीले अध्यक्षमा पाएको भन्दा ५२ मत बढी हो ।
वडा नम्बर २ को मत विवरण यस्तो छ
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २ सय ३४ मत ल्याएर निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसका कर्णबहादुर बुढाले १ सय ७९ मत ल्याउनुभएको थियो । यस वडामा माओवादी र काँग्रेसका मात्र उम्मेदवार थिए । २०७९ को निर्वाचनमा पालिकामा छुट्टा छुट्टै चुनाव लडे पनि अधिकांश वडामा नेपाली काँग्रेस र नेकपा एमालेले एक अर्कालाई सघाएका थिए ।