Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना रोकथाम र उपचारका लागि रुकुम पश्चिमका ६ दलको संयुक्त आग्रह 
६ दलको तर्फबाट प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापन पत्र बुझाउदै नेकपाका जिल्ला कार्यालय सदस्य नरेन्द्र विक ।

रुकुम पश्चिममा रहेका ६ राजनितिक दलहरुले जिल्ला प्रशासन कार्यालयमा १६ वुदे ज्ञापन पत्र बुझाएका छन् । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष पहल गर्न आग्रह गर्दै आज प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई १६ वुदे ज्ञापनपत्र बझाईएको हो । ज्ञापन पत्रमा कोरोना संक्रमितको उपचार देखि कोरोना संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने सम्मको आग्रह गरिएको छ । जिल्लाको अवस्था भयावह भइसकेको र भरपर्दो उपचार नपाउँदा संक्रमितहरुको ज्यान जाने क्रम बढ्दै गएपछि जिल्लास्थित राजनितिक दलहरुले एक भएर प्रशासनलाई ज्ञापन पत्र बुझाएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्र र नेकपा एमाले खनाल–नेपाल समुह बाहेकका अन्य ६ वटा दलले सर्वदलिय बैठक बसालि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार र सहज जिवन निर्वाहको निम्ति पहल गर्ने र संयुक्त रुपमा खटिने निर्णय गर्दै प्रशासनलाई ज्ञापन पत्र बुझाएको उहाँले बताउनुभयो । ज्ञापन पत्र मार्फत दलहरुले जिल्ला अस्पतालमा एक वर्ष अघि नै जडान गरिएको भेन्टिलेटर संचालन गर्न, अक्सिजन आपुर्तिलाई सहज र नियमित बनाई नागरिकको जीवन रक्षा गर्न, अस्पतालमा तत्काल अक्सिजन प्लान्ट सुचारु गर्न र यसको संचालनका लागि विशेष टोलीको व्यवस्था गर्न आग्रह गरेका छन् । 

सबै पालिकामा निःशुल्क कोरोना परीक्षण तथा उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन, जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पताललाई सेवा सुविधा सहितको कोरोना विशेष अस्पतालका रुपमा संचालन गर्न, नीजि, सामुदायिक अस्पताल र क्लिनिकहरुमा कोरोना बाहेकका विरामिको उपचार व्यवस्था मिलाउन, सवै पालिकामा अक्सिजन र दक्ष जनशक्ति सहितको एम्बुलेन्स संचालन गर्न तथा एम्बुलेन्सको अभाव हुन नदिन जनप्रतिनिधि र सरकारी कार्यालयका गाडि प्रयोग गर्न पनि आग्रह गरिएको छ । 

त्यस्तै जनप्रतिनिधिलाई एकीकृत रुपमा परिचालन गर्न, सरकारी कर्मचारीलाई स्वयसेवि रुपमा परिचालन गर्न, विगतमा बनाईएका आईसोलेसन वार्ड प्रयोग गर्न, एक वडामा कम्तिमा एउटा क्वारेन्टाईन र एउटा आईसोलेसन वार्ड संचालन गर्न, जिवनयापन गर्न समस्या भएकालाई राहतको व्यवस्था गर्न तथा कालोबजारी र कृतिम अभावलाई रोक्नुपर्ने लगायतका विषयमा ६ दलले ज्ञापन पत्र मार्फत प्रशासनको ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले ओली समुह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रय प्रजातन्त्र पार्टीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update