रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्षका लागि चारै जनाको उम्मेदवारी कायम भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारकाे नामावली सार्वजनिक गरेसँगै उम्मेदवारी दर्ता गराएका चारै जना उम्मेदवारको उम्मेदवारी कायम भएको हो । दुई जना उम्मेदवारको विरोधमा उजुरी परेको थियो । नेपाली काँग्रेसका उम्मेदवार मोतीराम खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेत विरुद्ध उजुरी परेको थियो । खत्री शिक्षक भएको र माओवादीका तर्फबाट उम्मेदवार बनेका बस्नेतको नाममा रहेको व्यावसायिक फर्मको कर चुक्ता नगरेको भनेर उजुरी परेको थियो ।
तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीमा दाबी नपुग्ने देखेपछि दुवै उम्मेदवारलाई योग्य देखेको हो । सानीभेरी ५ को अध्यक्षका लागि नेपाली कांग्रेसबाट मोतीराम खत्री, नेकपा एकीकृत समाजवादीका तर्फबाट हंसराज पुरी र स्वतन्त्र रूपमा वीरबहादुर बस्नेतले उम्मेदवारी दिनुभएको छ । यो वडामा नेपाली काँग्रेस, एमाले र नेपाल समाजवादी पार्टी नेसपाले माओवादी विरुद्ध गठबन्धन गरेका छन् । निर्वाचन कार्यपालिका अनुसार मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता भएकामा २ गते नै मनोनयन पत्र दर्ताको सूचि प्रकाशन गरिएको थियो ।
३ गते उम्मेदवारको विरोधमा दाबी विरोधको समय दिइएकोमा मङ्गलवार आज मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्नुका साथै उम्मेदवारको नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन तालिका अनुसार बुधवार उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो । मतदानको ४८ घण्टा अघि अर्थात् मङ्सिर १३ गते राति १२ बजे देखि मौन अवधि सुरु हुने छ भने मङ्सिर १६ गते मतदान हुने छ ।
२०७९ वैशाखमा भएको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष अलबहादुर कुसारीको गत वर्ष निधन भएपछि सानीभेरी ५ मा उप निर्वाचन हुन लागेको हो ।