रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले विश्व चर्पी दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाएको छ । यस पटकको विश्व चर्पी दिवसको मूल नारा Toilet: A place for peace भन्ने रहेको थियो ।
आठविसकोट नगरपालिका, खानेपानी, सरसफाइ तथा स्वच्छता वास इकाईको आयोजनामा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना सघन रूपमा सञ्चालन भइरहेका ७, ११, १३, र १४ नम्बर वडाहरूमा कार्यक्रम भएको हो ।
सम्बन्धित वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरूको अगुवाइमा वडा स्तरका विभिन्न सरोकारवाला समिति र व्यक्तिहरूको उपस्थितिमा विभिन्न निर्णय गर्दै विश्व चर्पी दिवस मनाइएको छ ।
कार्यक्रमको सहजीकरण सुस्वा आयोजनाका सामाजिक परिचालकहरू वसन्त चन्द, नवीन चनेल, कर्णबहादुर के.सी. र दीपक के.सी.ले गर्नु भएको थियो ।
यसै गरी आठविसकोट नगरपालिकाको केन्द्र रहेको राडी बजारमा रहेका दुई वटा माध्यमिक विद्यालयहरू सहिद स्मृति दिपज्योति नमुना माध्यमिक विद्यालय र बाल कल्याण माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकहरू कर्मचारीहरू, विद्यार्थीहरूको उपस्थितिमा सचेतनामूलक कार्यक्रम भएकाे थियो ।
कार्यक्रममा आठबिसकाेटका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमको प्रमुख आतिथ्यता र सुस्वा आयोजनाका वास सल्लाहकार प्रमोदलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
विश्व चर्पी दिवसको सन्दर्भमा पूर्ण सरसफाइका सूचकहरू र चर्पीको निर्माण, स्तरोन्नति, समुचित प्रयोग लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा आठविसकोट नगरपालिका वास युनिटको तर्फबाट यी दुवै विद्यालयहरूलाई सरसफाइ सम्बन्धी विभिन्न सामग्रीहरू हस्तान्तरण समेत गरिएको थियो ।
दिवस विशेष कार्यक्रमको समग्र सहजीकरण तथा समन्वय आठविसकोट नगरपालिकाका दिगो सरसफाइ तथा स्वच्छता सुस्वा आयोजनाका वास संयोजक नरेन्द्र के.सी.ले गर्नुभएको थियो । करिब ११ सय जनाकाे विचमा कार्यक्रम गरिएको बताइएको छ ।