रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिने भएको छ । पार्टीका तर्फबाट हंशराज पुरीले रिक्त रहेको वडाध्यक्षका लागि उम्मेदवारी दिनुभएको थियो । निर्वाचन तालिका अनुसार बुधवार आज उम्मेदवारी फिर्ता लिने समय दिइएको छ ।
बुधवार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह समेत प्रदान गरिने छ । नेकपा एसले उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतलाई सघाउने जनाएको छ । जिल्ला पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी गराएको हो ।
जिल्ला अध्यक्ष माधवप्रसाद गौतमले विज्ञप्ति जारी गर्दै गत कार्तिक २५ गतेको समाजवादी मोर्चा जिल्ला संयोजन समितिको निर्णय अनुसार मोर्चा घटक माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने जानकारी गराउनुभयो ।
मोर्चा घटक दलहरूको बिचमा छलफल भए अनुसार नेपाली विशेषताको समाजवाद निर्माण गर्ने महान् कार्यभारलाई आत्मसाथ गर्दै मोर्चा घटक पार्टीहरूका बिचमा आपसी सहयोग, सहकार्य, समन्वय र मोर्चा वन्दीलाई कसिलो बनाउन सचेतनापूर्ण पहल कदमी लिने विषयमा गम्भीर बन्दै पार्टीका तर्फबाट वडा अध्यक्षको पदमा दर्ता गराइएको उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको जानकारी गराउँदछौँ, विज्ञप्तिमा भनिएको छ ।
यसै अनुसार आज पार्टीका तर्फबाट उम्मेदवारी दिएका पुरीले उम्मेदवारी फिर्ता लिने नेकपा एसका जिल्ला सचिव सुरजकुमार परियारले जानकारी दिनुभयो ।