Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एसकी सुनिता बुढाद्वारा पुथाउत्तरगंगाको उपाध्यक्षको उम्मेदवारी फिर्ता, माओवादीलाई समर्थन

नेकपा एकीकृत समाजवादीले मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । पार्टीका तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिनुभएकी सुनिता बुढाले उम्मेदवारी फिर्ता लिनुभएको हो । दुई पार्टीका बिचमा भएको सहमति अनुसार उम्मेदवारी फिर्ताका लागि दिइएको समयमा नेकपा एसकी उम्मेदवार बुढाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल र नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज भीउमान घर्ती बिच मङ्गलवार उपनिर्वाचनमा सहकार्य गर्ने र नेकपा एसले उम्मेदवार फिर्ता गर्ने सहितका ५ बुँदे सहमति भएको थियो ।

त्यस्तै दुई पार्टी बिच उप–निर्वाचन प्रचारप्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने, जिल्लामा जिल्ला स्तरीय र ३ वटै स्थानीय तहमा पालिका स्तरीय राजनीतिक संयन्त्र गठन गरी विकास निर्माण लगायत अन्य काम सहमतिद्वारा गर्ने, राजनीतिक सहकार्यलाई दीर्घकालीनसम्म टिकाइराख्न वातावरण सिर्जना गर्ने र सहमतिको संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने सहमति भएको थियो । सहमति अनुसार दुई दलले संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।

प्रेस विज्ञप्ति मार्फत बुधवार दुई दलका बिचमा भएको सहमतिबारे जानकारी गराइएको छ । दुई दलले जनयुद्ध, संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै विकास, समृद्धि र सामाजिक रूपान्तरणसहित समाजवादको बाटोमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

साथै वर्तमान सरकार प्राप्त उपलब्धिहरूको विरुद्धमा लागिरहेकोले सरकारको यस कदमको प्रतिवाद र भण्डाफोर गरी स्थानीय स्तरमा समेत जनपक्षीय काम, विकास निर्माण, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने अवधारणाका साथ अघि बढ्ने पनि दुई दलले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । दुवै दलले पालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट उठेका उम्मेदवारलाई विजयी गराउन समेत संयुक्त अपिल गरेका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल र नेकपा एसका जिल्ला इन्चार्ज भीउमान घर्तीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्नुभएको छ ।

Scan+20+Nov+2024+10_06_page-0001-1732089337.jpg
माओवादी र नेकपा एसका विचमा भएकाे सहमति ।
Scan+20+Nov+2024+11_43_page-0001-(1)-1732089407.jpg
माओवादी केन्द्र र नेकपा एसले जारी गरेकाे संयुक्त विज्ञप्ती ।


 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update