मङ्सिर १६ गते हुने स्थानीय तह उप–निर्वाचन अन्तर्गत रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका हंशराज पुरी र स्वतन्त्र उम्मेदवार वीरबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिनुभएको हो । निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ताका लागि समय दिइएको थियो ।
नेकपा एसका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतलाई सघाउने नेकपा एस जिल्लाको निर्णय अनुसार उम्मेदवारी फिर्ता लिएको हो । स्वतन्त्र उम्मेदवार वीरबहादुर माओवादी समर्थित हुनुहुन्छ । अब सानीभेरी ५ मा नेपाली काँग्रेसका तर्फबाट मोतीराम खत्री र नेकपा माओवादी केन्द्रका तर्फबाट जसीराम बस्नेतका बिचमा मात्र प्रतिस्पर्धा हुने भएको छ ।
काँग्रेसलाई नेकपा एमाले र नेपाल समाजवादी पार्टीले सघाउने भएका छन् भने नेकपा माओवादी केन्द्रलाई नेकपा एसले सघाउने भएको छ । निर्वाचन तालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान हुने छ । नेपाली काँग्रेसबाट निर्वाचित अलबहादुर खत्रीको गत वर्ष निधन भएपछि उक्त वडामा उप–निर्वाचन हुन लागेको हो ।