Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तह उपनिर्वाचन : सानीभेरी ५ मा कांग्रेस र माओवादी आमनेसामने 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा दुई उम्मेदवारले उम्मेदवारी  फिर्ता लिएसँगै माओवादी केन्द्र र काँग्रेस बिच प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारी फिर्ताको समयमा नेकपा एकीकृत समाजवादीका हशंराज पुरी र स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका वीरबहादुर बस्तेतले उम्मेदवारी फिर्ता लिनुभएको हो । बुधवार नेकपा एसका उम्मेदवार पुरी र स्वतन्त्र उम्मेदवार बस्नेतले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अव उप–निर्वाचनमा नेपाली काँग्रेसबाट मोतीराम खत्री र नेकपा माओवादी केन्द्रका जसीराम बस्नेत बिच प्रतिस्पर्धा हुने छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले तथा नेपाल समाजवादी पार्टी नेसपाले सानीभेरी ५ मा गठबन्धन गरेका छन् । उम्मेदवारी फिर्ता लिएको नेकपा एसले भने माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ । नेकपा एसले उम्मेदवारी फिर्ता लिने र समाजवादी मोर्चा घटक दल नेकपा माओवादी केन्द्रलाई सघाउने निर्णय बारे आज एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको थियो । 

पार्टीका जिल्ला अध्यक्ष माधवप्रसाद गौतमले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएर माओवादीलाई सघाउने निर्णय बारे जानकारी गराउनुभएको थियो । मोर्चा घटक दलहरूको बिचमा छलफल भए अनुसार नेपाली विशेषताको समाजवाद निर्माण गर्ने महान् कार्यभारलाई आत्मसाथ गर्दै मोर्चा घटक पार्टीहरूका बिचमा आपसी सहयोग, सहकार्य, समन्वय र मोर्चा वन्दीलाई कसिलो बनाउन सचेतनापूर्ण पहल कदमी लिने विषयमा गम्भीर बन्दै पार्टीका तर्फबाट वडा अध्यक्षको पदमा दर्ता गराइएको उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको जानकारी गराउँदछौँ, विज्ञप्तिमा भनिएको छ ।

अब सानीभेरी ५ मा दुई गठबन्धन बिचमा रोचक भिडन्त हुने देखिएको छ । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको गत वर्ष मृत्यु भएपछि यो वडामा उप–निर्वाचन हुन लागेको हो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update