रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ९ ले वडावासीलाई सावुन, मास्क र सेनिटाईजर वितरण सुरु गरेको छ । कोरोना भाईरस (कोभिड–१९) बाट वडावासीलाई बचाउनका लागि १ हजार ७ सय २८ पिस साबुन र ३ हजार ४ सय मास्क प्रत्यक घरमा पुगेर वितरण गर्न लागिएको वडाध्यक्ष नविन ओलीले जानकारी दिनुभयो । विभिन्न व्यक्ति, संस्था र समुहबाट संकलन भएको ८५ हजार रकमबाट खरिद गरी घर घरमा पुगेर प्रतिव्यक्ति २÷२ वटा मास्क, एउटा हात धुने साबुन बाँड्न लागिएको उहाँले बताउनुभयो । त्यस्तै वडावासीलाई कोरोना महामारीबाट बच्ने उपायका बारेमा सचेतिकरण समेत गरिरहेको उहाँको भनाई छ ।
सेनिटाईजर भने कोरोना रोकथाम, नियन्त्रणमा वडा भर खटिएका युवाहरुलाई बाँडिने वडाध्यक्ष ओलीले बताउनुभयो । १ सय ४० वटा सेनिटाईजर खरिद गरिएको छ । उहाँका अनुसार आज होल्तारा–अदुवारी टोलबाट सुरु भएको मास्क र साबुन वितरण कार्य भोली वडाका सबै टोलमा पुग्ने छ । विश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न ‘आफ्नो गाउँ आफै बचाउ’ अभियान मार्फत विभिन्न सचेतना मुलक कार्यहरु गर्दै आएको छ ।
पहिलो चरणमा वडाले टोल टोलमा पुगेर टोल स्तरीय कोभिड–१९ व्यवस्थापन समिति गठन गरि सोही समिति मार्फत वडाका ४ सय १३ घरधुरीमा पुगि प्रत्यक घर घरमा कोभिडबाट बच्ने उपायहरु लेखिएको पत्र पुर्याएर सचेत रहन र सतर्कता अपनाउन आग्रह गरिएको थियो । सोहि अभियानको दोस्रो चरणमा विभिन्न संघ संस्था समूह वा ब्यक्तिहरुलाई आर्थिक सहयोगको लागि वडाले अनुरोध गरेको थियो । संकलित सहयोगबाट विभिन्न स्वास्थ्य तथा सुरक्षा सामग्रिहरु वडावासीलाई वितरण गर्ने र थप सचेतना फैलाउने उदेश्यले वडाले सहयोगका लागि सार्वजनिक अपिल गर्ने निर्णय गरेको थियो ।
वडाको अपिल अनुसार विभिन्न व्यक्ति, संस्था तथा समुहहरुले सहयोग गरेका छन् । सहयोग मार्फत संकलन भएको ८५ हजार रुपैंयाबाट वडाले विभिन्न सामग्रिहरु खरिद गरी वडावासीलाई वितरण गर्न सुरु गरिएको हो ।