रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएपछि अब उपाध्यक्षका लागि मात्र निर्वाचन हुने भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन तालिका अनुसार बुधवार उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय दिइएको थियो ।
सोही समयभित्र नेपाली काँग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका घर्तीलाई वडा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
अव पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदको लागि मात्र उपनिर्वाचन हुने छ । पुथाउत्तरगंगामा उपाध्यक्ष पदका लागि नेपाली कांग्रेस र एमाले तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन चुनावी मैदानमा छन् । नेपाली काँग्रेस-नेकपा एमाले गठबन्धनबाट केशकुमारी तुलाचन र नेकपा माओवादी केन्द्र-नेकपा एस गठबन्धनबाट नरपुरा बुढाको उम्मेदवारी छ । उपाध्यक्षका लागि अब तुलाचन र बुढाकाे मात्र उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत हमालले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षका अन्य उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेकपा एसबाट उम्मेदवारी दिनुभएकी सुनिता बुढा, स्वतन्त्रबाट उम्मेदवारी दिएका मोहनभक्त बुढा, श्रीदेवी सुनार, भिमकुमारी पुन र कोपिला पुन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एसले माओवादीलाई सघाउने निर्णय भइसकेको छ । दुई दलले संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा एसले उम्मेदवारी फिर्ता लिने र माओवादीलाई सघाउने निर्णय भएको जानकारी गराइसकेका छन् । माओवादी र समाजवादीका बिचमा ५ बुँदे सहमति भएको छ । नेकपा एसले उम्मेदवारी फिर्ता लिने, उप–निर्वाचन प्रचारप्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने, जिल्लामा जिल्ला स्तरीय र ३ वटै स्थानीय तहमा पालिका स्तरीय राजनीतिक संयन्त्र गठन गरी विकास निर्माण लगायत अन्य काम सहमतिद्वारा गर्ने, राजनीतिक सहकार्यलाई दीर्घकालीनसम्म टिकाइराख्न वातावरण सिर्जना गर्ने र सहमतिको संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने मङ्गलवार नै सहमति भएको थियो । उक्त सहमति बारे बुधवार आज जानकारी गराइएको हो ।
यसैबिच पुथाउत्तरगंगामा व्यवहारिक रूपमा एमालेकी उम्मेदवार रहे पनि कानुनी रूपमा भने काँग्रेसका उम्मेदवार छन् । काँग्रेस-एमाले गठबन्धनबाट उम्मेदवार बनेकी तुलाचन नेकपा एमालेकी जिल्ला कमिटी उप सचिव हुनुहुन्छ । उहाँ काँग्रेसको रुख चिन्ह लिएर चुनाव लड्दै हुनहुन्छ ।
गत भदौ २८ गते काठमाडौँबाट रुकुम पूर्व आउँदै गर्दा बागलुङमा पुथाउत्तरगगा गाउँपालिकाको गाडी दुर्घटनामा परी उपाध्यक्ष भुपेन्द्रा बुढा र २ नम्बर वडा अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो ।