Kakhara सबैको खबर सम्पूर्ण खबर
उम्मेदवारी फिर्ता लिने रोकालाई एमालेले गर्‍यो पार्टी सदस्य समेत नरहने गरी कारबाहीको सिफारिस 
एमाले र काँग्रेसले उठाएका साझा उम्मेदवार जीवन राेका र एमाले जिल्ला अध्यक्ष लीलामणी गाैतमले लेखेकाे फेसबुक स्टाटस ।

नेकपा एमाले रुकुम पूर्वले पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षको उम्मेदवारी फिर्ता लिने जीवन रोकालाई पार्टी सदस्य समेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ । रोकालाई नेपाली काँग्रेस र नेकपा एमालेले वडा नम्बर २ को अध्यक्षको साझा उम्मेदवार बनाएका थिए । तर रोकाले आज उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती वडाध्यक्षमा निर्विरोध हुनुभएको छ ।

पार्टीको निर्देशन विपरित उम्मेदवारी फिर्ता लिएको भन्दै नेकपा एमाले रुकुम पूर्वले पार्टी जिल्ला सदस्य समेत रहनुभएका रोकालाई पार्टीका सबै जिम्मेवारी र पार्टीको सङ्गठित सदस्य समेत नरने गरी कारबाहीको सिफारिस गरेको नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लीलामणि गौतमले जानकारी दिनुभयो । पार्टी निर्देशन विपरीत उम्मेदवारी फिर्ता लिने जीवन रोकालाई हाल पार्टी कमिटीका सबै जिम्मेवारी र सङ्गठित सदस्यता समेत नरहने गरी निलम्बनको लागी आजै माथिल्लो कमिटीमा सिफारिस गरी सकिएको छ, अध्यक्ष गौतमले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

साथै उहाँले यस घटनामा संलग्ने अन्य व्यक्तिको समेत पहिचान भइसकेकोले हिसाब किताब हुने चेतावनी दिनुभएको छ । उहाँले लेख्नुभएको छ–यस घटनामा पार्टीका अन्य कुनै व्यक्तिको संलग्नता रहेको देखिन आएमा थप कारबाहीको दायरामा ल्याइने छ भने उम्मेदवारी फिर्ता लिन दवाव दिने पक्ष तथा व्यक्तिहरूको समेत पहिचान भैसकेको कारण यसको पनि लेखाजोखा सहित हिसाब त पक्कै पनि हुने छ । रोकाले उम्मेदवारी फिर्ता लिनुको कारण समेत खोजी गरिने उहाँले बताउनुभयो ।

Lilamani-Gautam-1732101489.jpg
एमाले जिल्ला अध्यक्ष लीलामणि गाैतमले फेसबुकमा लेखेकाे स्टाटस ।

त्यस्तै टिकट दिँदा पार्टीको अनिवार्य सिफारिस चाहिने तर फिर्ता लिन पार्टीको अनुमति नचाहिने निर्वाचन आयोगको व्यवस्थाका कारण यो अप्रिय घटना हुन पुगेको पनि उहाँले उल्लेख गर्नुभएको छ । मङ्सिर १६ गते हुने उप–निर्वाचनका लागि उम्मेदवारी दिएका नेकपा एमालेका जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी दिएपछि नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको हो ।

अब मङ्सिर १६ गते पालिका उपाध्यक्षका लागि मात्र निर्वाचन हुने छ । गत भदौमा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नम्बर वडाध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा भएको पालिकाको गाडी दुर्घटनामा मृत्यु भएपछि पुथाउत्तरगंगामा उप–निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update