रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षका उम्मेदवार जीवन रोकाले कसैको दबाबमा उम्मेदवारी फिर्ता नलिएको बताउनुभएको छ । नेपाली काँग्रेस र नेकपा एमालेका साझा उम्मेदवार रोकाले बुधवार उम्मेदवारी फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती वडाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
रोकाले नेकपा माओवादी केन्द्र वा अरु कसैको दबाबमा उम्मेदवारी फिर्ता नलिएको बताउनुभएको छ । ‘मलाई माओवादी पार्टीले दबाब दिएको पनि होइन, मेरै घरकै काका र एउटै गाउँले, भेगिए हिसाबमा पनि एउटै क्षेत्रमा भएको कारणले मैले उहाँलाई समर्थन गरेको हो, पहिला उहाँलाई अगाडी बढाउने नै भएको कारणले पनि उहाँलाई धोका दिनु त भएन भन्ने हिसाबले मैले उम्मेदवारी फिर्ता लिएको हो,’ उहाँले भन्नुभयो ।
पार्टीको निर्देशन विपरीत उम्मेदवारी फिर्ता लिएको भन्दै नेकपा एमाले रुकुम पूर्वले रोकालाई सङ्गठित सदस्य समेत नरहने गरी माथिल्लो निकायमा कारबाहीको सिफारिस गरिसकेको छ ।