रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा परम्परागत बेलटापु मेलाको अवसरमा आयोजित पुरुष भलिबलको उपाधि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ ले जितेको छ । महिला तर्फको उपाधि भने शुक्लाफाँटा नगरपालिका ७ कञ्चनपुरले जितेको छ । मंगलवार भएको पुरुष तर्फको फाइनलमा सानीभेरी ४ को टिम खनालले वडा नम्बर ४ को टिम मनबहादुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा सुदूरपश्चिमको बझाङ जिल्लाको विकास स्मृति तेस्रो भएको छ । विजेताले नगद २ लाख, कप, मेडल र प्रमाण पत्र पाएको छ । उप विजेताले १ लाख ३० हजार नगद, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको खेल संयोजक भिमप्रकाश विकले जानकारी दिनुभयो । उहाँका अनुसार तेस्रो हुने टिमले नगद ७५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुष तर्फ ११ टिमले प्रतिस्पर्धा गरेका थिए ।
महिला तर्फको उपाधि बाँफिकोट ४ को टिम अजयलाई पराजित गर्दै शुक्लाफाँटा ७ कञ्चनपुरले जितेको हो । उसले फाइनल खेल ३–० को सोझो सेटमा जितेको खेल संयोजक विकले बताउनुभयो । प्रतियोगितामा सानीभेरी ५ तेस्रो भएको छ । उसले तेस्रो स्थानका लागि भएको प्रतियोगितामा सानीभेरी १ लाई ३–१ को सेटमा पराजित गरेको हो ।
यो पनि पढ्नुहोस
महिला तर्फको विजेताले १ लाख, उप विजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक विकको भनाई छ । महिला तर्फ ५ टिमले प्रतिस्पर्धा गरेका थिए । महिला पुरूष दुवै खेल वडास्तरीय हुन भने एउटा वटाले तीन जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउने सुविधा आयोजकले दिएको थियो ।
पुरुषमा पहल र महिलामा निरुता उत्कृष्ट
प्रतियोगिताको पुरुष तथा महिला दुवै तर्फ व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिएको छ । पुरुषमा सानीभेरी ३ का पहल गहतराज उत्कृष्ट खेलाडी घोषित भएका छन् । वेस्ट स्पाइकर सानीभेरी ४ का सुरेन्द्र केसी, वेस्ट सेटर सानीभेरी ३ का बलराम गुरुङ, वेस्ट व्लकर सानीभेरी ३ कै चिरन खड्का र वेस्ट लिबेरो मुकुन्द सिँह घोषित भएको आयोजकले जनाएको छ ।
त्यस्तै महिला तर्फ उत्कृष्ट खेलाडी शुक्लाफाँटाकी निरुता शाही बनेकी छन् । वेस्ट व्लकर सिनु ठगुन्ना र वेस्ट लिफ्टर पूर्णकला खत्री बनेको बताइएको छ । व्यक्तिगत इभेन्टमा पनि खेलाडीलाई नगद सहितको पुरस्कार प्रदान गरिएको आयोजक बेलटापु मेला व्यवस्थापन समितिले जनाएको छ । बेलटापु मेला मङ्सिर ३ गते सकिएकाे थियो भने मेलाको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरू भने मंगलवार सकिएका थिए ।