Kakhara सबैको खबर सम्पूर्ण खबर
मुकुन्दको एकल रचना वाचन 

राप्ती साहित्य परिषद् रुकुम पश्चिमको नियमित कार्यक्रम एकल रचना वाचनको ३१ औँ शृङ्खला सम्पन्न भएको छ । मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको वाचनालयमा कार्यक्रम भएको हो । साहित्यकार एवं समालोचक तथा मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसका पूर्व प्रमुख मुकुन्दप्रसाद शर्माले एकल रचना वाचन गर्नुभएको हो । उहाँले एक कथाको समालोचना, कथा, कविता, गीत, गजल र मुक्तक प्रस्तुत गर्नुभएको थियो । शर्माले करिब दुई दर्जन रचनाहरू वाचन गर्नुभएको थियो । उहाँले सामाजिक, राजनीतिक, विभिन्न विकृति विसङ्गति लगायतका विषयलाई उजागर गरिएका रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।

साहित्यकार शर्माले प्रस्तुत गरेका रचनाको समीक्षा तथा समालोचना साहित्यकार हरिप्रसाद खनालले गर्नुभएको थियो । राप्ती साहित्य परिषद्ले २०७१ साल माघ देखि एकल रचना वाचन कार्यक्रम सुरु गरेको हो । यो शृङ्खला ३ महिनामा एक पटक सञ्चालन हुने गरेको छ । जिल्लाका विभिन्न ठाउँमा शृङ्खला सञ्चालन भइसकेको छ भने थुप्रै पुराना तथा नयाँ सर्जकहरूले रचना वाचन गरिसकेका छन् । त्यस्तै परिषद्ले प्रत्येक महिनामा राप्ती साहित्य माला सञ्चालन गर्दै आएको छ । यी दुई शृङ्खला नयाँ तथा पुराना साहित्यिक स्रष्टाहरूको रचना प्रस्फुटन गर्ने माध्यम बनेका छन् ।

WhatsApp-Image-2024-11-21-at-4.16.38-PM-(1)-1732188231.jpeg
राप्ती साहित्य परिषद्का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको एकल रचना वाचनमा कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्मा, साहित्यकार एवं कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमका प्रमुख पूर्ण ओली, परिषद्का अध्यक्ष मनलाल ओली, पूर्व अध्यक्ष गिरीप्रसाद बुढा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन परिषद्का सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update