रुकुम पश्चिमका जम्मा संक्रमितमध्य हालसम्म १ सय १५ जना निको भएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा भएका जम्मा संक्रमितमध्य १ सय १५ जनाले कोरोना परास्त गरेका हुन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता जिल्लामा ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्थानीय तहको स्वास्थ्य शाखाबाट प्राप्त विवरण अनुसार सबभन्दा बढी चौरजहारी नगरपालिकामा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सानीभेरी गाउँपालिकाका ८५ जनामा संक्रमण पुष्टि हुँदा आठबीसकोट नगरपालिकाका ८१ जनालाई कोरोना लागेको छ । मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका ७९ ७९ जनामा कोरोना पुष्टि भएको छ ।
क्र.स. | स्थानीय तहकाे नाम | जम्मा संक्रमित | निकाे भएका |
१ | चाैरजहारी नगरपालिका | १४५ | ३७ |
२ | सानीभेरी गाउँपालिका | ८५ | ५ |
३ | आठबीसकाेट नगरपालिका | ८१ | २२ |
४ | मुसीकाेट नगरपालिका | ७९ | १७ |
५ | त्रिवेणि गाउँपालिका | ७९ | ३० |
६ | बाँफिकाेट गाउँपालिका | ८ | ४ |
सबभन्दा कम बाँफिकोट गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ परीक्षण पनि खासै गरिएको छैन । निको हुनेमा पनि सबभन्दा बढी चौजरहारी नगरपालिकाकै छन् । ३७ जना निको भएको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह संयोजक डण्डप्रसाद शर्माले जानकारी दिनुभयो । सानीभेरी गाउँपालिकाका ५ जना निको भएका छन् । मापदण्ड पूरा गर्नुपर्ने भएकाले यो संख्या कम देखिएको स्वास्थ्य संयोजक छविलाल केसीले बताउनुभयो ।
आठबीसकोट नगरपालिकाका २२ जनाले कोरोना जितेका छन् । त्रिवेणि गाउँपालिकाका ३० जना निको हुँदा मुसीकोट नगरपालिकाका १७ र बाँफिकोट गाउँपालिकाका ४ जना कोरोनामुक्त भएका छन् । सबै सथानीय तहको यो विवरण वैशाख महिनाको मात्रै हो । जम्मा संक्रमितमध्य केही जिल्ला अस्पताल, केही पालिका अस्पताल र अधिकांश होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।