Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगामा माओवादी केन्द्रको जनभेटघाट तीव्र

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जन भेटघाटलाई तीव्र बनाएको छ । मङ्सिर १६ गतेको उप-निर्वाचनलाई लक्षित गरेर बुधवार १२ नम्बर वडाको कोलमा जनतासँग भेटघाट गरेको माओवादीले आज बिहीबार ८ नम्बरका जनतासँग भेटघाट गरेको छ ।

भेटघाटका क्रममा पार्टीका तर्फबाट उपाध्यक्षका उम्मेदवार नरपुरा बुढालाई विजय आग्रह गर्नुका साथै स्थानीय स्तरमा भएका समस्या बुझ्ने, सुझाव लिने तथा पार्टीको आन्तरिक गतिविधिका साथै साङ्गठनिक र विकास निर्माणका विषयमा छलफल भएको पार्टीका वडा अध्यक्ष पूर्णा शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेकपा माओवादी केन्द्र ८ नम्बर वडा कमिटीको आयोजनामा वडाको खराङमा र गुँगमा भेटघाट गरिएको हो । भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा वाइसीयल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज शेर्पाली, लुम्बिनी प्रदेश सदस्य द्वय ओमकुमारी शाही र जीवन केसी तथा पार्टीका ८ नम्बर वडा इन्चार्ज महेन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो।

पुथाउत्तरगंगामा गाउँपालिका उपाध्यक्ष पदको लागि नेपाली काँग्रेस र नेकपा एमाले तथा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । यहाँ काँग्रेस, एमाले गठबन्धनबाट केशकुमारी तुलाचन र माओवादी, एकीकृत समाजवादीबाट नरपुरा बुढा उपाध्यक्ष पदको लागि चुनावी मैदानमा होमिनु भएको छ ।

यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्षका लागि दलहरू बिचमा प्रतिस्पर्धा हुँदै छ । यसका लागि राजनीतिक दलहरू प्रचारप्रसारमा जुटेका छन् । रिक्त रहेको २ नम्बर वडाध्यक्षमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update