Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथामा कमाण्ड विभाजन गरेर चुनावी प्रचारप्रसारमा  माओवादी केन्द्र 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा मङ्सिर १६ गते हुन् लागेको उप-निर्वाचनको लागि तीन कमान्ड विभाजन गरेर नेकपा माओवादी केन्द्रले प्रचारप्रसार गरिरहेको छ । गाउँपालिका उपाध्यक्षका उम्मेदवार नरपुरा बुढा पुनलाई विजय बनाउनको लागि माओवादी केन्द्रले कमान्ड विभाजन गरेर चुनावी प्रचारप्रसारमा सुरु गरेको हो । पार्टीले पालिकालाई तीन भागमा विभाजन गरेर प्रचारप्रसार गरिरहेको छ ।

भौगोलिक रूपमा विकट भएका कारण कमान्ड विभाजन गरेर चुनावी प्रचारप्रसार गरिरहेको पार्टीका जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभयो। उहाँका अनुसार १ नम्बर कमान्डमा केन्द्रीय सदस्य पूर्णबहादुर  घर्तीको नेतृत्वमा चुनावी प्रचारप्रसार भइरहेको छ  । भने २ नम्बर कमान्डमा पार्टीका स्थायी कमिटी सदस्य गणेशमान पुन तथा ३ नम्बर कमान्डमा स्थायी कमिटी सदस्य कमला  रोकाको नेतृत्वमा चुनावी कार्यक्रम सञ्चालन भइरहेको छ । 

वडा तोकेर विभाजन भएका कमान्ड मार्फत धमाधम चुनावी प्रचार भइरहेको संयोजक बरालले बताउनुभयो । १ नम्बर कमान्डमा पार्टीका केन्द्रीय सदस्य दलजित शेर्पाली, पार्टीका प्रदेश सचिवालय सदस्य होमप्रकाश श्रेष्ठ, प्रदेश कमिटी सचिवालय सदस्य जिताराम कामी, प्रदेश सदस्य सुरुल पुन, भीमकुमारी पुन, वासुदेव गौतम, ध्रुवविक्रम ओली लगायतको टोली खटिएको छ । भने यो कमान्डले गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६ र ९ मा चुनावी प्रचारप्रसार गरिरहेको छ ।

त्यस्तै  २ नम्बर कमान्डमा जिल्ला इन्चार्ज तेजबहादुर वली, प्रदेश कमिटी सचिवालय सदस्य पुनिराज घर्ती, जिल्ला संयोजक कुमारी बराल, प्रदेश सदस्य महेन्द्र बुढा, संगम रोका र मनकुमारी बिष्ट लगायतको टोली खटिएको छ । यो कमाण्डकाे भागमा वडा नम्बर १०, ११ र १३ परेका छन् । केन्द्रीय सदस्य तथा वाइसीयल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज शेर्पाली, वैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ र रामसुर बुढा, प्रदेश सचिवालय सदस्य कृष्ण रेग्मी, तिर्था पुन, प्रदेश सदस्य ओमकुमारी शाही मल्ल र जीवन केसी लगायत सम्मिलित कमान्ड नम्बर ३ ले वडा नम्बर ७, ८, १२ र १४ नम्बर वडामा प्रचार गरिरहेको छ । 

टोल भेला, मतदाता सँग छलफल, घरदैलोको, वडा स्तरीय बैठक तथा पार्टीका गतिविधिका साथै विकास निर्माणका विषयमा छलफल गर्दै पार्टीले उपाध्यक्ष पदका उम्मेदवार नरपुरा बुढालाई मतदान गरी विजय बनाउन आग्रह गरिरहेको छ । उम्मेदवार सहितको कार्यक्रम बिहीबार ३ नम्बर वडाको अर्जलमा गरेको पार्टीले आज शुक्रवार ९ नम्बर वडाको खारबाङमा कार्यक्रम गर्ने भएको छ । 

पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदको लागि नेपाली काँग्रेस र नेकपा एमाले तथा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । यहाँ काँग्रेस, एमाले गठबन्धनबाट केशकुमारी तुलाचन र माओवादी, एकीकृत समाजवादीबाट नरपुरा बुढा उपाध्यक्ष पदको लागि चुनावी मैदानमा होमिनु भएको छ । यसका लागि राजनीतिक दलहरू प्रचारप्रसारमा जुटेका हुन् । रिक्त रहेको २ नम्बर वडाध्यक्षमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । 

गत भदौ २८ गते काठमाडौँबाट रुकुम पूर्व आउँदै गर्दा बागलुङमा पुथाउत्तरग‌गा गाउँपालिकाको गाडी दुर्घटनामा परी उपाध्यक्ष भुपेन्द्रा बुढा र २ नम्बर  वडा अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update