(यात्राको थालनी)
सत्ता उन्माद र शक्तिको छिनाझपटीले निम्त्याएको महाभारत युद्ध विभीषिकामा परी करोडौँले ज्यान गुमाइसकेका थिए । तीमध्ये पनि आफ्ना उनान्सय जना छोराहरू गुमाएर आहत भएकी गान्धारीलाई कम से कम एउटा छोरा दुर्योधन मात्र भए पनि बाँचोस् भन्ने लाग्यो । जन्मान्ध धृतराष्ट्रसँग विवाहोपरान्त उनले सद्दे आँखामा समेत पट्टी बाँधेर वर्षौँतक कष्टपूर्ण औ अन्धकारमय जीवन बिताइरहेकी थिइन् ।
परन्तु, दुर्योधनको शरीरलाई बज्रतुल्य बनाई दुर्योधनलाई अजेय, अजर औ अमर तुल्याउनको लागि गान्धारीले आँखाको पट्टी खोलेर वयस्क दुर्योधनको नाङ्गो शरीरलाई दृष्टिपात लगाउनुपर्थ्यो । त्यसर्थ माता गान्धारीले ज्येष्ठ सुपुत्र दुर्योधनलाई नाङ्गै आफूसमक्ष प्रस्तुत हुन आह्वान गरिन् । वन्दनीय माताको आज्ञा शिरोपर गरेर दुर्योधन सर्वाङ्ग नाङ्गिएर महतारी गान्धारीसमक्ष प्रस्तुत हुँदै थिए, त्यो कुराको चालपाएर श्रीकृष्णले दुर्योधनलाई रोक्दै भने, "ओहो ! राम, राम, राम ! यो के गरेको दुर्योधन तिमीले ? प्रौढावस्थामा पुग्न लागेको छोराले यसरी नाङ्गिएर वृद्धा माताकहाँ जान तिमीलाई पटक्कै सङ्कोच लागेन ? शरम लागेन ? पापको कुम्भीपाकमा फस्नुपर्ला भन्ने किञ्चित पनि विचार गरेनौ ?"
श्रीकृष्णको बहकाउमा लागेर दुर्योधनले हरियो पातले आफ्नो गुप्ताङ्ग छोपेर आफ्नी माता गान्धारीसमक्ष प्रस्तुत भए । गान्धारीले आफ्नो प्रतिज्ञा तोड्दै एकक्षणको लागि आँखाको पट्टी हटाउँदा उनले दुर्योधनलाई अपेक्षा तथा उद्देश्यअनुकूल सर्वाङ्ग नाङ्गो देख्न सकिनन् । जुन जुन अङ्गमा गान्धारीले दृष्टिपात गरिन् ती अङ्गहरू मात्र बज्रतुल्य बने । फलस्वरुप दुर्योधनलाई अजेय र अजर तुल्याउने गान्धारीको उद्देश्य पूर्ण हुन सकेन । अतः महाभारत युद्धमा जाँघमा आघात पारेर मात्र दुर्योधनको मृत्यु सम्भव भयो । गान्धारीले यो छल गर्ने श्रीकृष्ण हुन् भन्ने पत्तो पाएर उनलाई पनि 'यसरी नै तिम्रो वंश विनाश होओस् !' भनेर श्राप दिइन् । गान्धारीको श्रापअनुसार कालान्तरमा यदुवंश पनि आपसमा काटमार मच्चाएर समाप्त भए ।
महाभारतमा श्रीकृष्णलाई नायकत्व प्रदान गरेर सबै युगका जम्मै दर्शनहरू अटाउन सक्ने व्यासतुल्य साहित्यकार अर्को कसैले यस संसारमा जन्म लिएको मलाई अद्यापि थाहा छैन । अहिलेका जस्ता भाट साहित्यकार व्यासको ठाउँमा भइदिएको भए महाभारतमा श्रीकृष्णको एकपक्षीय गुनगान मात्र लेखिन्थ्यो होला । तर मानवीय स्वभावका सर्वज्ञाता व्यासले श्रीकृष्णका सबल र दुर्बल पक्ष एक एक गरी खोतलेर लेखे र महाभारतलाई पूर्ण एवं सर्वस्वीकार्य तुल्याए । महाभारततुल्य चरित्रचित्रण कसैले गर्न सकेको छैन ।
सायद यदुवंशको महायुद्धको निर्देशक पनि श्रीकृष्णतुल्य अर्को कोही महामानव नै थियो होला । त्यो अप्रकाशित नै रहेकोले अहिलेसम्म पनि श्रीकृष्ण उत्तिकै पूजित और सम्मानित छन् र सबैभन्दा बृहत काव्य महाभारतलाई कसैले उछिन्न सकेको छैन । हाम्रो सीमित ज्ञानका दायराको कारणले महाभारतका असीमित पात्रहरूलाई काल्पनिक मान्न सकिएला तर करिब करिब विश्वभर फैलिएको घटनास्थललाई र दुरुस्तै मानवीय चरित्रचित्रणलाई भने काल्पनिक भनी अहिले पनि ठोकुवा गर्न सकिँदैन । गोप्यता तथा प्रकाशनको योभन्दा गहकिलो उदाहरण अर्को के होला ?
त्यो कुरा त भयो धेरै परको अर्थात् द्वापर युगको । यस कलियुगको मान्छे भने रहस्य खोतल्न चाहने जन्मजात प्राणी हो । जहाँ रहस्य बाँकी रहन्छ, त्यसलाई सर्वप्रथम आफैले सबैसामु उदाङ्गो पार्न कम्मर कसेर लाग्छ मान्छे । 'यो कुरा हेर्न मिल्दैन है !' भनिदियो भने मान्छेलाई त्यही कुरा धुइँपत्ताल खोजेर हेर्न काउछो सल्किहाल्छ । 'यो कुरा कसैलाई नभन्नू है !' भन्यो भने सबैभन्दा पहिले त्यही कुरा तुरुन्त अरूलाई सुनाउने सकसक सिर्जना भइहाल्छ । अझ त्यसमा थपथाप पारेर पर्दाफास गर्ने भुत चढिहाल्छ ।
मलाई नै भन्नुहुन्छ भने रुकुममा गुप्ता नामको दह छ भन्ने पत्तो पाएको नै धेरै काल बितेको छैन । मेरो कुरै छोडिदिनुहोस्, कतिलाई त यहाँ गुप्ता नाउँको ताल होला भन्ने अद्यापि अत्तोपत्तो छैन र कतिले त विश्वास नै गर्दैनन् । यसले गर्दा नै युगौँपहिले बनिसकेको यो दह कलियुगको समापन हुने अवस्थासम्म पनि धेरैको नजर र ज्ञानमा गुप्त नै रहिरह्यो । वा, गुप्तादहको अनुपम सुन्दरताको आवरणलाई अनावरण गर्ने जाँगर कसैलाई चलेन । यसको सबैभन्दा पहिलो दायित्वबोध घरनजिकको सरकारको हुनुपर्ने हो, तर उसले प्राकृतिक गोप्यता भङ्ग गरेर गैरजिम्मेवार हुन चाहेन किनकि गुप्तादहको बारेमा प्रकाशमा ल्याए त्यता बजेट तथा कार्यक्रम हाल्नुपर्यो, त्यसलाई प्राथमिकता दिनुपर्यो, संरक्षणको लागि ध्यान दिनुपर्यो ! यस्तो फोकट एवम् वाहियात कुरामा झन्झट कसले र किन बेसाउने ? यसो गरेमा गुप्त उद्देश्यमा हाल्नुपर्ने बजेट गुप्तादहतिर तेर्सिए सोको असरस्वरूप घटेको भोटको जिम्मेवारी लिने कसले ? तसर्थ तैँ चुप, मै चुप । यो कुरा मेरो मनगढन्ते सोचाइ हो भन्ने ठान्नुहुन्छ भने आफै पुग्नुहोस् गुप्तादहसम्म र त्यसको सत्य एवम् गुह्य कुराको आफै अवलोकन गरी हेर्नुहोस् ।
जुन दिन आफ्नै गृहजिल्ला रुकुमभित्रै गुप्तादह छ भन्ने जानकारीमा आयो त्यसै दिनदेखि यो तथाकथित लिलिपुटे लेखकलाई गुप्तादहको अभिमुख भएर उसका गुप्ताङ्गहरू कोट्याई कोट्याई हेर्ने काउछो सल्किहाल्यो । तर एकल यात्राबाट दुर्गम भेकको पहुँच किमार्थ सहज थिएन । यात्रामा साथ दिन सक्ने साथीहरूको निम्ति धेरैचोटि सार्वजनिक सूचना आह्वान गरे पनि मलाई दोस्रो सहयात्री भेट्न मुस्किल भइरह्यो ।
दाङ बसाइसराइ गरेर गएका भाइ गोपाल खडकालाई तिहारको निहुँ पारी रुकुमले पहिल्यै तानिसकेको थियो । रुकुमका कुनै उच्च शिखर हेर्न लैजाउँला भनी मैले उनलाई तिहारपछि पनि रोकिराखेको थिएँ । यात्रा भन्ने कुरा खुट्टाले भन्दा मनमिल्नेसँगको कुराले बढी सहज हुन्छ । गोपालले यात्रामा कुरा गर्ने साथीको खातिर सम्धी होमबहादुर खडकालाई मनाइसकेका रहेछन् । यस्तैमा पत्नीवियोगमा परी दाङतिरै अल्झिनुभएका साहित्यकार मनलाल ओलीलाई पनि जागिरे बाध्यताले तान्दै तान्दै यहीँ ल्याइपुर्यायो । मनलाल गएको ठाउँमा मात्र जान उत्सुक हुने साहित्यकार एक्कबहादुर केसी (ठुला) पनि मनलाल आइपुगेको आड पाएर मेरो पछिल्लो योजनामा सहमत हुनुभयो । साहित्यकार एवम् कुशल चित्रकार (लुम्बिनी प्रदेश सरकारको लोगो निर्माता) खगेश्वर भण्डारीजीले पनि मनमिल्ने साथी र अनुकूल परिस्थिति हेरी जानसक्ने आश्वासन दिनुभयो ।
तिहारपछि छठ र त्यसको लगत्तै एक दिनपछि शनिबार परेको हुँदा यही बिदालाई सदुपयोग गर्दै गुप्तादह नपुगी नछाड्ने लहड मेरो मनमा तुफानजस्तै मच्चिसकेको थियो । छठको अघिल्लो बेलुका मात्र मैले कर्मचारी साथीहरूमध्येबाट इच्छुकलाई खबर गर्न सहकर्मी एक्कबहादुर केसी (साना) लाई जिम्मेवारी सुम्पिएँ । उहाँले आँट पनि मिल्ने र छाँट पनि मिल्ने साथीहरू खोज्न थाल्नुभयो । जसमध्ये सगरमाथा आरोही तथा कोलेनिकाका कर्मचारी बमकाजी सिर्पाली, नयाँ सहर आयोजना चौरजहारीका कर्मचारी नरसिँह बुढा तथा चौरजहारी नगरपालिकाका कर्मचारी अनिल केसीलाई पनि खबर गरेको र उहाँहरू जान इच्छुक रहेको प्रतिवेदन पेश गर्नुभयो । तर आफूचाँहि गहुँ छर्ने अत्यावश्यकीय काम परेकोले सो यात्रामा साथ दिन नसक्ने गुप्त आशय प्रतिवेदनको कैफियत महलमा व्यक्त गर्नुभयो । आफू नगए अरू साथीहरूले पनि यात्रामा साथ दिन नसक्ने भएकोले यो गोप्य ट्रिक अपनाएको उहाँले खुलस्त पार्नुभयो ।
गाडी थियो ७ जना मात्र अट्ने ! एकैछिनको खबरले एक्कजी नजाँदा पनि यात्रामा जान इच्छुकहरूको सङ्ख्या ९ जना पुगिसकेको थियो । मलाई बाध्यता के थियो भने यस यात्रामा कर्मचारी साथीहरूलाई प्राथमिकतामा राख्नुपर्ने । सबै मनमिल्ने साथीहरू यात्रामा निस्कने तर आफूले जानीजानी यस यात्राको अपूर्व अवसर छुटाउन कसरी सक्नुहुन्थ्यो सहकर्मी एक्कजीले ? उहाँले कैफियत महलबाट आफ्नो नाम हटाई यात्रामा जाने निश्चित भएका मित्रहरूको सूचीमा राखिदिन बेलुकातिर बलशाली निवेदन गर्नुभयो ।
अतः साहित्यकार मनलाललगायतका मित्रहरूलाई मैले मुस्किलले 'यसपालिको यात्राको लागि सरि ल !' भन्नै पर्यो, जसले मेरा आँखा धमिलिए र मन अमिलियो । त्यसको नाफाघाटा जसअपजस आफैले बेहोर्नुपर्ने भयो । कसैगरी लान सकिएको भए उहाँहरूको भिन्नै नजरले गुप्तादहको भिन्नै गोप्यता भेट्टाउनु पो हुन्थ्यो कि ??
छठ पर्वको बिहान ६ बजे नै यात्राको लागि पाइला सार्ने पूर्वयोजना भए पनि अर्माबाट आइपुग्नुपर्ने बमकाजीलाई पर्खँदा पर्खँदै ७ बजिहाल्यो । भाइ गोपाल खडका र सम्धी होमबहादुर खडका सोलाबाङबाट ६ बजे नै तम्तयार भई आइसक्नुभएको थियो । बोलाउनेबित्तिकै चालक पन्च नेपाली हाजिर भएपछि मुसीकोट खलङ्गाको मठबाट हामी ४ जना यात्री गाडी चढ्यौँ । बागबजारबाट एक्कजी (साना) चढ्नुभयो र सेरीगाउँबाट नरसिँहजी र अनिलजी चढेपछि ७ सिटे गाडी भरिभराउ भैहाल्यो । दिलबहादुरजी आइनपुग्दा मनमिल्ने साथीहरूलाई खल्लो लागे तापनि गाडीलाई भने सुविधा नै भयो । दिलबहादुरजीलाई यात्रामा समेट्न नसक्नुमा उहाँले हिजै उदाङ्गो पार्नुभएको गोप्य रहस्यले पनि काम गरेको थियो ।
७ जना यात्रीको उद्देश्य एउटै थियो, गन्तव्य एउटै थियो, गाडीले एउटै दिशा समातेर अर्थात् शीतलपोखरी, ठाराढुङ्गा, डाङडुङ्गे, कानेबाङ, साँख, बैरीदह हुँदै मध्यपहाडी लोकमार्गको पुच्छर समातेर पूर्वोत्तरतिर हुत्तिँदै थियो । एउटै यात्राका ७ जना यात्रीका मनहरू दशै दिशा विचरण गरिरहेका थिए । यात्रीहरूलाई तान्ने प्रधान चुम्बकको काम गुप्तादहले नै गरेकोले न त यात्रीको ध्यान शीतलपोखरी, साँखदह र बैरीदहले भड्काउन सके न त साँखपछिको घनघोर लेकाली जङ्गलले नै । कौतुहलता एउटै विषयमा भए पनि विचारहरू अलगथलग फिँजिइरहेका थिए । अनुकूलता वा स्पेस हेरी केही व्यक्त हुन्थे भने केही अव्यक्त नै रहन्थे ।
साँख कटेपछि सुरु भएको घोरखानी, खोपीचौर, झाक्रीपानी हुँदै रानीकोटसम्मको खोँच र ढिस्काहरूमा फनफनी घुमेको घुमाउरो बाटोले घुमन्तेहरूलाई विभिन्न घुमाउरा विचारहरू ओकल्न बाध्य तुल्यायो । झाक्रीपानीबाट जिल्ला फेरियो, प्रदेश नै फेरियो, तर न भूगोल फेरिएको अनुभूत भयो, न त घुमन्तेका घुमाउरा विचार । उनीहरू त एकतमासले प्रश्नमाथि प्रश्न थपेर प्रश्नकै लेक तुल्याउन लागिपरेका थिए ।
मध्यपहाडी लोकमार्गलाई धौलापहिराबाट सिधै बालुवासँग नजोडी किन रुकुमकोटतिर उकालियो ?
यस बाटोलाई धाउने, नाथिगाड, लम्फाकोट, छिङ हुँदै तलतलै माछ्मीसँग सिधै जोड्दा झन्डै १५ किलोमिटर कम हुने जानकारी हुँदाहुँदै किन मुसिकोटतिर उकालियो ?
के सहायक मार्गले सदरमुकामहरू जोड्दा पुग्दैनथ्यो ?
बाटो घुमाउँदा अनावश्यक रूपमा खर्च भएको यात्रीको दिनहुँको थप समय, थप परेशानी, थप बिलम्ब, थप दुर्घटना, थप इन्धन र थप मर्मत खर्चको जम्माजम्मी हिसाबकिताब कति हुन्छ होला ?
मध्यपहाडीभन्दा निकै पुरानो तल्लो मार्गलाई पक्की बनाउने अद्यापि चासो किन दिइँदैन ?
यसरी विचरण गरिरहेका विचारीहरूको विचार मन्थन त निकै भयो, तर, नौनी एक थोपा निस्किएन । निस्कनुपर्ने नौनी गोप्यतामै बिलायो । सायद यो मार्गसँग घुम्न बाध्य हरेक यात्रीहरूले यस्तै असन्तुष्टिका प्रश्नहरू उब्जाउँछन् र यस्तै यस्तै जवाफ आफैले आफैलाई दिएर चित्त बुझाउँछन् पनि होला । तलतिर छाङ्गाछुर भिर मात्र देखिने ग्राभेल बाटोले उछालपछार पारेका यात्रीहरूले कहाँबाट सकारात्मक ऊर्जा प्राप्त गरून् ?
पारिपट्टि रुकुमकोटमा विस्तार हुँदै गरेको नयाँ सहर दृष्टिगोचर भएपछि त्रस्त यात्रीहरूका अनुहारहरू अब त बाँचियो भन्ने भावले उज्यालिन्छन् । उनीहरूले भर्खरै निर्माण गरेको प्रश्नै प्रश्नको लेक एकैचोटि गर्ल्यामगुर्लुम ढल्छ र सन्तोषको लामो सास फेर्छन् । मैले साविक प्वाङ निवासी साथी जीवन खडकालाई फोन गरेर एकजना पथप्रदर्शक खोजिदिन आग्रह गरेँ । उहाँले पथप्रदर्शक खोजी नाइगाडको तिपतरामा खानाखाने व्यवस्था समेत गरिसकेको खबर गर्नुभयो ।
रुकुमकोट पुगेपछि यस यात्रामा छुटिसकेका दिलबहादुरजीले आफू लोकल गाडीमा चढेर तल्लो बाटो आउँदै गरेकोले धाउनेमा आफू नआउन्जेल पर्खन फोनमार्फत् अनुरोध गर्नुभयो । हामीले मध्यपहाडी मार्गलाई रुकुमकोटमै छोडेर ठाडै ओरालो झर्यौँ । एक दशकअघि सडक भर्खरै आइपुगेको बेला उन्मत्त बैँसले फिँजारिएको धाउने बजारलाई बुढ्यौलीले छोएर दुईचारवटा घरहरूको आश्रयमा रुङिरहेको रहेछ । दिलबहादुरलाई पर्खने हेतुले धाउनेको एउटा चिया खाने निहुँ बनायौँ । सहकर्मी साथीहरूले दिनुभएको तिहारका सेल र फिनी मैले यतै बोकेर ल्याएको थिएँ । यात्राको थकानमा सेल चियामा डोब्दै खाँदै गर्नुको मिठास नै भिन्नै । तर चियाको पैसा तिर्न अगिसरा बन्ने को ? एक्कजीले सबैलाई सहज हुने गजबको उपाय झिक्नुभयोः सबैबाट २/२ हजारको दरले यात्राकोष खडा गर्ने र यात्राको भैपरी खर्चपर्च टार्दै जाने ।
चिया खान निहुँले धाउनेमा ओर्लिएको आधा घण्टा बित्यो । चिया खाइसकेपछि पनि अरू आधा घण्टा बित्यो । डेढ घण्टा पनि बित्न थालिसक्यो दिलबहादुरजी आइपुग्ने छाँटै छैन । उहाँले त यो समयमा छिङबाट बल्ल भुरुङ्गासम्मको बाटो मात्र पार गर्नुभएछ । उँभोगाड पुगिसकेकालाई उँधोगाडको यात्रा गरेर कहिले भेटिनू ? उहाँलाई पर्खनू कि छोडेर अगाडि बढ्नू ? मैले उहाँलाई फोनबाट सम्झाउँदै भनेँ, "तपाईँको लोकल गाडी धाउनेमा आज बेलुकासम्म पनि आइपुग्दैन । हामी सातैजनाले यो यात्रा रद्द गरेर घर फर्कनू कि तपाईँलाई पर्खेर बस्नू ? तपाईँ आउने नै हो भने रुकुमकोट घुमेर फर्कनुहोला । हामी आफ्नो बाटो लागिहाल्छौँ ।" उहाँले भनेको माने पो ! आफ्नै जिद्दी गरिरहनुभयो, "तपाईँहरूले पर्खनुहुन्न भने जानुहोस् । म तपाईँहरूलाई बेलुकासम्म बास बसेकै ठाउँमा भेटाउन आइपुग्छु । म त यस्सै बिचबाट फर्कँदिन ।" पैदल यात्राद्वारा छिङबाट देउखोला पुग्नै दिनभर लाग्छ भन्ने कुरा उहाँलाई अत्तोपत्तो रहेनछ ।
हामीले पुर्पुरोमा मुठ्ठी राखेर अब के गर्ने भन्ने युक्तिको खोजीमा डुब्यौँ । सानीभेरी हाम्रो परवाह नगरी प्राकृतिक गीत सुसेल्दै उँधैतिर बग्न तल्लीन छ । बेलाबखत हावा लाग्दा स्वाँऽऽऽ गरेर सुस्साउँदै वारिपारिका पोखरा, नाथिगाड, अमलाचौरसम्मका मान्छेहरूलाई ब्युँझाउँछ । धाउनेदेखि देउखोलासम्मको बाटो पिच भइसक्दा पनि यहाँको लोकल गाडीको न भर छ, न त सुनिश्चितता नै । यस्तैमा एउटा उपाय निस्कियोः 'धाउनेको प्रहरीलाई अनुरोध गरेर तलसम्म बाइक पठाइदिने र त्यसमै आउनुहुन्छ दिलजी ।' हाम्रो सामान्य अनुरोधमा एकजना दिलदार प्रहरी सहमत भइहाल्नुभयो । उहाँ दिलजीलाई भेट्टाउन आफ्नो बाइकमा उँधोतिर कुद्नुभयो । केही साथीहरू धाउनेमै दिलजीलाई पर्खेर बस्नुभयो भने गोपालभाइ, होमसम्धी, बमकाजीजी र म पैदलै पैदल बालुवातिर उकालियौँ ।
३ किलोमिटरको दुरी पार गरेर बालुवा पुगेपछि मात्र धाउनेमै छोडेको गाडी हामीलाई भेट्टाउन आइपुग्यो । रहरले पैदलयात्री बनेकाहरू फेरि गाडी चढ्यौँ । अलिकति दिलबहादुरलाई उल्ल्यायौँ । कोही नछुटेको र कोही नदोहोरिएको आनन्दातिरेकमा रमायौँ । बालुवाबाट देउपुरसम्मको पिचबाटो पार गर्न दश मिनेट पनि लागेन । दिनको ११ बजिसकेको थियो । हामी गाडीयात्रा टुङ्ग्याउँदै देउपुरमा ओर्लियौँ । अब भने केही रहर र केही कहरले पैदल यात्रा सुरू गर्नुपर्ने थियो ।
गाडीबाट ओर्लिएर मुखुतो भएपछि होमसम्धीको ठाडीभाका घन्कियोः
हान्ने राङो मुसीकोटको भैँसी नर्थमैको
सुब्ब्या भएई चौख्या थली पैला पर्थमैको ।।