रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड वडा नम्बर १ को त्रिभुवन जनता मावि खलङ्गाले जितेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को बिचमा रहेको ट्याखोला खेल मैदानमा सञ्चालित शिल्ड त्रिजमाविले जितेको हो । यो सँगै उसले लगातार दोस्रो पटक शिल्ड जित्न सफल भएको छ । अर्को वर्ष हुने शिल्ड समेत जित्न सक्यो भने त्रिजमाविले शिल्डमा कब्जा जमाउने छ ।
त्रिजमाविले १९ स्वर्ण, १३ रजत र ५ कांस्य गरी कुल ३७ पदक सहित शिल्ड उचालेको हो । ८ स्वर्ण, १० रजत र ७ कांस्य गरी २५ पदक जितेको मुसिकोट ५ को यमुना नन्द नमुना मावि दोस्रो हुँदा ८ स्वर्ण र ३ कांस्य गरी कुल ११ पदक जितेको वडा नम्बर १३ को महेन्द्र मावि छिवाङ चौतारा तेस्रो भएको राष्ट्रपति तेस्रो रनिङ शिल्ड सञ्चालन तथा व्यवस्थापन उप समिति संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबल तर्फका २, एथलेटिक्स तर्फका २६ र मार्सल आर्ट अन्तर्गतका २४ गरी कुल ५२ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । तीन मध्ये २ इभेन्टमा त्रिजमावि नै प्रथम भएको छ । एथलेटिक्स तर्फ ८ स्वर्ण, ६ रजत, १ कांस्य सहित कुल १५ पदकका साथ त्रिजमावि प्रथम भयो । महेन्द्र मावि छिवाङ ८ स्वर्ण, तीन कांस्य सहित ११ पदकका साथ द्धितिय, न्यु मुन लाइट बोर्डिङ ३ स्वर्ण र ३ रजत सहित कुल ६ पदकका साथ एथलेटिक्स इभेन्टमा तेस्रो भएको संयोजक खड्काले बताउनुभयो ।
मार्सल आर्ट तर्फ पनि त्रिजमावि नै प्रथम भयो । उसले मार्सल आर्टमा ११ स्वर्ण, ७ रजत र २ कांस्य सहित कुल २० पदक हात पार्यो । मार्सल आर्टमा यमुना नन्द नमुना मावि ६ स्वर्ण, ९ रजत, ८ कांस्य सहित दोस्रो हुँदा न्यु मुन लाइट बोर्डिङ स्कुल ४ स्वर्ण, ७ रजत, ६ कांस्य सहित तेस्रो भएको संयोजक खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबल अन्तर्गत भने छात्रा तर्फ जनजागृति मावि साँख प्रथम हुँदा छात्रा तर्फ बालकल्याण मावि झुल्खेत प्रथम भएको छ । छात्र तर्फ प्रभात मावि दोपाई द्धितिय र त्रिजमावि खलङ्गा तृतीय भएका छन् । छात्रा तर्फ त्रिपुरा मावि छिङ द्धितिय हुँदा त्रिजमावि खलङ्गा तृतीय भएको खड्काको भनाई छ ।
समग्र शिल्डमा प्रथमले शिल्ड उचालेको छ भने इभेन्टमा विजयी विद्यालयले कप प्राप्त गरेका छन् भने विद्यार्थीले मेडल र प्रमाणपत्र प्राप्त गरेको राष्ट्रपति तेस्रो रनिङ शिल्ड सञ्चालन तथा व्यवस्थापन उप समिति संयोजक खड्काले जानकारी दिनुभयो । शिल्डमा सामुदायिक १६ र संस्थागत ३ गरी नगरका सबै १९ वटै माविले प्रतिस्पर्धा गरेका थिए । करिब ४ सय विद्यार्थीले प्रतिस्पर्धा गरेको शिल्डमा १४ विद्यालयले पदक जित्न सफल भए भने ५ विद्यालय पदक विहीन भएको बताइएको छ ।