Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगामा उप-निर्वाचनको रौनक 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उप-निर्वाचनको चहलपहल बढेको छ। नेकपा माओवादी र नेकपा एमाले चुनावी एजेन्डा लिएर गाउँ पसेका छन् । पुथामा मङ्सिर १६ गते गाउँपालिका उपाध्यक्ष पदको लागि उप-निर्वाचन हुन लागेको छ । उप-निर्वाचनलाई लक्षित गरेर उपाध्यक्ष पदको लागि नेपाली काँग्रेस र एमाले तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन चुनावी मैदानमा छन् । नेपाली काँग्रेस-नेकपा एमाले गठबन्धनबाट एमालेकी केशकुमारी तुलाचन र नेकपा माओवादी केन्द्र-नेकपा एस गठबन्धनबाट माओवादी केन्द्रकी नरपुरा बुढा पुनको उम्मेदवारी छ । अहिले उक्त पार्टी चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

उप निर्वाचनका लागि उम्मेदवार सहितको वडा स्तरीय कोण सभा, पार्टी प्रशिक्षण, जन भेटघाट, टोल स्तरीय बैठक, मतदाता शिक्षा जस्ता कार्यमा जोड दिइएको नेकपा माओवादी केन्द्रकी जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभयो । त्यस्तै काँग्रेस-एमाले गठबन्धन पनि मतदाता रिझाउन लागि परेको छ । मतदाता तथा जनभेटघाट, छलफल जस्ता कार्यक्रम गरेर चुनावी एजेन्डाबारे जानकारी गराउने काम भइरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकामा रिक्त रहेको २ नम्बर अध्यक्षमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । गत भदौ २८ गते काठमाडौँबाट रुकुम पूर्व आउँदै गरेको पुथाउत्तरगंगा गाउँपालिकाको गाडी बागलुङमा दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढा र २ नम्बर वडा अध्यक्ष जसबहादुर शेर्पालीका निधन भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update