Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा एक साता लकडाउन

रुकुम पूर्वमा एक साताका लागि लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि लागु हुने गरी जेठ ५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको हो । बढ्दै गएको कोरोना संक्रमणको चेन ब्रेक गर्न एक साताको लागि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) वमोजिम एक साताका लागि जिल्ला भर लागु हुने गरी लकडाउन गरिएको उहाँले बताउनुभयो । 

यो अवधिमा अति आवश्यक सेवा बाहेकका अन्य सवै सेवामा रोक लगाईएको छ । एम्बुलेन्स, शववाहन, खाद्य सामग्री, पशुपंक्षी तथा पशुपंक्षीको दाना, ग्यास तथा पेट्रोलियम पदार्थ, तरकारी, फलफुल, दुग्ध पदार्थ, माछा, मासु र पानी बोक्ने सवारी साधन संचालन हुन पाउँने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । बैंक तथा वित्तिय संस्था, कार्यालय आउने कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी चढ्ने र स्वास्थ्य सामग्री बोकेका सवारी साधन पनि चल्न पाउँने छन् । यसवाहेक जिल्लामा रहेका बैंकहरु प्रशासनले तोकेको बार अनुसार बिहान १० बजेदेखि दिउशो १ बजेसम्म संचालन हुने छन् । 

खाद्यान्न, तरकारी तथा फलफुल पसल, माछा मासु पसल, पेट्रोलियम पदार्थ वेच्ने पसल, ग्यास डिपो, निर्माण सामग्री वेच्ने पसल लगायत भने बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म संचालन गर्न पाईने प्रमुख जिल्ला अधिकारी राईको भनाई छ । उहाँका अनुसार चिया तथा खाजा पसल, इलेक्ट्रोनिक्स पसल, सैलुन, ब्युटिपार्लर, फर्निचर पसल, टेलरिङ सेन्टर लगायत भने संचालन गर्न पाईने छैन् । अनावश्यक हिडडुल, भिडभाड गर्न पनि पाईने छैन् । अति आवश्यक काम नपरी घर बाहिर नसिस्किन प्रशासनले आग्रह गरेको छ । आदेश पालना नगर्ने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।   

यसअघि जिल्ला प्रशासन कार्यालयले वैशाख २२ गतेदेखि सिस्ने गाउँपालिका वडा नं. ५ र ६ रूकुमकाेट क्षेत्रमा मात्र एक साताकाे लागि निषेधाज्ञा जारी गरेकाे थियाे ।


 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update