Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपाको स्थापना दिवसको अवसरमा आयोजित ब्याडमिन्टनमा विशाल र अविनाशको जोडी प्रथम 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औँ स्थापना दिवसका अवसरमा आयोजित ब्याडमिन्टन विशाल विष्ट र अविनाश केसीको जोडीले जितेको छ । नेकपा रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलङ्गामा प्रतियोगिता आयोजना गरेको थियो । बराहटाकुरामा रहेको कवर्डहलमा आइतबार भएको फाइनलमा कवीन्द्र पुन र शिखर केसीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै विशाल र अविनाशको जोडी प्रथम भएको हो । 

नवराज मल्ल र गोपाल बटाला तथा सिद्धार्थ केसी र मुस्कान केसीको जोडी सान्त्वना बनेका छन् । प्रतियोगिताको विजेता विशाल र अविनाशको जोडीले नगद २७ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कवीन्द्र र शिखरको जोडीले नगद १७ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाइनल पुगेका २ जोडीले समान ६/६ हजार पुरस्कार प्राप्त गरेको आयोजक नेकपा रुकुम पश्चिमले जनाएको छ ।

प्रतियोगितामा विभिन्न ठाउँका १३ जोडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । आइतबार नै एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा स्थान प्राप्त गर्ने जोडीलाई पुरस्कार समेत वितरण गरिएको आयोजकको भनाई छ । प्रतियोगिता शनिवार देखि सुरु भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update