नेकपा माओवादी केन्द्रबाट रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवारी दिनुभएकी नरपूरा बुढा पुनले स्वर्गीय पालिका उपाध्यक्ष भूपेन्द्रा बुढाले सुरु गरेका विकास निर्माणका कामलाई निरन्तरता दिने बताउनुभएको छ । आइतबार पुथाउत्तरगंगा गाउँपालिकाको ७ नम्बर वडाको जाङ गाउँमा भएको उम्मेदवार सहितको वडा स्तरीय कोण सभालाई सम्बोधन गर्दै बहिनीले सुरु गरेका तर अपुरा रहेका विकास निर्माणका कामलाई पूर्णता दिने बताउनुभयो । आफू निर्वाचित भएमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने उम्मेदवार बुढाले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि पनि आफूलाई मतदान गर्नु पर्ने उहाँको भनाइ थियो ।
'जनताबाट पाएको अमूल्य मतको सदुपयोग गरी जनतालाई प्रत्याभूत हुने गरी विकास निर्माणका कामलाई नै जोड दिने मेरो भूमिका हुने छ, त्यसका साथै पालिकाबासीहरुको लागि स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्नेछु' उम्मेदार बुढाले भन्नुभयो ।
बहिनी भुपेन्द्राको काम गर्ने हुटहुटीको स्मरण गर्दै आफूले पनि बहिनीले गर्न चाहेका काम (सपना)लाई पुरा गर्ने अठोटका साथ चुनावी मैदामा होमिएको उल्लेख गर्नुभयो । जनताको पूर्ण साथ माओवादी केन्द्रलाई रहेकाले आफूले जित्नेमा ढुक्क रहेको समेत उपाध्यक्षकी उम्मेदवार बुढाले बताउनुभयो । नरपूरा पुर्व उपाध्यक्ष भुपेन्द्राकाे सहोदर दिदी हुनुहुन्छ । उपाध्ययक्षकी उम्मेदवार बुढालाई जिताउन माओवादी केन्द्रले पुथामा ३ वटा कमाण्ड निर्माण गरेर चुनावी प्रचारप्रसार गरिरहेको छ ।
पार्टीका वडा उपाध्यक्ष बलमान घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य कमला रोका पार्टीका केन्द्रीय सदस्य तथा वाइसीयल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज शेर्पाली, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, प्रदेश सचिवालय सदस्य तिर्था पुन, प्रदेश सल्लाहकार डिलु बुढा, प्रदेश समन्वय सम्पर्क सदस्य इन्दिरा रोका, वाइसीयल नेपालका जिल्ला अध्यक्ष नामेन्द्र सुनार, लगायतको उपस्थिति रहेको थियो।
पार्टीले शनिवार वडा नम्बर ८ को गरालीमा गरेको वडा स्तरीय कोण सभा आइतबार ७ नम्बरको जाङ गाउँमा गरेको हो । पार्टीले प्रशिक्षण, जन भेटघाट, वडा स्तरीय बैठक, मतदाता शिक्षा, पार्टीका गतिविधि र विकास निर्माणका काम, जनताका गुनासा तथा सुझाव सङ्कलन गर्दै चुनावी प्रचार गरिरहेकाे छ ।
दुई नम्बर वडामा माओवादी केन्द्रबाट जगत घर्ती निर्विरोध निर्वाचित भएपछि यहाँ उपाध्यक्ष पदको लागि एमाले र कांग्रेस गठबन्धनबाट केशकुमारी तुलाचन र माओवादी र एकीकृत समाजवादीबाट बुढा चुनावी मैदानमा हुनुहुन्छ । उपनिर्वाचनको समय नजिकिएसँगै पुथामा चुनावी माहौल तातिएको छ ।
गत भदौ २८ गते काठमाडौँबाट रुकुम पूर्व आउँदै गर्दा बागलुङमा पुथाउत्तरगगा गाउँपालिकाको गाडी दुर्घटनामा परी उपाध्यक्ष भुपेन्द्रा बुढा र २ नम्बर वडा अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो । यहाँ मंसिर १६ गते उप निर्वाचन हुँदै छ ।