Kakhara सबैको खबर सम्पूर्ण खबर
जनार्दन शर्माद्वारा सानीभेरी ५ का जनतासँग भेटघाट तथा अन्तरक्रिया 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर सानीभेरी ५ मा हुन लागेको उपचुनावका लागि माओवादीका उम्मेदवारका पक्षमा मत माग्न सानीभेरी ५ मा पुग्नुभएकाे छ । पार्टीका उम्मेदवार जसीराम बस्नेतलाई जिताउन सिङ्गो पार्टी नै सानीभेरी ५ मा केन्द्रित भएको छ । सोही क्रममा शर्मा आज सानीभेरी ५ मा पुग्नुभएको हो । उहाँले सानीभेरीका विभिन्न ठाउँका जनतासँग भेटघाट गर्दै पार्टीका वडाध्यक्षका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ । 

टोल भेला तथा घर घरै पुगेर उहाँ सहितको टोलीले जनभेटघाट, अन्तरक्रिया, सुझाव सङ्कलनका साथै, पार्टीले गरेका विकास निर्माणका बारेमा वडावासीलाई जानकारी गराएको नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाका सचिव दीपक बाँठामगरले जानकारी दिनुभयो । उहाँका अनुसार मेलचौर, घापाघार हुँदै टोली हाँसु गाउँमा पुगेको थियो । 

जस क्रममा टोल भेला मार्फत जनभेटघाट र जनतासँग अन्तरक्रिया भएको थियो भने केही ठाउँमा घर घरै पुगेर पनि जनतासँग भेटघाट गरेर मत माग्ने काम भएको उहाँको भनाई छ । जनभेटघाटका क्रममा पूर्व अर्थमन्त्री समेत रहनुभएका जनार्दन शर्माले सानीभेरी ५ को समग्र विकासका लागि नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार जसीराम बस्नेतलाई विजयी गराउन आग्रह गर्नुभयो । 

468335060_1632372837316700_4433120363120828320_n-1732533876.jpg
पार्टीको नेतृत्वमा सानीभेरी ५ का टोल टोलमा सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासको आधारभूत आवश्यकता पूरा भएको र अब थप विकासका लागि वडाध्यक्षमा बस्नेतलाई विजयी गराउन उहाँको आग्रह थियो । 

शर्मासँगै पार्टीका केन्द्रीय सदस्य तथा जिल्लाका सङ्गठन विभाग प्रमुख गोपाल शर्मा अनल, जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा कुशल, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला संयोजक सचिन रोका, वैकल्पिक केन्द्रीय सदस्यहरू धनवीर ओली, नरबहादुर पुन, प्रदेश सदस्य मिलन खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update