तीन आर्थिक वर्ष पूरा गरिसक्दा वडाध्यक्ष ओलीको एउटा निष्कर्ष छ । अब हरेक मानिसलाई रोजगार, स्वरोजगारमा जोड्ने वा आम्दानीका स्रोत हुने व्यवसायमा लगाउने । यसपछि मात्रै सर्वसाधारणले सरकार घरआँगनमा आएको महशुस गर्ने भनाई वडाध्यक्ष ओलीको छ ।
मोहनकिशोर ओलीको हालको दैनिकी उहाँले सोचेको भन्दा फरक छ । यद्यपी जिम्मेवारी आइसकेपछि/लिइएपछि त्यसलाई निभाउने क्रममा उहाँ हुनुहुन्छ । तर उहाँ देश, जिल्ला र गाउँ यसैगरी चल्छन् भन्नेमा हुनुहुन्थ्यो । दश बर्षे जनयुद्ध लड्ने क्रममा देखिएका सपना, कल्पना गरेको परिवेश विल्कुल यस्तो थिएन । त्यतिबेलाका स्कुलिङ अनुसारको परिवेश निर्माण हुन सकेको छैन । न त्यसबाट प्राप्त सबै उपलब्धि नै संस्थागत हुन सकेका छन् । जनयुद्ध लड्दाको स्कुलिङ, सपना, कल्पना, सोच र विचार अनुसारको काम भएको भए अहिले देश र जनताको अवस्था धेरै अघि गैसकेको हुने उहाँको बुझाई छ । तर त्यसो हुन नसकेकोमा उहाँको चित्त दुखाई छ । अवस्था जस्तो बनेको छ । परिस्थिति जे छ त्यसै अनुसार अघि बढ्ने क्रममा उहाँ त्रिवेणि गाउँपालिका १ को वडा वडाध्यक्ष हुनुहुन्छ । तत्कालिन पार्टी नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा चुनाव लड्नु पर्ने भनेर निर्णय गरेपछि चुनाव लडेर वडाध्यक्षमा निर्वाचित ओली यसै परिस्थितिलाई अनुकुल बनाएर वडाको निर्माणमा लागिरहनु भएको छ । साविक रुँघा गाविसका १, ६, ७, ८ र ९ नम्बर वडा मिलाएर बनाइएको १ नम्बर वडाको अभिभावकत्व पूरा गर्ने दायित्व जनताले उहाँलाई दिएका छन् । २०७४ वैशाख ३१ गतेको निर्वाचनमा उहाँलाई मतदाताले जिताएर यो जिम्मेवारी दिएका हुन् । यो जिम्मेवार सम्हालेको पनि झण्डै साढे तीन वर्ष पूरा भइसकेको छ ।
यस वडामा आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ सम्म ८ करोड १२ लाख ५१ हजार दुई सय रुपैयाँ बजेट प्राप्त भएको छ । संघबाट तीन करोड ६७ लाख ५० हजार, प्रदेशबाट एक करोड ८६ लाख, गाउँपालिकाबाट ८७ लाख एक हजार दुई सय, आशा परियोजना मार्फत ८९ लाख र रेट्रोफिटिङका लागि १५ लाख बजेट प्राप्त भएको हो । उक्त बजेटमाध्य केही बजेट काम हुन नसकेर फ्रिज पनि गएको छ । यही बजेटमध्य आर्थिक विकासतर्फ ५९ लाख ६५ हजार, सामाजिक विकास तर्फ ६४ लाख ८६ हजार दुई सय खर्च भएको छ । पूर्वाधार विकासतर्फ पाँच करोड १६ लाख खर्च भएको छ । गैरसरकारी संस्थाको साझेदारीतर्फ नेपाल रेडक्रस सोसाइटीको ५७ लाख, पहाडी साना किसानका लागि अनुकुलन आयोजना आशा परियोजनाको ८९ लाख र रेट्रोफिटिङमा १५ लाख बजेट प्राप्त भएर कति खर्च भइसकेको छ भने कति परिचालन हुने क्रममा छ ।
वडाका सबै वस्तिमा सडक
नयाँ सडक, स्तरोन्नती गरी वडामा ५ सडक बनेका छन् । यस तीन वर्षको अवधिमा १७ किलोमिटर सिमु्रुतु–दहभागे–कालापोखरा सडकको स्तरोन्नती भएको छ । १० किलोमिटर लामो बल्ले–कालापोखरा नयाँ सडक निर्माण, १० किलोमिटर लामो दाङचुङ–बल्लेजुरा सडक निर्माण, वडा कार्यालय खलटाकुरा साढे २ किलोमिटर सडक निर्माण र दहभागे–लेखको २ किलोमिटर सडक निर्माण भएको छ । हरेक वर्षातको समयमा विग्रे भत्केका सडकको मर्मत सम्भार समेत वडाले गर्दै आएको छ । तीन वर्षको अवधिमा ४२ किलोमिटर सडकको स्तरोन्नती तथा नयाँ ट्रयाक खुलेको वडाध्यक्ष ओलीले बताउनुभयो । उहाँका अनुसार अब वडाका सबै ठाउँमा सडक पुगेको र यसको स्तरोन्नतीमा ध्यान दिइने गरी योजना बनेको छ । मुख्यमन्त्री स्वरोजगार कार्यक्रम मार्फत साढे दुई किलोमिटर सडकमा ग्राबेल गरिएको छ भने ४ सय ९० मिटर सडकको नाली निर्माण गरिएको छ । यस वडाका कुनै पनि वस्तिबाट सडक भेटाउन ५ देखि १० मिनेट मात्रै हिड्नुपर्ने वडाध्यक्ष ओलीले बताउनुभयो ।
घरघर पुग्दै खानेपानीका धारा
वडाका ५ सय ५२ घरधुरीमध्य १ सय ५० घरधुरीमा घरघरै खानेपानी पुगेको छ । दाङचुङ खानेपानी योजनाबाट ७० घर र तलिगाउँ खानेपानी योजनाबाट ८० घरमा एक घर एक धारा बनेका छन् । तलिगाउँको खानेपानी योजना निर्माणाधिन छ । यसको साथै कामीडेरा खानेपानी योजना, घारीगाउँ खानेपानी योजना, भेरीखोला खानेपानी योजना, गोठाउने खानेपानी योजना निर्माण भएको छ । वडाले विभिन्न स्रोतको प्रयोग गरी यी बाहेक १२ वटा मुहान संरक्षण गरेको वडाध्यक्ष ओलीले जानकारी दिनुभयो । दहभागे, बल्ले सिन्तुवाङ खानेपानी योजना मर्मत भएको छ भने पूर्ण सरसफाईका लागि जुठ्यान निर्माण तथा मचानको व्यवस्थापन धमाधम भइरहेको छ ।
शिक्षामा मसिनो रुपमा लगानी र कार्यक्रम
१ नम्बर वडामा ७ विद्यालय छन् । केही बाल विकास केन्द्रहरु समुदाय स्तरमै सञ्चालन गरिएको छ । वडा कार्यालय आफैले यी केन्द्र सञ्चालनमा ल्याएको हो । यसका साथै विद्यालय भवन निर्माण, मर्मत तथा अरु काम भएका छन् । दिव्यचच्छु माविमा २ कोठे पक्कि भवन निर्माण, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट २ कोठे शौचालय निर्माण, विद्यालय भवनको प्रबलिकरण, वास सहितको शौचालय निर्माण, फिल्ड तथा अरु व्यवस्थापन गरिएको छ । माथिगाउँ बाल विकास केन्द्रमा सिकाई सामग्रीको साथै अरु व्यवस्थापन, फिल्ड निर्माण भएको छ । आधारभुत विद्यालय भेडाखर्कमा ट्रस सहितको २ कोठे विद्यालय भवन निर्माण र फिल्ड निर्माण भएको छ । दहभागेमा समुदायमा आधारीत बाल विकास केन्द्र सञ्चालन र फिल्ड निर्माण, बल्लेको विद्यालयमा फिल्ड निर्माण, घेराबार र वास सहितको शौचालय निर्माण भएको छ । कालिका आधारभुत विद्यालय दाङचुङको फिल्ड निर्माण, घेराबार र मेशनरी वाल तथा जाली लगाइएको छ । शिक्षण सिकाइलाई बढाउन तथा प्रभावकारी बनाउन अभिभावक शिक्षा कार्यक्रम, अनुगमन, नियमन, विद्यालयमा विद्युतीय शैक्षिक सामग्री वितरण, विद्यालयलाई पोशाक वितरण तथा करार शिक्षक नियुक्त गरी पठन पाठनमा सहजता ल्याएको वडाध्यक्ष ओलीले बताउनुभयो ।
बाख्राको व्यवसायिक पालन र अलैंची खेतीलाई व्यवसायको रुपमा अंगाल्नु भएका उहाँले हाल बाख्रा व्यवसाय भने छोडिसक्नु भएको छ । वडाध्यक्ष भइसकेपछि अरु काममा धेरै लाग्नु पर्ने भएकाले बाख्रा पालनलाई निरन्तरता दिन नसकिएको उहाँले बताउनुभयो । व्यवसायिक अलैंची उत्पादनमा भने उहाँ निरन्तर लागिरहनु भएको छ ।
सिचाईँमा पाइला चाल्दै
बल्लेखोला, सिन्तुवाङ सिचाई योजना निर्माण भएको छ । भेडाखर्क सिचाई योजना निर्माणको काम सम्पन्न भएको छ । माथिगाउँ, भोटे मुल सिचाई योजनाको मर्मत कार्य गरिएको छ । यसबाट सिंचित हुने खेतबारी बढेका छन् । सर्वसाधारणले उत्पादन बढाएका छन् । यी तीन आर्थिक बर्षमा यी काम भएका हुन् भने चालु आर्थिक वर्षमा सिचाईका थप काम हुनेछन् ।
प्राथमिकतामा कृषि क्षेत्र
वडाको प्राथमिकताको क्षेत्र कृषि पनि हो । कृषि मार्फत उत्पादन, आम्दानी र रोजगार स्वरोजगार बनाउन सकिने विश्वास वडा कार्यालयको छ । यसैले वडामा विशेष प्राथमिकताका साथ कृषिको काम भइरहेको छ । वडाको सबै क्षेत्रको माटो परीक्षण भइसकेको छ । वडाको भूगोल समुन्द्री सतहबाट १२ सय देखि २६ सय मिटरको उचाई सम्म छ । यसैले यहाँ माटो, भूगोल अनुसार खेतीपाती लगाउने, फलफूलका विरुवा रोप्न थालिएको छ । व्यवसायिक उत्पादनका लागि वडा कार्यालयले अदुवा, लसुन, बेसार र आलुको बीउ वितरण गर्ने गर्दछ । वडामा अलैंचीको विशेष उत्पादन हुन्छ । यसैले वडाका कृषकलाई व्यवसायिक बनाउन ५० हजार अलैंचीका विरुवा वितरण गरिएको छ । सुन्तला, कागती र अनारका ५ हजार विरुवा वडाका विभिन्न क्षेत्रमा लगाइएको छ । दुई हजार पाँच सय दाँते ओखरका विरुवा किसानको बारी तथा सार्वजनिक ठाउँमा लगाइएको छ । किसान प्रोत्साहनका लागि ४ जना उत्कृष्ठ कृषक छनौट गरी सम्मान तथा पुरस्कृत गरिएको छ । तरकारी तथा फलफूल उत्पादनका लागि ५० जना कृषकलाई तालिम दिइएको छ । यसबाट खेतीपाती सप्रन थालेको छ । यसका साथै वडाले हरेक सिजनमा मकै, गहुँ, नगदे बालीहरुको बीउ विजन पनि वितरण गरिरहेको छ ।
पशुपालनमा व्यवसायिकता
व्यवसायिक पशु पालनका लागि वडाले विभिन्न प्रर्वद्धनात्मक कार्यक्रम गरिरहेको छ । प्रत्यक्ष किसानले लाभ लिने गरी नै कार्यक्रम भइरहेको वडाध्यक्ष ओलीले बताउनुभयो । नश्ल सुधार अन्तर्गत बोका वितरण, गाई, भैंसी, भेडा, बाख्रामा कृतिम गर्भाधारण, किसानले बुटवलमा खरिद गरेका गाईको ढुवानी भाडा पनि वडा कार्यालयले व्यहोरेको थियो । वडामा १३ जना किसानले बुटवलबाट विकसित गाई ल्याएर व्यवसायिक पालन थालेका छन् । वडाका विभिन्न टोलमा निःशुल्क औषधी वितरण, भ्याक्सिनेशन, बोयर बोक वितरण तथा बाख्रा प्रवद्र्धन कार्यक्रममा पनि वडाले लगानी गरेको छ ।
सबैतिर विद्युतिकरण
वडामा ५ सय ५२ उपभोक्ता छन् । ५ प्रतिशत बाहेक वडाका सम्पूर्ण घरमा विद्युतिकरण भएको छ । स्थानीय स्तरमा उत्पादित विद्युतबाटै वडामा विद्युतिकरणको काम सम्पन्न भएको हो । बाँकी ५ प्रतिशत घरमा पनि विद्युतिकरणको काम चिलरहेको छ । पोल पुगेका छन् । पोल गाड्ने तथा तार तान्ने काम भइरहेकाले अबको केही समयै बाँकी ५ प्रतिशत घरमा पनि विद्युतिकरण भइसक्ने वडाध्यक्ष ओलीले बताउनुभयो । विद्युत निर्माणका लागि वडाबासी प्रत्येकले १५ हजार लगानी गरेका छन् भने श्रमदान समेत गरेका छन् । वडा कार्यालयले दिव्यचच्छु माविमा २ किलोवाट क्षेमताको सोलार सिस्टम पनि जडान गरेको छ ।
खोलामा अब सर्वसाधारण नरोकिने
एक गाउँबाट अर्को गाउँ जान खोलानाला तर्नुपर्छ । विशेष गरी यी खोलानालाले सर्वसाधारणलाई रोक्छन् । यसको अन्त्यका लागि वडाले विभिन्न ठाउँमा ट्रस पुल निर्माण गरेको छ । कतै निर्माणको काम भइरहेको छ । दोमै खोलामा पुल निर्माण भएको छ भने भेडाखर्क र डिग्रेवाङमा पुल निर्माणको काम जारी छ । यी दुवै खोलामा निर्माणधिन ट्रस पुल चालु आर्थिक वर्षमा निर्माण भइसक्ने मध्यका योजना भएको वडा कार्यालयले जनाएको छ ।
नयाँ भवनबाट स्वास्थ्य सेवा प्रवाह
वडा कार्यालयले अब नयाँ भवनबाट स्वास्थ्य सेवा प्रवाहको तयारी गरेको छ । आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण गरी त्यसैबाट वडाबासीलाई स्वास्थ्य सेवा प्रवाह हुने भएको हो । स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवन निर्माणको सबै काम पूरा भएको छ । फिनिसिङको काम पछि सोही भवनबाट स्वास्थ्य सेवा प्रवाह हुने जनाइएको छ । यस अघि पूरानो र कच्चिघरबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको थियो । यसका साथै वडा कार्यालयले गाउँघर क्लिनिकको भवन निर्माण गरेको छ ।
कोरोना भाइरस महामारी नियन्त्रण रोकथाममा पनि वडा कार्यालय क्रियाशिल रहदै आएको छ । सुरुमा हरेक घरमा २ वटा हातधुने साबुन, प्रत्येक नागकिरलाई मास्क वितरण गरिएको थियो । होम क्वारेन्टाइन व्यवस्थित गरिएको छ । वडा कार्यालय, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी परिचालन गरी जनचेतनामूलक कार्यक्रम पनि भइरहेका छन् ।
‘सडक पुगेको छ, बत्ति पुगेको छ, विद्यालय भवन बनेका छन् तर स्थानीय जनताले त्यसको महशुस गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यस्तो महशुस गराउन अब सबैलाई अर्थोपार्जनमा जोड्नैपर्छ ।’
वन वातावरणमा पनि ध्यान
वडाले वन वतावरणमा पनि ध्यान दिएको छ । विपद् न्युनिकरण र रोकथाममा पनि वडामा विभिन्न काम हुने गरेका छन् । वनको नर्सरी स्थापना, डालेघाँसको विरुवा वितरण, वनजंगल संरक्षण र व्यवस्थापनका कडाई गरिएको छ । नीति निर्माण गरेर वनजंगल संरक्षणको काम भइरहेको वडाध्यक्ष ओलीले बताउनुभयो । विपद् न्युनिकरण अन्तर्गत चट्याङ रोक्ने उपकरण जडान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले यस वडामा बढी चट्याङ पर्ने आंकलन गरेको छ । रुकुम पश्चिममा धेरै पानी पर्ने क्षेत्र दावी गरिएकाले बाढी,पहिरो रोकथामका लागि सर्तकता र तयारी गरिएको छ । तारजाली वितरण, दीर्घ रोगी तथा प्रकोपबाट पीडितलाई सहायता प्रदान पनि वडा कार्यालयले गरिरहेको छ ।
आशा परियोजना मार्फतको विकास
पहाडी साना किसानका लागि अनुकुलन आयोजना आशा परियोजनाले पनि यस वडामा विभिन्न काम गर्दै आएको छ । भौतिक पूर्वाधार निर्माण, आयआर्जन तथा अरुमा पनि आशाले लगानी गरिरहेको छ । तीन आर्थिक वर्षका लागि आशाले यस वडामा ८९ लाख रुपैयाँ परिचालन गरिरहेको छ । सिन्तुवाङ खानेपानी योजना निर्माण, फूलिका खानेपानी योजना निर्माण र काफलगैरा खानेपानी योजना निर्माण यसै आशा परियोजनाबाट भएको हो । एक सय २३ घरमा भकारो सुधार कार्यक्रम सम्पन्न भइसकेको छ । यसै बजेटबाट यो वडामा चालु आर्थिक वर्षमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । ९५ घर परिवार आयआर्जनका लागि छनौट भएका छन् । भकारो सुधार, तरकारी खेतीका लागि टनेल निर्माण लगायतका योजनामा यी घरपरिवार छनौट भएका हुन् । खर्कमुहान, कुवापानी र बोक्सिथला गरी तीन वटा खानेपानी योजना पनि यही आर्थिक वर्षमा निर्माण हुदैछन् । त्यसको तयारी भइसकेको वडाध्यक्ष ओलीले जानकारी दिनुभयो । यसको साथै यस वडामा बहु क्षेत्रीय पोषण कार्यक्रम, चौरजहारी सामुदायिक अस्पताल लगायतले पनि विभिन्न काम गर्दै आएका छन् ।
आफै व्यवसायिक किसान
वडाध्यक्ष ओली आफै व्यवसायिक किसान हुनुहुन्छ । जनयुद्धपछिको शान्ति स्थापनापछि पनि लामो समय पार्टी कामको लागि जिल्ला बाहिर रहनु भएका ओली २०६७ सालमा मात्रै गाउँ आउनु भएको थियो । त्यसपछिको अवस्था विश्लेषण पश्चात उहाँ व्यवसायिक कृषि उत्पादनमा लाग्नुभयो । बाख्राको व्यवसायिक पालन र अलैंची खेतीलाई व्यवसायको रुपमा अंगाल्नु भएका उहाँले हाल बाख्रा व्यवसाय भने छोडिसक्नु भएको छ । वडाध्यक्ष भइसकेपछि अरु काममा धेरै लाग्नु पर्ने भएकाले बाख्रा पालनलाई निरन्तरता दिन नसकिएको उहाँले बताउनुभयो । व्यवसायिक अलैंची उत्पादनमा भने उहाँ निरन्तर लागिरहनु भएको छ । हरेक वर्ष एक/दुई क्वुइन्टल अलैंची उत्पादन गर्ने किसानमा उहाँ पनि पर्नुहुन्छ । आफ्नो गाउँमा सुरुमै अलैंचीको व्यवसायिक उत्पादन थालेका ओलीले पछि आफ्नो टोललाई समेत यही बाटोमा डो¥याउनु भएको छ । पछिल्लो समय केही किसानले उहाँ भन्दा बढी नै उत्पादन गर्न थालेका छन् । यसप्रति वडाध्यक्ष ओली खुसी हुनुहुन्छ । ‘सुरुवात गरें र अरुलाई पनि गर्न लाएँ, गर्दै जाँदा राम्रो गर्नेहरु पनि हुनुुहुन्छ, यसमा खुसी लाग्छ,’ वडाध्यक्ष ओलीले भन्नुभयो । उहाँले ८ सय बढी अलैंची लगाउनु भएको छ र त्यसैबाट आम्दानी पनि भइरहेको छ ।
अभिभावकको बोझ हटाउँदा आनन्द
त्रिवेणि गाउँपालिकाभरका अभिभावकमा ठूलो बोझ थियो । विद्यालय सञ्चालनका लागि हरेक महिना, वर्षमा आर्थिक व्ययभार बोक्नुपर्ने । निजि स्रोतबाट शिक्षक भर्ना गर्ने र त्यसको सोधभर्नाको स्रोत अभिभावकलाई बनाउने चलन बसिसकेको थियो । विद्यालयहरु पनि बाध्यतामा थिए । विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी थिएनन् । नयाँ शिक्षक भर्ना गर्दा अरु स्रोत नभएका विद्यालयहरु अभिभावकमा भर पर्नु पर्ने बाध्यता थियो । त्रिवेणि गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका ओलीको मुख्य एजेण्डा यो बोझबाट अभिभावकलाई छुटकारा दिनु थियो । त्यसमा उहाँ सफल पनि हुनु भयो । गाउँपालिका, गाउँ कार्यपालिकाले पनि यसमा लागेर अभिभावकले पैसा तिरेर शिक्षक व्यहोर्नुपर्ने अवस्था छैन । यो मुद्दा जोडतोडका साथ उठाइएपछि गाउँपालिकाले दश वटै वडाका विद्यालयमा करारमा शिक्षक नियुक्त गरेर अभिभावकको समस्या हटाइदियो । गाउँपालिकाले १ सय २७ जना शिक्षक करारमा नियुक्त गरेको छ । यसबाट लामो समयदेखि व्यहोर्दै आएको आर्थिक बोझबाट अभिभावकले छुटकरा पाएका छन् । शिक्षाको जिम्मेवारी सरकार आफैले लिएको छ । यसमा गाउँपालिकाले महत्वपूर्ण काम गरेको ओलीलाई लागेको छ । दरबन्दी विहिन विद्यालय करार नै भएपनि शिक्षक सहितका छन् । कुनै विद्यालय शिक्षक अभावमा समस्यामा जेलिएका छैनन् ।
अबको जोड आर्थिक उत्पादन र रोजगार स्वरोजगार
तीन आर्थिक वर्ष पूरा गरिसक्दा वडाध्यक्ष ओलीको एउटा निष्कर्ष छ । अब हरेक मानिसलाई रोजगार, स्वरोजगारमा जोड्ने वा आम्दानीका स्रोत हुने व्यवसायमा लगाउने । यसपछि मात्रै सर्वसाधारणले सरकार घरआँगनमा आएको महशुस गर्ने भनाई वडाध्यक्ष ओलीको छ । ‘सडक पुगेको छ, बत्ति पुगेको छ, विद्यालय भवन बनेका छन् तर स्थानीय जनताले त्यसको महशुस गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यस्तो महशुस गराउन अब सबैलाई अर्थोपार्जनमा जोड्नैपर्छ ।’ सबैलाई व्यवसायिक उत्पादनमा जोड्नुपर्छ । त्यसपछि उत्पादन भएको उत्पादन बजारमा विक्री हुने वातावरण नबनेपछि त्यसको लागत मूल्य सरकारले दिनुपर्ने भनाई वडाध्यक्ष ओलीले बताउनुभयो । यो अवधारणाबाट अघि बढ्न सकेपछि मात्रै विकास र समृद्धि सजिलै आउने उहाँले बताउनुभयो । बजारका लागि सरकारले पहल गर्नुपर्ने कुनै पनि हालतमा बजार नपाएपछि त्यसको लागत मूल्य पाइने भएपछि कुनै पनि किसान निर्वाहमूखि व्यसायमा मात्रै सीमित नहुने बुझाई वडाध्यक्ष ओलीको छ ।
समस्या समाधानका प्रयास हुन्नन्
काम गर्ने क्रममा थुप्रै समस्यामा जेलिनुपर्ने अवस्था छ । समयमै प्रक्रिया नथालिँदा बजेट फ्रिज हुने, गर्नुपर्ने काम गर्न नसकिने समस्या बग्रेल्ती छन् । त्यसको महशुस सबैतिर छ । आर्थिक बर्षको अन्त्यतिर अख्तियारी आउनु, ठूला कामको टण्डरमा ढिलाढाला हुनुले धेरै काम पछि धकेलिएको अनुभव उहाँसँग छ । यसैले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने, समयमै अख्तियारी र निकासा दिनुपर्ने व्यवस्था गरेर त्यसलाई कडाई गर्न सकेपछि मात्रै पनि धेरै गर्न सकिने भनाई उहाँको छ । कर्मचारी र जनप्रतिनिबिचको तालमेलले पनि विकास निर्माणलाई अघि बढाउने वा पछि धकेल्ने गरेको छ । यसमा दुवै पक्षले एक अर्कामा समन्वय गरेर जाँदा विकासलाई द्रुत बनाउन सकिने, जनतालाई परिवर्तणको महशुस गराउन सकिने वडाध्यक्ष ओलीले बताउनुभयो ।