जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले स्थानीय तह उप निर्वाचनका लागि कर्मचारी खटाएको छ । मंसिर १६ गते हुने पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगि खटाएको हो । पालिकाका २५ मतदान केन्द्रका लागि १ सय २५ जना कर्मचारी खटाइएको निमित्त जिल्ला निर्वाचन अधिकारी बलबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक मतदान केन्द्रमा ५ जनाका दरले कर्मचारी खटाइएको छ । केही दिनमा कर्मचारी सम्बन्धित मतदान केन्द्र पुग्नेछन् । पालिकाका १४ वडामा २२ मतदान स्थल छन् भने २५ मतदान केन्द्र कायम गरिएको छ ।
१ नम्बर वडाको पुथा हिमालय मावि मतदान केन्द्रमा थलबहादुर बस्नेत, २ नम्बर वडाको हर्दिबाङ मतदान केन्द्रमा उपेन्द्र यादव र सोही वडाको पेल्मा मतदान केन्द्रमा देविलाल विक मतदान अधिकृत तोकिएका छन् । ३ नम्बर वडाको आधारभुत विद्यालय रन्मामैकोटमा खिमबहादुर रोकाय, ४ नम्बर वडाको दिपज्योति आधारभुत विद्यालय अर्जलमा देवराज सञ्जेल, ५ नम्बर वडाको जनता आधारभुत विद्यालय काजरजंग मतदान केन्द्रमा देवेन्द्र पौडेललाई मतदान अधिकृतका रुपमा खटाइएको छ ।
५ नम्बर वडाकै देउराली मावि हुकामको प्रावि भवन केन्द्रमा हिरामणि गौतम, ६ नम्बर वडाको जनजागृति आधारभुत विद्यालय मयाङमा यज्ञकुमार पोखरेल, ७ नम्बर वडाको जनज्योती मावि जाङमा तिलक गौतम, सोही वडाको सानीभेरी आधारभुत विद्यालय खारखोलामा मंगलसिङ बुढालाई मतदान अधिकृत तोकिएको छ ।
८ नम्बर वडाको जनसहयोग मावि रिवाङचौर केन्द्रमा समिर गिरी, ९ नम्बर वडाको आदर्श मावि खारबाङमा रविन्द्र बुढाक्षेत्रीलाई मतदान अधिकृतका रुपमा खटाइएको छ । पालिकाको केन्द्र रहेको १० नम्बर वडा स्थित महेन्द्र मावि तकसेराको क मतदान केन्द्रमा मिनबहादुर केसी, ख केन्द्रमा श्रीधर अधिकारी तथा सोही वडाको आधारभुत विद्यालय घुम्लिबाङमा धनबहादुर केसीलाई मतदान अधिकृतको रुपमा खटाइएको छ ।
११ नम्बर वडाको उत्तरगंगा आधारभुत विद्यालय सेराबालुवामा गणेशबहादुर खड्का, ११ नम्बरकै जनजागृति आधारभुत विद्यालय दमचन केन्द्रमा ललितकुमार ओलीलाई मतदान अधिकृतको रुपमा खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
१२ नम्बर वडाको पर्वत मावि कोल क केन्द्रमा रेवतबहादुर बुढाथोकी र ख केन्द्रमा मदनप्रसाद साहलाई मतदान अधिकृत तोकिएको छ । १३ नम्बर वडाको जनजागृति आधारभुत विद्यालय पिपलटुङ मतदान केन्द्रमा ध्रुव विक, १४ नम्बर वडाको सिद्वमण्डली मावि राङ्सी क केन्द्रमा राधाकृष्ण रिजाल र ख मतदान केन्द्रमा ओविराम खड्का मतदान अधिकृतका रुपमा खटाइएका छन् ।
२०७९ वैशाख ३० भएको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष भूपेन्द्रा बुढाको गाडी दुर्घटनामा परी निधन भएपछि यहाँ उप निर्वाचन हुन लागेको हो । गत भदौ २८ गते बाग्लुङमा भएको गाडी दुर्घटनामा परी उपाध्यक्ष बुढा सहित २ नम्बर वडाध्यक्ष जसबहादुर शेर्पाली, उपाध्यक्षकी आमा गोपीमाया बुढाको निधन भएको थियो । उपाध्यक्षको निधनपछि हुन लागेको उप निर्वाचनमा दुई जनाबीच प्रतिसप्रधा हुँदैछ ।
माओवादी केन्द्रकी नरपुरा बुढा र कांग्रेसको चुनाव लिएकी एमालेकी केशकुमारी तुलाचन चुनावी मैदानमा छन् । २ नम्बर वडाध्यक्षमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भैसकेका छन् । उप निर्वाचनमा मताधिकार प्रयोग गर्न गाउँपालिकाभर ११ हजार १ सय ८० मतदाता छन् ।