Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ५ मा काँग्रेसलाई विरासत जोगाउने चुनौती, माओवादीलाई बदला लिने अवसर 

मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा दलहरू चुनावी दौडधुपमा रहेका छन् । यस वडाको अध्यक्षका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टीबाट नेपाली काँग्रेसका मोतीराम खत्री र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीबाट माओवादी केन्द्रका जसीराम बस्नेत चुनावी मैदानमा हुनुहुन्छ । 

जिल्लामा यही एउटा वडामा मात्र उपचुनाव भएकोले सबै दलका शीर्ष नेतृत्व नै वडाध्यक्षको चुनावमा केन्द्रित भएका छन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यस वडामा नेपाली काँग्रेसका अलबहादुर खत्री निर्वाचित हुनुभएको थियो । उहाँको निधन भएपछि उपचुनाव हुन लागेको हो । काँग्रेस उपचुनावमा पनि जित हासिल गर्ने गरी कस्सिएको छ । सहानुभूतिको मत तान्न काँग्रेसले स्वर्गीय वडाध्यक्ष अलबहादुर खत्रीका सहोदर भाइ मोतीराम खत्रीलाई उम्मेदवार बनाएको छ । 

लामो समय देखि शिक्षण पेसामा रहनुभएका मोतीरामले उपचुनावकै लागि शिक्षकको जागिर छाड्नुभएको छ । दाइको सपना पूरा गर्न र दाइले सुरु गरेका विकास निर्माणलाई सम्पन्न गर्न आफ्नो उम्मेदवारी रहेको मोतीरामको भनाई छ । आफूले चुनाव जित्नेमा ढुक्क रहेको उहाँको भनाई छ । नेपाली काँग्रेसको सिङ्गो जिल्ला शक्ति नै चुनावमा होमिएको छ । जितेको ठाउँ नगुमाउने गरी नेता कार्यकर्ताहरू चुनावमा होमिएका छन् । 

गत चुनावमा समेत काँग्रेस, एमाले र नेसपाले माओवादी विरुद्ध गठबन्धन गरेका थिए । उक्त चुनावमा २८ मतको झिनो अन्तरले काँग्रेसका उम्मेदवार विजयी बनेका थिए । उक्त हारको बदला उपचुनावमा लिने दाउ माओवादीको छ । गत चुनावमा भएका कमजोरीलाई सुधार गरी यो चुनावमा जित हासिल गर्ने योजना माओवादीको छ । 

माओवादीले उपचुनावमा २०७४ सालका वडा सदस्य जसीराम बस्नेतलाई उम्मेदवार बनाएको छ । बस्नेत पनि आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नुहुन्छ । गत निर्वाचनमा भएका कमजोरीलाई उपनिर्वाचनमा सच्याएर जीत हासिल गर्ने उहाँले बताउनुभयो । माओवादीले पनि उपचुनावमा सबै शक्ति लगाएको छ । पार्टीको जिल्ला शक्ति नै सानीभेरीमा केन्द्रित भएको छ । 

नेताहरूको दौडधुप सानीभेरी ५ मा रहेको छ । विशेष गरी माओवादी र काँग्रेसले उपचुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् भने फेरिएको अवस्थामा शक्ति जाँच्ने अवसरका रूपमा समेत हेरेका छन् । सानीभेरीमा काँग्रेसलाई जितको विरासत जोगाउने चुनौती छ भने माओवादीलाई हारको बदला लिने अवसर रहेको छ । 

यस्तो थियो २०७९ को मत परिणाम 
२०७९ मा भएको निर्वाचनमा गठबन्धन र माओवादीका उम्मेदवार बिचको मतान्तर २८ थियो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अलबहादुर खत्री ४ सय ६२ मत पाएर निर्वाचित हुनुभएको थियो । निकटतम तथा एक मात्र प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४ सय ३४ मत पाउनुभएको थियो । उक्त चुनावका लागि वडामा मतदाता सङ्ख्या १२ सय ५७ रहेको थियो ।

Sanibheri-5-mat-1732614499.jpg
गत निर्वाचनकाे मत परिणामकाे अवस्था । स्राेतः निर्वाचन आयाेग ।

अहिले भने मतदाता सङ्ख्या बढेको छ । आगामी मङ्सिर १६ गते हुन लागेको उप चुनावका लागि वडामा १४ सय ४६ जना मतदाता रहेका छन् । गत चुनावमा कडा टक्कर भएकोमा यो चुनावमा पनि सोही अनुसारको टक्कर हुने देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update