मगा
एक्कबहादुर केसी, मनलाल ओली, खगेश्वर भण्डारी र मैले चित्रिपाटन टेकीछाड्ने उद्देश्यका साथ हिजै मुसीकोटबाट मोटरयात्रा तथा पैदलयात्रा गर्दै मगासम्म आइपुगेका थियौँ । तलै छोडेको गोतामकोट अझै आँखामा नाचिरहेको थियो । मगाका रुपे भण्डारीको घरमा बास बसेर भोलिपल्टका विभिन्न योजना बनाउँदै राति अबेर मात्र सुत्यौँ ।
बिहान ठीक चारबजे मेरा आँखा झङ्लङ्ङ ब्युँतिए । यात्रामा मलाई कहिल्यै घडीको अलार्म चाहिएन । जति बजे उठ्ने योजना बनायो, त्यति बजे आँखा खुलिहाल्छन् । शरीर थाकेर जतिसुकै लट्ट परे पनि मस्तिष्क थाक्दो रहेनछ ।
साथीहरूलाई बिहानै डिष्टर्ब नगरौँ भनेर मैले पहिले घरबेटी रुपे भण्डारीलाई उठाएँ । उनले आफ्नी बुहारीलाई उठाए । बुहारी उठ्नेबित्तिकै २ वर्षे जाइन कोलाहल छोड्दै उठ्यो । त्यसपछि मात्र भण्डारीका कुखुराहरू उठेर भाका मिलाउँदै पालैपालो कुखुरी काँ गाउन थाले । एकैछिनमा भान्छाघरबाट धुवाँको मुस्लो उठेर हामी सुतिरहेकै कोठामा आइपुग्यो र साथीहरूको आँखा कुतकुत्याउन थाल्यो । साथीहरू आँखा मिच्दै यताउता चलमलाउन थाले ।
म बाठो हुँदै नास्ता खान भान्छाकोठामा पुगेँ । गंगा बुहारीले छोरो काखमा च्यापेरै मकैका रोटी थेच्दै थिइन् । भण्डारीजी जन्मेदेखिको बल लगाएर ठेउलाले आगो फुक्न व्यस्त थिए । दाउरा अलि चिसा कट्मेरा रहेछन् फलस्वरूप रोटी पकाउन पठाएको रिस बेस्मारी धुवाँ छोडेर पोखिरहेका थिए । प्रतीक्षा र परिश्रमको फलस्वरुप बल्ल एउटा रोटी पाक्यो । मैले आलुको झोलिलो तिहुनमा डोब्दै मकैका ताततातो नरमनरम रोटी खान थालेँ । एउटा रोटी तीन÷चार गासमा फुत्लुक्कै घाँटीबाट छिरिहाल्यो । रोटी यति मिठो लाग्यो कि एकैपटक ६ वटै रोटी निलिदिऊँ । भन्नेबित्तिकै पाकेको भए त त्यो पनि असम्भव थिएन, तर चिसा दाउरा नै इच्छाका अवरोध बनिदिए । रोटी पर्खिरहँदा यहीँ घाम चर्कने सम्भावना देखियो । अर्को रोटी नपाक्दै एक्कबहादुर भान्छामा आइपुग्नुभयो । दोस्रो रोटी उहाँकै भागमा प¥यो । तेस्रो रोटी मैले फुत्क्याएँ । चौथो रोटी एक्कबहादुरको भागमा नपर्दै बाहिर मिर्मिरे उज्यालो भइहाल्यो । उहाँले अर्को रोटी थप्ने कोशिस गर्दै हुनुहुन्थ्यो, मैले उहाँलाई तान्दै अत्याएँ, ’मनलाल र खगेश्वरले खान बाँकी नै छ, पाकेका जति हामीले नै खाइदिने हो भने उनीहरूलाई पकाउन ढिला हुन्छ । बाँकी रोटी उनीहरूकै भाग छोडिदिऊँ । बरू हामी बाटा लागिहालौँ । हामी बाटा लागे उनीहरू पनि आत्तिन्छन् ।’
यति भनेर म भान्छाबाट बाहिर निस्किएर बास बसेको कोठामा पुगेर मनलाल तथा खगेश्वरलाई घचघच्याउँदै भनेँ, ’तपाईँहरू आउँदै गर्नुहोला, हामी त हिँड्दै गर्छौँ । पर्खँदा तपाईँहरूलाई भेट्टाउन मलाई यसै मुस्किल पर्छ ।’ उहाँहरूले पनि, ’जाँदै गर्नुहोस् न त !’ भनेर सहजै अनुमति दिनुभयो । पेटले माग्दामाग्दै मिठा रोटी छोडेर निस्कनुपर्दा एक्कबहादुर घोर पश्चात्तापमा पर्नुभएको थियो ।
मैले झाँक्रीले आलामाल भिरेझैँ झोला पिठ्यूँमा फालेँ र बार्दलीमा आएर आकाशतिर हेरेँ । दुईचार छिटा बादलबाहेक मौसम सफा नै थियो । झिसमिसे उज्यालो हुनै थालेको थियो । ब्यानताराले पश्चिमको डाँडाबाट ’शुभयात्रा छ है !’ भन्दै चमचम चम्कियो । बिहानको ठीक साढे पाँच बजेको थियो । मनले कौतुहलको पङ्खा फननन घुमाउँदै जमिन छोड्यो । आकाशिन थालेको मनले शरीरलाई जुरुक्क उचाल्यो ।
एक्कबहादुर र मैले चित्रिपाटनको यात्राको पहिलो पाइलो एकैचोटि चाल्यौँ । करेसामा पुगेपछि एक्कबहादुरले लठ्ठी खोज्न थाल्नुभयो । म भने भुइँमा पाइला टेकिएकै छैनन् झैँ त्यहाँबाट उडान भर्दै एकैचोटि मगाको तल्लो डाँडामा पुगेँ । यतिखेरसम्म झलमल्ल उज्यालो भैसकेको थियो । मगाको गाउँ बिहानी उज्यालोमा झनै मदमस्त देखियो । पारिपट्टि गैरीपातलमा स्याउ तथा किबीको बाक्लै खेती देखियो । स्याउका भर्खरै फुल्दै गरेका सेताम्य फूलहरूले गैरीपातल नै हिउँले ढाकिएको झझल्को दिन्थे । रातो माटो तथा कमेरोले पोतिएका झुप्प परेका सुन्दर ढुङ्गेछाने घरहरू दहगाउँ, थापागाउँ, टोटमाँझ आदि चारैतिरका भूभागमा प्रस्टिए । मनले डाँडाकाँडा चक्कर मार्न थाल्यो । माथितिर नजर उठाएँ । चित्रिपाटनको अलिकति शिरभाग त यही डाँडाबाट पो देखिँदो रहेछ । सामुन्नेको लेकको पछाडि लुकेर चित्रिपाटनले हिउँको टोपी ढल्काउँदै, ’आइजा, आइजा !’ भनेर हाँक दिएझैँ लाग्यो । हेर्दा उति टाढा देखिएन । मन चङ्गा बनेर फिरफिराउन थाल्यो । कौतुहलताका पङखा झनै मच्चीमच्ची रिङ्न थाले ।
एक्कबहादुरले करेसामा गतिलो लठ्ठी भेट्टाएनछन् । मगाको डाँडातक आइपुगेपछि लठ्ठी खोज्छु भन्दै फेरि उँधोतिर झरे । मनलाल र खगेश्वर बास बसेको घरबाट निस्किएकै थिएनन् । समय कटाउने हिसाबले म एक्लै डाँडाको धारबाट उकालो उक्लिएँ । थोरै माथि भर्खरै खनेको सडकबाटो भेटियो । म सडक काटेर अझै माथि उक्लिएँ । माथिपट्टि घना जङ्गल थियो । म बिस्तारै जङ्गलको भित्रभित्र पस्दै गएँ । जङ्गलको भित्रपट्टि थुप्रिएको अँध्यारोलाई मगामा फैलिसकेको उज्यालोले बढार्न सकेको थिएन । मनले जोखिम कल्पियोः ’एक्लै छु, बाघ वा भालु आएर च्याप्प समात्यो भने ?’ मन ढक्क फुल्यो । कौतुहलताको पङ्खा घुम्न छोडेपछि गोडा पनि टक्क रोकिए ।
म बिस्तारै पछिपछि सर्दै गाउँ देखिने भागसम्म आइपुगेँ । तल हामी बासबसेको घर पनि देखियो । केही पुरुष आकृतिहरू घरमै मौरीझैँ घुमिरहेका थिए । उनीहरूको बाटालाग्ने सुरसार नै देखिएन । एक्कबहादुरले लठ्ठी फेला पारेछन्, डाँडामा आएर थुचुक्क बसीकन हाँगाबिँगा भाँचकुच पार्न थाले ।
'जाम् भो ससुराज्यू, दुईजना छँदै छौँ, हल्लाखल्ला मच्चाउँदै जाऊँ । उनीहरू आउँदै गर्छन् ।’ मैले एक्कबहादुरलाई कर गरेँ ।
'के एक्लै गैजाने हो तो ज्वाइँसाप् ? एक्लै ता अलि कर्रो परिजालाए । नचिन्याउ बाटो नजाऊँ कि ? अब ता आइजालान्ए बगाल पनि ।’ उनले मेरो प्रस्ताव स्वीकार पनि गरेनन् र ठाडै अस्वीकार पनि गर्न सकेनन् । कुरा गर्दागर्दै हामी अलिकति माथि उक्लियौँ ।
'भो योभन्दा माथि नजाऊँ ज्वाइँसाप् ! बाटो अर्को पो छ कि ? बरू उनीहरू निस्किएको देखिने ठाउँमा पर्खिएर बसौँ ।’ भन्दै एक्कबहादुर फरक्क फर्केर बिप्पेपाइला सार्दै आएकै बाटो झर्न थाले । म उनलाई हेरेको हेरेइ भएँ ।
अँध्यारै बाटालाग्ने भनेको वरिपरिका चुचुराहरुमा घामले पाइला हालुन्जेल यात्रा सुरु भएन । पौने सात बजेतिर पुरुष आकृतिहरू बासबसेको घरबाट लहरै लागेर बाटोमा निस्किएको देखियो । म केही माथि के पुगेको थिएँ एक्कबहादुरले मलाई बोलाए, ’ओए, ज्वाइँसाप्, बाटो त्यता रैनछ, छिट्टै तल झर्नोस् । तलतिर ! बगाल ता तलतली पारिको डाँडामा पुगिसके ।’
मैले फर्किएर तलतिर हेरेँ । नभन्दै उनीहरू तलपट्टिको अर्र्को बाटोमा लम्किरहेका थिए । रुपे भण्डारी अघिअघि टाङहाल्दै थिए । उनलाई भेट्टाउने मनलालले प्रयास गरिरहेका थिए । खगेश्वर अलि पछि नै थिए र एक्कबहादुर बाटोमा झरिसकेर खगेश्वरलाई भेट्टाउने प्रयत्न गर्दै थिए । उनीहरूले म्याराथुन धावकझैँ तेर्पायाँ बाटोमा लामालामा छलाङ मार्दै थिए । बक्क परेर हेरिरहेको मसँगको दुरी बढ्दै जाँदा उनीहरूको आकृति मसिनिँदै थियो। यिनीहरूले मलाई पक्का छोड्ने नै भए भनी म आत्तिएँ ।
पहिले उक्लिएको बाटो फर्किँदा झनै ढिला हुने अनुमान गरेर म जङ्गलै जङ्गलको अबाटोबाट तेर्सो लागेँ । रुखबाट सुकेर झरेका पतकर तथा सोत्तर–स्याउला चिप्लिएर तलतिर झर्नै दिएनन् । काँडेदार झ्यालाझ्याम्टाले तल झर्न झनै बिलम्ब गरिदिए । बल्लतल्ल उनीहरूले पार गरेको बाटो भेट्टाएपछि उनीहरू गएतिर हेरेँ । उनीहरू त पारिको डाँडोबाट पनि ओझेल परिसकेका थिए ।
डोप्केः
मैले मनको पङ्खा मन्द गरेर हातगोडालाई पङ्खा पारेँ र तेर्सोमा हामफाल्दै एकैछिनमा डोप्केको डाँडामा पुगेँ । उनीहरू कता पुगे भनी वारिपारि हेरेँ । अलिकति माथि जङ्गलको छेउमा उनीहरूले मलाई पर्खिरहेको देखेँ । रुपे भण्डारीले टुक्रुक्क बसेर दुई हातले सुल्फा समाती मुखबाट धुवाँको मुस्लो फालिरहेका थिए । मनलाल र एक्कबहादुर आम्नेसाम्ने भएर सुल्फाको धुवाँ उडाउन सकसकाएका जस्ता देखिन्थे । खगेश्वर अलिकति तलैको पाखामा उभिएरै एउटा खुट्टाको घुँडामा कुइनो अड्याएर अर्को हातले पसिना पुछ्दै थिए । मैले गति घटाउँदै उनीहरूको नजिकनजिक पुग्न सफल भएँ । श्वासप्रश्वास अत्यन्तै बढिरहेको थियो । जिउबाट पसिनाका धारा खलखली छुटिरहेका थिए ।
म उनीहरूको छेउमा पुगेर चार हातखुट्टा टेकी थ्याच्चै बसेँ र कुकुरलाई गर्मी चढेजस्तै हप्याक–हप्याक गर्न थालेँ । मेरो अवस्था देखेर रुपे मज्जाले हाँस्दै बोलेः ’दुईपाइला नचाल्दै यसरी थाके त चित्रिपाटन त धेरै परैको कुरा, यही आगाला धाराको जङ्गल पनि आज कट्न सकिँदैन ।’
‘पाँच बजे हिड्ने भनेको दुईघण्टा पछि सार्ने ? अनि अहिले पुग्न सकिँदैन भनेर भो त ? कसरी दुईपाइला मात्र भयो ? म अहिलेदेखि हो र तलमाथि गर्न थालेको ? यति ढिला गरेर के काम फत्ते पार्नुभयो ? तिर्थस्थलमा जाँदा त भोकै पो जान्छन् मान्छेहरू ।’ दौडानले तात्तिएकै थिएँ, म रन्किएँ ।
‘बिहानको नास्तापानी आफूले गरेर मात्र भएन । दिउँसो माथि खानलाई अर्नीपर्नी पाक्न दिनैपर्यो । रुपेदाइ गाई दुहुन थाल्नुभयो । झलमल्ल उज्यालो नभई गाईले दूधै दिँदो रहेनछ त हामी आत्तिएर मात्र के गर्ने ? उहाँलाई छोडेर पनि आउनुभएन ।’ मनलालले थामथुम पारे । कुरा असंगत थिएन ।
मेरो स्वाँस्वाँ रोकिएकै थिएन, रुपेले उर्दी फिराए, ’जाम्, जाम् । हामी त दुई बिसौनी मात्र बिसाएर चित्रिपाटन पुग्थ्यौँ । पाइलैपिच्छे बिसाउने हो भने कहिले पुगिएला र त्यहाँ ?’
मनलालले भनेः ‘उठ्नोस् भतिज । बिस्तारै बिस्तारै जाउँला । बरू तपाईँ अघि लाग्नुहोस् । हामी तपाईँको पछिपछि आउँला ।’
स्वाँस्वाँ नरोकिँदै म उठेपछि सबैजना उठे । अब ठाडो उकालो र बाक्लो जङ्गल एकैचोटि सुरू भएको थियो । जङ्गलमा निगालाबारी प्रशस्तै रहेछ । निगालाको अलावा गोब्रे सल्लाका झ्याउ लागेका बडेमानका रुखहरूको साथै फलाँट, खर्सु्, रयाँज, बाँझ, बुराँस आदि झ्याम्म परेका लेकाली रुखहरूले वन ढाकिएको थियो । कुराकै तालमा रुपे, मनलाल र एक्कबहादुर हामीलाई तलै छोडेर अगाडि लम्किहाले । खगेश्वर र म पछिपछि कनीकुथी उक्लिँदै थियौँ । जङ्गलको केही उकालो उक्लिएपछि फेरि बाटो तेर्पायाँ लाग्यो । यहाँ जङ्गल फाँडेर पाखेबारी बनाइएको रहेछ । छेउमै गाईवस्तुविहीन गोठ थियो । हामी गाईभैँसी चराउन लैजाने मुख्तोचाख्लो बाटोमै हिँडिरहेका थियौँ । बाटो तेर्छिँदा आँट बढ्थ्यो भने बाटो उक्लिँदा सातो जान्थ्यो । खगेश्वर पछिपछि परेको देखी मलाई हौसला मिल्दथ्यो । जतिसुकै यात्रा गरे पनि खगेश्वर दङाली नै हुन्, यिनी बराबर त म जसरी पनि हिँडिहाल्छु भन्ने लाग्थ्यो । म पनि यति लामो पैदलयात्रामा ननिस्किएको झन्डै २ वर्ष भैसकेकोले दङालीतुल्य भैसकेको थिएँ ।
बाटो चारपाँच पाइला तेर्सिएर फेरि उँभो ठाडियो । रुपे, मनलाल र एक्कबहादुर धेरै अगाडि पुगेर जङ्गलभित्र ओझेल परिसकेका थिए ।
आगाला धाराः
घरी खगेश्वर अगाडि त घरी म अगाडि हुँदै निरन्तर उक्लिरह्यौँ । मलाई फेरि स्वाँस्वाँ बढ्न थाल्यो । त्यही हालत खगेश्वरको पनि थियो । तर आफ्नो वास्तविक अवस्था लुकाउन खगेश्वरले मोबाइल तेस्र्याइहाल्थे । वारिपारि र तलतिरको फोटो लिएको बहाना पार्दै थकान मार्दथे । मैले पनि उनले फोटो खिचेको हेरेजस्तो गरेर थकाइ मार्ने बहाना बनाउँथेँ ।
’अलि छिटो आउनुहोस् । यो तालले त आज यही जङ्गलमा बास बस्नुपर्ने हुन्छ ।’ रुपेको आदेशात्मक आवाज जङ्गलभित्रबाट हामीसम्म आइपुग्यो । अलि माथि उक्लिएपछि थाहा भयो उनले लठ्ठी काटेर ताछ्दै रहेछन् । एक्कबहादुरले पहिलाको लठ्ठी फ्याँकेर अझै मोटो लठ्ठी छान्दै थिए । रुपेले सायद अर्को चिलिम कक्कड हामी आइपुग्नुपहिल्यै तन्काइसकेको हुनुपर्छ । उनको झोलामा हसिँया, कुटो र नाम्लोको समेत व्यवस्था रहेछ । हामी उनीहरूको छेउमा पुग्नेबित्तिकै हामीलाई एक–एकवटा बलिया लठ्ठी थमाइदिए ।
‘हामी त मगादेखि ३०० मिटरभन्दा बढी उचाइ चढिसक्यौँ होला !’ भन्दै खगेश्वरले मोबाइल एप खोलेर उचाइ चेक गरे, ’जम्मा २३०० मिटर माथि मात्र आइएछ ।’ उनको अनुहार बिग्रियो ।
मगाबाट १५० मिटर मात्र उक्लिएछौँ । मनलालले घडी चेक गरे ८ बजिसकेछ । मैले मनमनै हिसाब फाटेँः– चढ्नुपर्ने दुरी २००० मिटर । सवाएक घण्टामा १५० मिटर मात्र चढेको हिसाबले माथि पुग्न कम्तीमा १५ घण्टा लाग्नेछ ।
हिसाब फाँट्दा सातो गयो ।
‘प्राण फुत्किए पनि अब गति नबढाई सुक्खै छैन ।’ मनले अठोट ग¥यो, ’अब १०० मिटर उकालो नचढी विश्राम गर्दै गर्दिनँ ।’ जिउको सबै भार लठ्ठीमा पार्दै उकालो चढ्न थालेँ । खगेश्वरलाई फोटो खिच्न सहयोग गर्न थालेकोले मनलाल पनि पछि पर्न थालिसकेका थिए ।
जङ्गल जति गहिरिँदै जान्थ्यो, उति बाटो हराउँदै गएको थियो । मगा र गोतामकोट तलैबाट देखिन छोडिसकेका थिए । जङ्गल यति बाक्लो थियो कि दिउँसै पनि साँझ परेको जस्तो थियो । बीस पाइला पर के छ भन्नेसमेत देख्न सकिँदैनथ्यो । अनकन्टारबाट आएको झ्याउँकिरी र चराको नौलो स्वरले घरीघरी जङ्गलको नीरवता चिर्ने कोशिस गरिरहन्थ्यो । अब रुपे पनि अनुमानको भरमा मात्र अगुवा लागेको प्रष्ट थियो । कहाँ जाने भन्ने कुरा निश्चित भएपछि कसरी जाने भन्ने कुरा सजिलो भैहाल्दो रहेछ । उनका पाइला घरी बाटोमा त घरी अबाटोमा हुन्थे । उनले जहाँ पाइला टेक्थे, हामी पनि त्यहीँ टेक्थ्यौँ । बाटोमा झरेका पातपतिङ्गरहरू झन् झन् बाक्लिँदै गएका थिए । उक्लिएका पाइला पनि चिप्लिएर तलै झर्थे ।
रुपे र एक्कबहादुर निरन्तरको उक्लाइपछि अलिकति समथर ठाउँमा पुगेर विश्राम गरिरहेका रहेछन् । म पनि अविश्रान्त करिब सँगसँगैजसो पुगेँ । स्वाँस्वाँ त बढेकै थियो, तर सुरूको जस्तो सारोगारो परेको थिएन । सायद हातको लठ्ठीको कमाल थियो । खगेश्वरजी आइपुगेपछि समय र उचाइको जानकारी गराएः ‘हामी २४५० मिटरमाथि आइपुगेछौँ । समय पौने नौ भयो ।’
मगाबाट ल्याएका पानीका बोत्तलहरू रित्तिँदै गएका थिए । मुख भक्रक्कै सुकेकोले मैले रियल जुसको सहायताले जिब्रो भिजाइरहेको थिएँ । एकछिन विश्राम गरेर पुनः माथि उक्लँदै गयौँ । केही माथि बाक्लै स¥याकसुरूक सुनियो । कुनै वन्यजन्तु पो हो कि ? मन अलिकति खलबलियो । सबैका आँखाकान चनाखा देखिए ।
‘केही होइन । यहाँ घोरल, झारल, कस्तुरी, व्वाँसो, जङ्गली कुकुर, हरिण, थार, आदि वन्यजन्तु पाइए पनि तिनीहरू माथि पाटनको छेउछाउतिरै देखिन्छन् । हामीले तिनीहरूलाई देख्नुपहिल्यै तिनीहरूले मान्छेको गन्ध सुँघेर भागिहाल्छन् । मान्छे हल्ला गर्दै समूहमा हिँड्दा बाघभालु पनि कि एकातिर लाग्छन् कि त बथानेर चुपचाप बस्छन् । त्यो त चर्दै गरेका घोडा या गाईभैँसीको स¥याकसुरुक हुनुपर्छ !’ रुपेले अनुमान गरे । माथि पुगेर हेर्दा घोडाहरू चरिरहेका भेटिए । गोठालो भकतै देखिएन ।
कागमारेः
हामी थप दुई बिसौना बिसाइसकेर अझै माथि चढेपछि एउटा अलि मोटो गोरेटो बाटो पूर्वतिरबाट आएर मिसियो । रुपेले भनेः ‘यही हो नयाँडाँडाबाट आउने बाटो । हिजो नयाँडाँडा पुग्न सकेको भए अलि तेर्छैतेर्छो पथ्र्यो र यहाँ आइपुग्न समय पनि निकै कम लाग्थ्यो ।’
अलिकति पर पुगेपछि हामी उक्लिरहेको ‘आगाला धारा’ डाँडाको थाप्लोमा समथर ठाउँ भेटियो । रुपेले भनेः ‘यो ठाउँको नाम कागमारे हो ।’ अनि मास्तिर देखाउँदै भने, ‘ऊ माथि हेर्नुहोस् त ! त्यही हो चित्रिपाटन । हामी अहिलेसम्म जति हिँड्यौँ त्यहाँ पुग्न अझै दोब्बर समय लाग्दछ ।’
हामी चारैजनाले नजर उचालेर एकछिनसम्म चित्रिपाटनमै नजर स्थिर तुल्यायौँ । निकै अग्लो नाङ्गो पाखोमाथि बोकाको लाम्चो टाउकोले आकाशसँग सिँगौरी खेल्दै गरेको जस्तो देखिन्थ्यो चित्रिपाटन । शिरभागमा बाक्लै हिउँ जमिरहेको देखिन्थ्यो । त्योभन्दा परको भागलाई कुहिरोले छोपेको थियो । तल्लुबगरबाट देखिने लेकभन्दा निकै माथि देखिन्थ्यो यहाँबाट चित्रिपाटन ।
मन आत्तिँदै आफ्नै मनलाई सन्देह पोख्योः ‘आम्मामामा अझै कति टाढा !! आज त के भोलि बेलुकासम्म पनि पुग्न सकिँदैन होला, त्यति माथिको उचाइमा त ।’
पछि परेका खगेश्वर आइपुगेर वर्तमान उचाइ र समय बताइहालेः ‘यतिखेर दश बजेको समयमा २७०० मिटरको उचाइमा आइपुगेछौँ ।’
मैले औँला गनेँ, ‘सवा ३ घण्टामा ६०० मिटर मात्र उक्लिएछौँ । अझै १३०० मिटरभन्दा बढी उक्लनुपर्ने भएकोले रुपेले भनेजस्तै दोब्बरभन्दा बढी दुरी चढ्न बाँकी नै छ । यही हिसाबले हिँड्नसके पनि हामीलाई ६/७ घण्टा त अझै लाग्नेछ र करिब चार/पाँचबजे मात्र हामी चित्रिपाटन पुग्ने भयौँ । भोक र अत्यधिक थकानले गति झन् घट्ने सम्भावना छ । फर्कँदा बाटोमा बास त पक्का पर्ने नै भयो । चित्रिपाटन नपुगेर बिचैबाट फर्कने कि अनेकौँ जोखिमहरू मोलेर निर्जन जङ्गलमा भोकै बास बस्ने ?’
रुपेले खगेश्वर र मतिर हेरेर प्वाक्क भनिहालेः ‘भयो छोड्नोस् अब ! हामी तीनजना मात्र माथि पुगेर फर्कन्छौँ । तपाईँहरू अब माथि उक्लन कदापि सक्नुहुन्न । हामीलाई पर्खेर यतै बस्नुहोस् । साथमा न ओढ्ने–ओछ्याउने छ, न जिउमा बाक्लो लुगा, न भोजन, न पानी । हिंस्रक जन्तुहरूले शिकार गर्ने बेला नै राति हो । यस्तो घना जङ्गलमा खुल्ला ठाउँमा बास बस्नु भनेको काललाई हाकाहाकी निम्त्याउनु मात्र हो ।’
रुपेको कुरा गलत थिएन । तर खगेश्वरले रुपेको कुरा सुनेनन् । उनी आफ्नो मोबाइल क्यामेरा पूर्वतिर तेस्र्याउँदै सहर्ष सुनाउनमै व्यस्त थिएः ‘म ऊ त्यो गाउँसम्म अस्ति नै आइसकेको छु । त्यो स्याँला हो, त्यो खदी हो, यो तलको भाग पहारा हो । ऊ त्यो पारिको डाँडो झारमारे हो ।’ पारितिर जताततै छाङ्गाछुर आँखा रिङ्ने भिर मात्र देखिन्थ्यो ।
यता मेरो छाती अव्यक्त पीडाले विदीर्ण भैरहेको थियो । आफ्नोसामु खडा भएका चित्रिपाटनभन्दा पनि अग्ला समस्याहरूले भित्रैसम्म चिथोर्दै थिए । रुपेले भनेजस्तै अब योभन्दा बढी हिँडाइको गति बढाउने ताकत ममा छँदै छैन । पाँचजनाको लागि मुख भिजाउन अब एक लिटर मात्र पानी बाँकी छ । पछि परियो भने त्यही पानी पनि आफ्नो भागमा पर्नेछैन । उनीहरू लम्किए भने न उनीहरूलाई भेटाउन सकिन्छ, न निर्जन जङ्गलमा एक्लै कुर्न सम्भव छ । मोबाइल हिजैदेखि स्विचअफ छ । आफ्नो असमर्थताको कारणले जान सक्नेलाई माथि जान रोक्नु पनि भएन । यति माथि आइपुगेर चित्रिपाटन नहेरी पनि फर्किनुभएन । हे भगवान्, मलाई यस्तो के विपत् आइप¥यो ? म अब के गरूँ ? म भक्कानिएँ । रुन मात्र सकिनँ ।
यात्रामा जस्तो आइपर्छ त्यसको सामना गर्नुको विकल्प छैन । चारैजनाले छोडेर गए पनि निराश नभई जहाँसम्म सकिन्छ त्यहाँसम्म अविश्रान्त माथि उक्लिरहने निश्चय गरेँ ।
इग्नुपैनाः
मेरा नजरहरू चित्रिपाटनबाट तल झर्न मानेका थिएनन् । चित्रिपाटन सुन्दर क्यानभासजस्तो देखिन्थ्यो र त्यसमा कुनै सिद्धहस्त कलाकारले होशियारपूर्वक सिधा रेखा कोरेर विभिन्न खण्डमा विभिन्न रङ्गको पृष्ठभूमि तयार गरेकोजस्तो देखिन्थ्यो । हामी बसेको सामुन्नेको पहाडभरि हरियो रङले पोतेजस्तो गोब्रे सल्लाका रुखहरूको घना जङ्गल थियो । त्योभन्दा माथिको नवै रङ्गका छिर्कामिर्का पारेजस्तो रङ्गीबिरङ्गी जङ्गल थियो । त्योभन्दा माथिको खण्डमा खैरा रङका बुट्यान मात्र थिए र त्योभन्दा माथिको भूभाग हल्का पहेँलो रङले पोतेजस्तो देखिन्थ्यो । सबैभन्दा माथिको खण्डमा सेतो रङको हिमाच्छादित भूभाग देखिन्थ्यो ।
चित्रिपाटनको आधा उचाइसम्म फैलिएको गोब्रे सल्लाको बाक्लो जङ्गलको नाम सोधेपछि रुपेले बताए, ‘इग्नुपैना ।’
मैले उठ्दै भनेँ ’तपाईँहरू जति सक्नुहुन्छ माथि जाँदै गर्नुहोस्, म जति सक्छु आउँदै गर्नेछु । मलाई पर्खनुपर्दैन ।’
मनलालले शान्त्वना दिए, ’यहाँसम्म सँगै आइपुगेर कसैले कसैलाई छोड्ने कुरै भएन । जहाँसम्म सकिन्छ सबै सँगसँगै जाने हो । जे आइपर्छ सबैले बाँडेर सामना गर्ने हो ।’
रुपे र एक्कबहादुर अघि लागे । म बिचमा परेँ । मनलाल र खगेश्वर फोटो खिच्ने क्रममा पछि परे । गाईभैँसी लगिने बाटो भनिए पनि अबको बाटो भिरैभिरको मात्र थियो । अलिकति खस्रक्क चिप्लियो कि कतै नछोइएर एकैचोटि हजार फिटभन्दा तलको पहारा गाउँमै पुगिने । तलतिर अक्करेभिर भएकोले मास्तिर हेरेर मात्र उकालो चढ्न सकिन्थ्यो ।
चरीपोल्ने ओढारः
अलिकति उकालो लागेर बाटो तेर्छिएपछि अगाडिको जम्मै बाटो ढाकेको निकै ठूलो ओढार भेटियो । ओढारको आकृति देख्दा लाग्थ्यो कुनै हतियारले बडेमानको ढुङ्गाको बिचको भाग फुटाएर बास बस्नलायक बनाइएको थियो । रुपेले भने, ’यो ओढारलाई चरीपोल्ने ओढार भनिन्छ ।’
’गोठालाहरूले मार्न सके त मृग नै पोल्थे होलान् तर मृग नभेटिएपछि गुलेलीले हानेर चरा मार्थे होलान् र यही ओढारमा बसेर पोलेर खान्थे होलान् ।’ मैले अनुमान लगाएँ ।
धजा हाल्नेः
अलिकति माथि पुगेपछि रङ्गीबिरङ्गी धजैधजा बाँधिएको बडेमानको रुख भेटियो । रुपेले गोजीमा धजा बोकेर आएका रहेछन्, झिकेर मन्त्रोच्चारण गर्दै धजा चढाए ’जय गोस्स्याँ परमेश्वरी । तिमी दाइने भया । हामलाई चित्रिपाटन पुगेर आउन्जेल रख्ख्या ग¥या । जय गोस्स्याँ परमेश्वरी ।’
रुपे धजा चढाउनतिर लागेको समयको सदुपयोग गर्दै म बाटोमै लम्पसार परेँ ।
धजा चढाइसकेपछि रुपेले भने, ’यो ठाउँको नाम नै धजाहाल्ने हो । चित्रिपाटन पुग्ने भनी तम्सिएर आएका तिर्थयात्रीहरू यहाँदेखि माथि उक्लिन नसकेपछि चित्रिपाटनतिर फर्किएर यहीँ धजा चढाएर फर्किने गर्छन् । चित्रलेखिलाई हामी आउँदै छौँ है भन्ने सन्देश पनि हो यो । मनले राम्रो चिताउनुहोला । तपाईँहरूले मनले चिताएको पूरा हुनेछ । माथि जान नसक्नेहरूको लागि यही नै चित्रिपाटन हो । यहीँबाट चित्रिपाटनको दर्शन गरेर फर्के पनि हुन्छ ।’
मैले वैकल्पिक चित्रिपाटनमा चित्त बुझाउने गरी यात्रा प्रारम्भ गरेकै थिइनँ । त्यसो हो भने आफ्नै घरभित्र चित्रिपाटनको फोटो टाँगेर बसीबसी चित्रिपाटनको अवलोकन गर्दो हुँ । मेरो गन्तव्य त त्यही ४००० मिटर माथिको चित्रिपाटन यिनै पाइतालाले छुनु नै थियो । प्राणै फुत्कियोस् तर त्यहाँ नपुगी नछाड्ने दृढ निश्चय गरेको थिएँ । मैले आँखा नधिप्क्याएर चित्रिपाटनतिर हेरिरहेँ । यो ठाउँबाट चित्रिपाटन सपाट देखिन्थ्यो । जति नजिक पुग्यो उति चित्रिपाटनको उचाइ झन् अग्लो अग्लो हुँदै गइरहेको थियो ।
'यहाँ धजा चढाएपछि केही न केही ऊर्जा प्राप्त हुन्छ । तपाईँहरूले त्यस्तो केही फरक अनुभव गर्नुभएन र ?’ रुपेले सोधे ।
रुपेले सोधेपछि हामी चारजनाले एकअर्काको मुख हेराहेर गर्यौँ । एक्कबहादुरले जुरुक्क उठ्दै भनेः ‘साँच्चै रैछ । मलाई पनि केही शक्ति मिलेजस्तो भयो ।’ मनलाल र खगेश्वर पनि सकपकाएको देखेँ ।
रुपेको प्रश्न, एक्कबहादुरको जवाफ र मनलालहरूको सकपकाहटको संयोजनले स्वाँस्वाँ भइरहेको मेरो जिउमा पनि विचित्र शक्ति पैदा गरिदियो । ठप्प रोकिएको रगत नशाभरि दौडिएजस्तो भयो । झारफुकपछि बिरामी मान्छे तङ्ग्रिएजस्तै म पनि रोमाञ्चित हुँदै जुरुक्क उठेँ र चित्रिपाटनतिर हेर्दै कामना गरेँ, ‘हे, चित्रलेखि कुलदेवता, मलाई कसैगरी तिम्रो काखमै पुर्याइदेऊ !’
कामना गर्दागर्दै जिउ झननन झङ्कृत र अझै फुर्तिलो भएझैँ भयो, ‘ल साथीहरू, तपाईँहरू नसक्ने भए यतै बसेर पर्खँदै गर्नुहोला, म त एक्लै चित्रिपाटन हिँडेँ !’ भन्दै मैले फटाफट गोडा चाल्दा अरू साथीहरू हेरेका हेरेई भए । करिब २०० मिटर उचाइसम्मको यात्राको अगुवाइ लगातार मैले नै गरेँ ।
इच्छाशक्ति जतिसुकै बलियो भए पनि निरन्तरको कुदाइ र भोकले गर्दा शरीर झन् झन् कमजोर हुँदै गइरहेको थियो । मुख सुकेर प्याक्प्याक्ति भइरहेको थियो । जिउमा भएको जम्मै पानी पसिना भएर बगिसकेको थियो । झोलामा एक बोत्तल पानी बाँकी भएकोमा त्यो पनि करिब आधा रित्तिसकेको थियो ।
रुपेले भने घरीघरी चेतावनीमूलक सन्देश जारी गरिरहेका थिए, ‘अलि माथि पोहोरसम्म पानीका खोबिल्टाहरू त थिए । तर म यता नआएको पनि एक वर्षभन्दा बढी भैसक्यो । त्यहाँ पानी पाइन पनि सक्छ, नपाइन पनि सक्छ । तसर्थ ओठ वा घाँटी सुक्यो भने बाँकी रहेको पानीले दुईचार थोपा राखेर भिजाउनुहोला । कसैले पनि नघुट्क्याउनुहोला । विपतमा चाहिन सक्छ । माथि पुगे त हिउँ नै पगालेर राखौँला । तर कुनै कुनै हिउँ विषतुल्य पनि हुन द्दक्छ ।’
खगेश्वरले समय र उचाइ चेक गर्दै भने हामी अहिले ठीक बाह्र बज्दा ३००० मिटर माथि आइपुग्यौँ । तल्लुबगरबाट देखिने चुचुरो अब हामीभन्दा तल परिसकेको छ ।
हामीले उठीउठी केही छिन विश्राम ग¥यौँ र फेरि अगाडि बढ्न थाल्यौँ । अब गोब्रे सल्लाको हरियो जङ्गल समाप्त भएर रङ्गीबिरङ्गी फूलहरूको जङ्गल सुरू भएको थियो । जसमा लाली गुराँसका अतिरिक्त जिला, डोइली, बिजौरी, जुरमुठो, छतारो आदि होचा रूखहरूको राज थियो । मनलाल र खगेश्वरले राताम्मे लालीगुराँस र पहेँलपुर जिलाको बोटमा चढीचढी फोटो सेशन गर्न पनि भ्याए ।
आँखा रिङ्ने भिरः
अगाडि बढ्दै जाँदा हामी यस्तो ठाउँमा आइपुग्यौँ, जहाँ बिचमा खुकुरीको जस्तो धार थियो र दुवैपट्टि छाङ्गाछुर भिर । अलिकति चिप्लिए जिउले सन्तुलन मिलाउने ठाउँ नै नपाउने खालको । त्यसलाई मुस्किलले पार गरेपछि फेरि पूर्वपट्टि लाग्यौँ । चित्रिपाटन अझै नजिक र अझै अग्लो देखियो । तल पत्थरै पत्थरको अक्करेभिर थियो । मनलाल र खगेश्वरले भिरलाई पृष्ठभूमि तुल्याएर फोटो खिच्न थाले ।
‘यो ठाउँको नाम नै आँखा रिङ्ने भिर हो । यही भीरबाट वर्षेनी गाईभैँसी र गोठाला खसेर मर्ने गर्दछन् । होसियार भएर फोटो खिच्नुहोला ।’ रुपेले सचेत गराए ।
जुकाफाल्ने ढुङ्गाः
अलि माथि पुगेपछि निकै ठूलो ढुङ्गाको प्राकृतिक चौतारी भेटियो । रुपेले भनेः ‘यो ठाउँको नाम जुका फाल्ने ढुङ्गा हो । यहाँ पानी पर्नासाथ जुका लाग्न थाल्छन् । आनन्दले बसेर जुका फाल्ने ठाउँ अन्यत्र नभएको हुँदा यहीँ आइपुगेर गोठालाहरूले जिउमा लागेका जुका फालेर मुक्तिको सास फेर्दछन् ।’ धन्न पानी नपरेको वेला आइएछ र जुकाको सास्तीबाट बचिएछजस्तो लाग्यो ।
जिब्रो सुकेर मुखमा चेप्टो हाड कोचिएको जस्तो भइरहेको थियो । ज्वरोले जिउ तातिँदै गएको थियो । पिसाब फेर्दा झन्डै रगतजस्तो रातो देखियो । रिङ्टा लाग्लाजस्तो झुम्म हुनथाल्यो । कमजोरी महसुस भएर जिउ लगलग कामिरहेको थियो । डिहाइड्रेशन भएर बाटोमै मरिन्छ कि भन्ने आशंका उत्पन्न भयो ।
एकछिन ढुङ्गे चौतारीमा बिसाएर हामी फेरि माथि उक्लिन थाल्यौँ । सगरमा झुन्डिएको चित्रिपाटनमा मौसम बदली भएर पानीको तुफान मच्चिरहेकोजस्तो देखिन्थ्यो । ’यस्तो अवस्थामा उच्च लेकाली भेगमा चट्याङले चट्काउन सक्छ । पानी मात्रै परे पनि हामीसँग जिउ ओताउने व्यवस्था केही छैन । कसरी जानेहोला त्यहाँ ?’ मनलालले चिन्ता व्यक्त गरे ।
रुपेले ढाढस दिए, ‘केही हुँदैन । यो ठाउँमा प्रायजसो यस्तै हुन्छ । परे हिउँ पर्न सक्छ ! चैत÷बैशाखको त्यो हिउँ जिउमै बिलाइहाल्छ ! पानी नै प¥यो भने पनि माथि अनेकौँ ओढारहरू छन्, त्यहीँ ओत लागौँला ।’
साथमा पानी छैन भन्ने भएपछि झनै प्यास लाग्दोरहेछ । अब जिब्रो र घाँटीले मात्र होइन; आँखा, नाक, कान र शरीरका प्रत्येक अङ्गले ’पानी ! पानी !’ अलापिरहेको थियो । सायद मृत्यूशैयामा पुगेको व्यक्तिले पनि यही अवस्थाको सामना गरेर पानी मागिरहेको हुन्छ होला । तथापि शरीर यन्त्रवत् चलिरहेको थियो ।
धतुरोहाल्नाः
होचा र रङ्गीबिरङ्गी रुखहरूको जङ्गल सकिएर अब पहेँला बुटाहरूको बारी सुरू भएको थियो । बिचबिचमा रङ्गीबिरङ्गी बुकीफूलहरूको घारी पनि भेटिन्थ्यो ।
अझै माथि पुगेपछि रुपेले भने, ‘खाली भएका सबै बोत्तलहरू मलाई दिनुहोस् । ऊ त्यो भिरको पाल्लोपट्टि पानी जाग्ने ठाउँ थियो । अहिले छ छैन, भन्न सकिन्न । पानी पाइयो भने म लिएर आउँछु ।’
बोत्तलहरू जम्मा गरेर रुपे अघि लागे । मनलालले रुपेलाई पछ्याए ।
‘म पनि जान्छु ।’ पानी पाइन्छ कि भन्ने आशाले निद्राबाट ब्युँझेझैँ मैले भनेँ ।
‘होइन तपाईँ यतै बस्नुहोस् । त्यता झन् ठूलो भिर छ । तपाईँ जान सक्नुहुन्न । पानी पाइए म ल्याइदिहाल्छु नि !’ रुपेले मनाही गर्दै उत्तर–पश्चिमपट्टिको अबाटोतिर लागे । मैले रुपेको आदेशको उल्लङ्घन गर्दै उनीहरूको पदचाप पछ्याउँदै पछि लागेँ । यदि त्यहाँ पानी नभएर जमिन चिसो मात्र भेटिए पनि चिसो जमिननै चुसेर प्यास मेटाउने मेरो तिब्र इच्छा थियो । मलाई देखेर खगेश्वर पनि पछि पछि आए । एक्कबहादुर भने हामीतिर नआएर माथितिरै उक्लिए ।
भिरको पाखामा छाती टाँसिएर बिस्तारै खुट्टा सार्दै अलि पर पुग्यौँ । चिसो जमिन भेटिन थाल्यो । अब पानी नपाएर मरिनेछैन भन्ने लागी मन खुसीले आल्हादित भयो ।
‘जमिन चिप्लो छ, बिस्तारै आउनुहोला । तिनी बुटाहरूको भने आड नलिनुहोला है । जरा कमजोर हुनसक्छन् । यी धतुराका सुकेका बोटहरू हुन् । यो ठाउँको नाम धतुरोहाल्ना हो । शिवजी धतुरो खान बेलाबखत यहीँ आउँछन् रे ।’ रुपेले पथप्रदर्शकको भूमिका राम्रैसँग निर्वाह गरिरहेका थिए ।
धनबहादुर वलीले लेखेको आदिपुरूष चित्रलेखि शीर्षकको ऐतिहासिक पुस्तकमा पनि श्रीकृष्ण र राधा यहीँ आएर लीला गरेको र शिवजीको पूजाआजा गर्ने गरेको वर्णन छ । साँच्चिकै शिवजी यतै कतै छन् जस्तो लाग्यो ।
अलिकति पर पुगेपछि कुइनेटो परेको पाखामा साँच्चिकै पानीका खोबिल्टाहरू भेटिए । मन खुसीले बुर्लुक्कै उफ्रियो ।
केही खोबिल्टा धमिला थिए केही सङ्ला । खोबिल्टाको डिल आलै थियो । भर्खरै बनाएका जस्ता । चारजनाले एकएक खोबिल्टा कब्जा जमाएर पानी पिउन तम्सियौँ । तर पानी मुखमा हाल्न सकिए पो । पानी त बरफजत्तिकै ठण्डा थियो । एक घुट्का निल्न पनि निकै गाह्रो थियो । मैले रियलजुस पिउने नली बोकेको थिएँ, त्यसले ठण्डा पानी पिउन सजिलो भयो । मैले बिस्तारै बिस्तारै गरी झन्डै २ लिटर पानी पिएँ । बल्ल जिउ शितल भयो र फुर्तिलो पनि भयो ।
मगाबाट ल्याएका मकैका रोटी त्यहीँ बसेर खायौँ । निस्तो/बुक्लो रोटीको एक गास निल्न पनि निकै गारो भयो ।
‘अब माथि यो कोक चाहिँदैन, यहीले रोटी निल्नुहोस् !’ भन्दै रुपेले आफ्नो झोलाबाट कोकका साना २ वटा बोत्तल झिके । हिजो तल्लुबगरबाट मैले नै ती कोक किनेर ल्याएको थिएँ । सर्दै सर्दै रुपेको झोलामा पुगेछन् र बचेछन् । अरुसँग भए तलैको जङ्गलमा सखाप भैसक्थे । नभन्दै कोकको घुट्काले सुख्खा र ठण्डा मकैका रोटीलाई घाँटीभित्र छिराउन सजिलो भयो । यतिवेला हामी ३४०० मिटरको उचाइमा थियौँ र दिनको साढे १ बजेको थियो ।
बल्ल चिसो पानी र रोटीले अपूर्व ऊर्जा थपिएको थियो । खुट्टा स्वचालित रूपमा फटाफट उकालो उक्लन थाले । अबको जमिन पूरै नाङ्गो थियो र नाक ठोक्किने खालको उकालो थियो । रुपे भन्दै थिएः ’अब अक्सिजनको कमीले उकालो चढ्न झन् गाह्रो हुनसक्छ । लेक लाग्न सक्छ । बिस्तारै बिस्तारै होशियारपूर्वक चढ्नुहोला ।’
जति माथि गयो उति फरक भूसंरचना भेटिन थाल्यो । कहिल्यै नदेखेको फरक भूसंरचनामा पुग्दा मन यति प्रफुल्लित भइरहेको थियो कि जिउको थकान सर्लक्कै मेटिइसकेको थियो । अब विश्रान्तिको कुनै दरकार थिएन । नजर जता दौडन्थे, खुट्टा पनि बुरुक्बुरुक् उतै दौडन थालेका थिए । लेक लाग्ने कुराको परवाह नै गरिएन ।
माथि पुगिसकेका रुपे टक्क रोकिएर आफ्नो गोजीबाट तिलजौँ झिकेर हाम्रो हातहातमा दिँदै भनेः ‘अब हामी भूलोकबाट सिद्धभूमि देवलोकमा प्रवेश गर्दै छौँ । शरीर शुद्ध पार्नको लागि तिलजौँ मुखमा राख्नुहोस् । तन, मन र चित्तसमेत सफा हुनेछ । यहाँ तपाईँहरूले नचिताएका अनौठा दैवीलीलाहरू पनि देखिन थाल्नेछन् ।’
उनको यो उदघोषले शरीरमा विद्युतीय झड्का लागेझैँ झननन भयो । आँखा तिरिमिरी भए । कानले मुरलीको तिरिरिरिरि गुन्जन सुन्न थाले । नाकले मिठो सुगन्ध लिन थाल्यो । जिउमा शितलता छायो । रुपेले साँच्चिकै हामीलाई अलौकिक दुनियाँमा पु¥याइदिए । लाग्यो, अब हामी आफ्नो खुट्टाले उक्लँदै छैनौँ, कसैले स्वचालित लिफ्टमा सरररर माथितिर उचालिरहेको छ ।
ओढारैओढारः
त्यो प्राप्तिको सुखद अनुभूति मात्र थियो । दुरी काट्न त गोडा नचाली सुक्खै थिएन । उक्लँदै जाँदा माथि माथि बडेमानका सिङ्गो ढुङ्गाका प्राकृतिक ओढारहरू देखिन थाले । ओढारलाई छेउछेउमा पर्खालले घेरेर बास बस्नलायक तुल्याइएको थियो । यी ओढारहरू आवासको लागि मान्छेहरूले नै दक्षिणपूर्वपट्टिको पत्थरिलो भित्ताबाट बोकेर ल्याई टम्म मिलाएर राखेका जस्ता देखिन्थे । तथापि हजारौँ मान्छेहरूले पनि बोक्न सकिने खालका थिएनन् । बेलायतको स्टोनहेज हेर्न वर्षमा करोडौँ मान्छे पुग्छन् तर यहाँको स्टोनहेज हेर्न आठ÷दशजना गोठालाबाहेक कोही आइपुग्दैनन् । मन खिन्न भयो ।
अलि माथि पुगेपछि मसिना गरा परेको दम्सिलो जमिन भेटियो । कुनै सुन्दर वाटिकामा टम्म मिलाएर रोपिएजस्तै मुलायम वनदुवोको बगैँचाजस्तो थियो । साउनभदौतिर यस बगैँचाको सौन्दर्य अवर्णनीय हुँदो हो ।
के छैन यहाँ ? खोज्न सकेमा श्रीकृष्णको झुल्ने बगैँचा यहीँ छ । ताजमहलभन्दा अब्बल राधाकृष्णको लीलामहल यहीँ आसपासमा छ । काँधमा काँध मिलाएर जोडिएका उच्चशिखरहरू ग्रेटवालको ढाँचामा धौलागिरीसम्मै पुगेका छन् । चित्रिपाटन आफै गिजाको पिरामिडभन्दा बढी आश्चर्यलाग्दो थियो । मृग र मयुरको स्वर्गीय क्रिडास्थल यही छ । वली थरका आदिपुरुष चित्रलेखि, विभुति र पिनालेखिले चमत्कार देखाउँदै हुर्किएको पुण्य स्थल यही छ । बुद्धका पाइला यहीँ छन् । अझ भनौँ विश्वका सातवटै प्राकृतिक आश्चर्य यहीँ थिए । यो चित्रिपाटन मात्र होइन, विचित्र पाटन थियो ।
र यहाँ आठौँ आश्चर्य पनि थियो । त्यो के थियो भने सरकारीस्तरबाटै यस क्षेत्रलाई १०० वटा गन्तव्य स्थलमा चयन गरे तापनि यसको ऐतिहासिकताको खोजी, संरक्षण तथा संवर्द्धनको लागि तीनैतहका सरकार वा गैरसरकारीस्तरबाट कसैले एउटै सिन्कोसम्म भाँच्ने काम गरेको देखिँदैनथ्यो ।
मसिनाधुरीः
चित्रिपाटनको शिरतिर हिमआँधी चलिरहेको देखिन्थ्यो । कालो कुहिरो बेपत्तासँग तलमाथि कुद्दा वातावरण नै अँध्यारो भएको थियो । त्यसको मुटु कठ्याङ्ग्रिने झोँक्का घरीघरी हामीसम्मै आइपुगेर धकेल्ने कोशिस गर्यो । तथापि चित्रिपाटनले हामीलाई न्यानो स्वागत गरेको अनुभूति भयो । झन्डै ४००० मिटरको उचाइमा श्वास फेर्न गाह्रो हुनुपर्नेमा हामीलाई झन् सजिलो भइरहेको थियो । जिउ गह्रुँगो हुनुपर्नेमा निकै हलुङ्गो भइरहेको थियो । हामीले खुसीले पागल हुँदै यताउता छलाङ मार्न थाल्यौँ ।
‘यही हो मसिनाधुरी ।’ रुपेले बताए । उत्तरतर्फ मसिनाधुरीको तरवारजस्तो मसिनो धार थियो । धारको यतापट्टि खेतीयोग्य जमिन, उतापट्टि चरीलोट्ने भिर ।
खगेश्वरले यसको उचाइ ३९०० मिटर रहेको बताए । यति वेला दिउँसोको ३ मात्र बजेको थियो । सुरूमा १०० मिटरको उचाइ चढ्न झन्डै १ घण्टा लाग्ने गरेकोमा अहिले हामी डेढ घण्टामै ५०० मिटरको उचाइ पार गर्न सफल भएका थियौँ । कसरी यति छिटै, यति धेरै उचाइ पार गर्नसक्यौँ आफै अच्चम्भित भइरहेका थियौँ ।
उत्तरपट्टिको पाखोभरि बाक्लो हिउँ जमेको थियो । निकै तलको खोँचमा ठुलीभेरी नागबेली आकारमा मस्त निदाएकीजस्ती देखिन्थिन् । पारि भूक्षयले सकिन थालेका झन्डै चित्रिपाटनजति अग्ला काला चुचुराहरू देखिए । रुपेले बेलिबिस्तार लगाए, ‘त्यो पश्चिमपट्टिको जग्गा जाजरकोट हो र त्यो उत्तर–पूर्वपट्टिको भूभाग डोल्पा हो । बादल नलागेको भए उत्तरतिरको कान्जिरोबा हिमश्रृङ्खला प्रष्टै देखिन्थ्यो । दक्षिणतिर कुमाखको लेक र दाङनजिकको कपुरकोटसमेत देख्न सकिन्थ्यो । चित्रिपाटनको चुचुरोबाट पूर्वतिर सिस्ने र धौलागिरी श्रृङ्खला छर्लङ्गै देख्न सकिन्थ्यो । समय घर्किसकेको, मौसम बिग्रिएको र त्यहाँ हिउँ नबिलाएको हुँदा चुचुरोमा पुग्न सम्भव छैन ।’
जमिनभरि ठ्याक्कै यार्चागुम्बा आकारका मोटा झुसिलकीराजस्ता आकृति पाखाभरि नै छरपस्ट देखिन्थे । ’यही त होइन यार्चागुम्बा ?’ मैले हातमा लिएर सोधेपछि रुपेले भने, ‘होइन, यो त मृगको बड्कौँला हो । यार्चागुम्बा त त्यो चुचुरोको आसपासमा मात्र पाइन्छ ।’ यहाँ मृगको बड्कौँलाले पनि यार्चागुम्बा भनी झुक्याउँदो रहेछ ।
चित्रलेखि थान भएको ठाउँतिर हिमआँधी चल्न रोकिएको थिएन । तर मौसम प्रतिकूल रहे पनि हामी त्यतैतिर अघि बढ्यौँ । मगा फर्कँदा ५ घण्टा नै लागे पनि अब उति हतारो थिएन । एकातिर दुर्गमनीय चित्रिपाटनमा पुग्न सफल हुनु, अर्कोतिर जङ्गलमै बास बस्नुपर्ने समस्याको अन्त्य हुनु । अनकन्टारमा हराएका यात्रीहरूको लागि योभन्दा खुसीको कुरा अर्को के हुन सक्थ्यो ?
तेर्छेकुलाः
रुपेले मसिनाधुरीबाट पूर्वपट्टिको ठाउँ देखाउँदै भने– ‘यस ठाउँलाई तेर्छेकुला भनिन्छ ।’
‘तेर्छेकुलो ? कुलोको नामोनिशान कहीँ देखिँदैन त ??’
मैले अनुमान गरेँ, ‘धेरै पहिले यहाँ कुलोको अस्तित्व भएरै तेर्छेकुलो नाम रह्यो होला । मसिनाधुरीको आसपासमा गरागरा तुल्याएर खेती गरिएजस्तो जमिन छ । पूर्वतिर असारदेखि हिउँदसम्मै निकै ठूलो झरना बग्दछ रे । त्यसलाई नौधारी झरना भनिन्छ । धामीले त्यहाँ नजिकै च्याउतेखोला रहेको बताउँदछन् । यहाँ नौवटा कुण्ड पनि थिए भनिन्छ । कि अहिले पनि यसको पूर्वपट्टि पानीको मुहान हुनुपर्छ, कि पहिले पानीको मुहान भए पनि अहिले सुकिसकेको हुनुपर्छ । सिँचाइयोग्य पानीको स्रोत भएर नै त्यहाँबाट कुलो खनेर यहाँसम्म ल्याई परापूर्वकालमा खेती गरिएको हुनुपर्छ ।’
चित्रलेखि थानः
हामी मसिनाधुरीबाट केही तेर्छिएपछि टाढैबाट परको चहुरमा थुप्रै ध्वजाहरू देखिए । हिँडेको केही बेरमै सवा ३ बजेतिर एक समथर तर अनौठो भूभागमा प्रवेश ग¥यौँ । खगेश्वरले ४०५० मिटरको उचाइमा आइपुगेको बताए । यहाँको मौसम बेग्लै थियो । घरी ढपक्कै कुहिरोले ढाक्दथ्यो घरी छ्याङ्ङ फाटेझैँ हुन्थ्यो । घरी फूल बर्सिएजस्तै हिउँका गेडाहरू बर्सिन्थे, घरी अक्षता बर्सिएझैँ पानीका सिमसिम थोपाहरू बर्सन्थे । बाहिर सिरेठो चलिरहेको थियो, तर भित्र सिरक गम्लङ्ग ओढेजस्तै न्यानो भैरहेको थियो । घरी वातावरण उज्यालिन्थ्यो, घरी अँध्यारिन्थ्यो । भूसतहले पनि त्यसरी नै घरीघरी आफ्नो रूप फेरिरहेको थियो । भुइँभरि तिखा ढुङ्गाका छेस्काहरू थिए, तर टेक्दा मुलायम प्रतीत हुन्थे । विचित्र स्थलमा आइपुग्दा द्रवीभूत भैरहेको थिएँ । आफैलाई सम्हाल्न गाह्रो भइरहेको थियो ।
आराले चिरेर टुक्रा पारेका जस्ता एउटै आकारका पत्रेचट्टानहरू चहुरभरि छरिएका थिए । चौकुना मिलाइएजस्तो निकै ठूलो पत्रेचट्टानमा शिवलिङ्ग स्थापना गरिएको थियो भने पूर्वपट्टिको अर्को चट्टानमा बसाहा स्थापना गरिएको थियो । दक्षिणपट्टि ठूलो घण्ट झुन्ड्याइएको थियो । मन्दिरको संरचना निर्माण गर्न केही बोरा बालुवा र सिमेन्ट पनि ल्याइएको रहेछ । पानी उपलब्ध हुन नसक्दा यत्तिकै छोडिएको देखिन्थ्यो । २०८० को चैत्र २८ गते वली वंश समन्वय समाजको आयोजनामा यो सबै काम सम्पन्न गरिएको थियो । ओली वंश समन्वय समितिका अध्यक्ष हरि वली र धनबहादुर वली यहाँ आएर वलीको उत्पत्तिको बारेमा पटक पटक अध्ययन अनुसन्धान गरेका थिए । तिनै धनबहादुर वली (हालः थाइल्यान्डका राजदूत) द्वारा लिखित आदिपुरुष चित्रलेखि नामक पुस्तकको विमोचन पनि आठबीसकोटका मेयर रवि केसीबाट यहीँ गरिएको रहेछ । वली समाजबाट सारिएको यो प्रथम पाइला यस क्षेत्रको संरक्षण तथा विकासको लागि दूरगामी महत्त्व राख्नेछ ।
जहाँ पुग्न केही घण्टाअघिसम्म असम्भवप्रायः ठानेको थिएँ त्यही ठाउँ आइपुग्न सफल भएर होला म भक्कानिएँ । शरीरबाट कम्पन छुट्लाजस्तो भयो । गहभरि आँशु छचल्कियो । आफूलाई सम्हाल्न पूर्वतिरको त्रिशुल ठड्याइएको ठाउँमा पुगेँ र गलामा बगिरहेका आँशु पुछ्दै केही बेर बिताएँ ।
फर्केर आइसकेपछि चित्रलेखि थानको अगाडि घोप्टो पर्दै यो विचित्र स्थलमा पाइला टेक्न समर्थ तुल्याएकोमा चित्रलेखि कुलदेवतालाई हृदयदेखि नै धन्यवाद टक्र्याएँ ।
चित्रलेखीसँग विदाईः
छोड्न त पटक्कै मन थिएन प्राकृतिक छटाले सिँगारिएकी अलौकिक चित्रिपाटनलाई । प्यासले प्याक्प्याक्ति भएको प्यासीलाई एक थोपा जल जिब्रोमा हालेजत्ति मात्र भएको थियो ।
लागिरहेको थियोः यिनको कोमल काखमा लुटुपुटु गरिरहूँ । धितमरुन्जेल यो देवबगैँचाको रसपान गरूँ । इहलोकको सबै बन्धनबाट मुक्त भएर यहीँ तपस्यालीन होऊँ ।
खास चित्रिपाटन त योभन्दा ५०० मिटर माथि ४६०० मिटरको उचाइमा थियो । छिनमै मौसम बिग्रने र छिनमै मौसम सप्रने हिमवत् खण्डमा मौसम सप्रिएको बखत वरिपरि ताँती लागेका हिमाल शृङ्खलाको दृश्यपान गर्न नै बाँकी थियो । यसको चारैतिर रहेको भूसंरचना घुमीघुमी हेर्न बाँकी नै थियो । कहाँबाट कुलो खनेर ल्याइएको थियो त्यसको मुहान पत्ता लगाउन बाँकी नै थियो । देवलोक भनिएको ठाउँमा आउने स्वर्गीय अप्सराहरू राधाकृष्ण र महादेवको दर्शन गर्न बाँकी नै थियो । डाँडैभरि बड्कौँला बिस्ट्याउँदै चर्ने मृगहरूको दर्शन गर्न बाँकी नै थियो ।
तर परिस्थिति आफ्नो नियन्त्रणमा थिएन । समय आफ्नो काबुमा थिएन । आफूसँग भएको लुगालत्त भोजन र पानी पर्याप्त थिएन । शरीर नरही यी कुनै कुराको पनि साक्षात्कार सम्भव थिएन । विद्यालयमा छुट्टीको घण्टी बज्ने बेला भइसकेको थियो । अत्यास लाग्दो ओरालो झर्न पूरै बाँकी थियो । अतः हामी समयमै फर्किहाल्नु पर्यो । अतृप्त चाहनालाई मुटुभित्रै गाँठो पारेर हामीले मन नलागी नलागी चित्रिपाटनबाट विपरीत पाइला चाल्न थाल्यौँ ।
उकालो चढ्न जति गाह्रो थियो त्योभन्दा बढी मुस्किल ओरालो झर्नु थियो । फलामकै शरीर भएको भए पनि चारहजार मिटरको उचाइ पार गर्ने क्रममा पचासौँहजारचोटि पाइताला रगड्दा निकै परिमाण खिइसक्थ्यो । अविश्रान्त यात्रामा कुँदेका कुँदेइ गरेका हाडमासुका पाइताला र गोडामा गम्भीर असर नपर्ने कुरै थिएन । गोडा नखुम्च्याई ओरालो झर्न सम्भव थिएन । तर घुँडा खुम्च्याउँदा असह्य पीडा उत्पन्न हुन्थ्यो । पाइतालामा फोका नै उठिसकेका थिए होलान् । भतभती पोलिरहेका थिए । जिउ जता छोए पनि दुख्ने भैसकेको थियो । रित्तो झोला पनि बीस किलोको सामान राखेजत्तिकै गह्रुँगो लागिरहेको थियो ।
उक्लँदाको गति दोब्बर पारेमा मात्र समयमै वासस्थानसम्म पुग्न सकिन्थ्यो । घुँडा दुख्ने समस्या बाहेक तल पुग्ने अन्य समस्याहरू थिएनन् । अब पथप्रदर्शकको औचित्य र सँगसँगै हिड्नुपर्ने औचित्य समाप्त भैसकेको थियो । अतः रुपे नै पछि परेका थिए र एकापसको दुरी निकै फराकिलो हुँदै गइरहेको थियो । अब एकैछिनमा मसिनाधुरीभन्दा तलका ओढारहरूको आसपासको भूभागमा पुगिसकेका थियौँ । यो ठाउँमा धेरै बाटाहरू एकापसमा काटिएर गएको हुँदा हामी फरकफरक बाटोबाट झरिरहेका थियौँ । एक्कबहादुर त निकै दुरी बढाएर धतुरोहाल्ना पुग्नै आँटेका थिए । भन्नैपरेन कि ओढारको आसपासमा केही दम्सिलो ठाउँ भए पनि तलतिर छाङ्गाछुर भिर थियो । तल खसे भेटिने सम्भावना नै थिएन ।
डरलाग्दो दुर्घटनाः विचित्र बचावट
जहाँ सतर्क भई पाइला सार्नुपर्ने अवस्था थियो त्यही स्थानमा खगेश्वरका खुट्टा चिप्लिए र हातको भरमा एक हप्ता तल पुगे अर्को हातले आफूलाई थाम्न खोज्दाखोज्दै फेरि अर्को बल्ड्याङ पल्टिन पुगे । करिबकरिब सँगसँगै रहेका रुपे, ‘सर खस्नुभयो !’ भन्दै चिच्याएपछि मनलाले के भयो भन्दै तलतिर हाम फाले । म अलिकति तल पुगेको हुँदा फर्केर हतपताउँदै माथि उक्लिएँ । खगेश्वरजी भिरको त्यो डिलमा अड्किए जहाँबाट तल खसेको भए हाम्रो यात्रा निकै अशुभ ठहरिन्थ्यो । रुपेले ढलेका खगेश्वरलाई उठाएर दुईभित्ता माथि ल्याए । खगेश्वरले सजिलोसँग उभिएर जिउमा लागेको धुलो टकटक्याउन थाले । हाम्रो मुटु उफ्रिएर टकटकिन थाल्यो । हातखुट्टा लगलगी काँप्न थाले । धन्न उनलाई खासै चोट लागेको रहेनछ ।
रुपेले भनेः ‘देख्नुभयो चमत्कार ? चित्रलेखिले उहाँको उद्धार गरे । नत्र यस्तो भिरमा चिप्लिएपछि कोही अड्कन सक्छ ?’
हामीले मुखामुख गर्यौँ ।
‘हामी हिड्न थालेको १० घण्टा बित्न थाल्दा पनि सामान्य चोटपटक त के कसैलाई ठेससमेत लागेन र एउटा काँडाले पनि घोचेन । लेक लाग्ने ठाउँमा लेक लागेन । चाहिएकै ठाउँमा कसैले खोबिल्टा पारेर पानी भरिदियो । नसक्ने अवस्थामा पुग्दा पनि हामीहरूलाई कसैले जुरुक्क उचालेर चित्रिपाटन पुर्याएरै छोड्यो । यो सबै यही सिद्धभूमिको चमत्कार हो त्यो । चित्रिपाटनतिर फर्केर ती सिद्धलाई धन्यवाद दिनुहोस् ।’ रुपेले अर्को तर्क थपे ।
होइन भन्नसक्ने ताकत कसैको थिएन । हामी नतमस्तक भयौँ ।
खगेश्वरलाई अघि लगाएर हामी पनि सँगसँगै हिड्न थाल्यौँ । वरिपरिका सयौँ बाटाहरु खेरिएर एउटै बाटो भइसकेको थियो । एक्कबहादुर एकैचोटि जुकाफाल्ने ढुङ्गामा पुगिसकेछन् । हामी त्यहाँ पुगेपछि बाँकी रहेको चिउरा बुकाउन थाल्यौँ । खगेश्वरले ल्याएको बदाम झोलामै बाँकी रहेछ । बदाम बाँडेर खायौँ ।
आधा सन्चो, आधा बिसन्चो
मैले ल्याएको औषधिका बट्टाहरू भारी मात्र भए केही काम लागेनन् । खगेश्वरमा पश्चात्ताप होइन कृतज्ञताभाव उम्लिरहेको थियो । तथापि यात्रा हो जोखिमका सम्भावनाहरू त छिनछिन कुरेर बसेका हुनसक्थे । आधाभन्दा बढी ओरालो झर्न बाँकी नै थियो । मगासम्मको यात्रा टुङ्ग्याउन अझै आधा अनिश्चितताहरु बाँकी नै थिए । इग्नुपैनाको गोब्रे सल्लाको जङ्गल सुरू भैसकेको थियो ।
हामी केही तल झरेर आँखा रिङ्ने भिर काट्न थाल्यौँ । अभ्यस्त भैसकेको हुँदा उति आँखा रिङेनन् । केही तल झरेपछि धजाहाल्नेमा पुगेर फेरि चित्रिपाटनतिर फर्केर हेर्यौँ । बिहान ती चित्रिपाटन पराइजस्ता थिए अहिले आफ्नै परिवारका सदस्यतुल्य चिरपरिचित भैसकेका थिए । बिहान झन् झन् टाढा देखिने चित्रि अहिले झन् झन् नजिक हामीलाई पछ्याउँदै पछ्याउँदै आएझैँ लाग्यो । उनलाई एक्लै छोडेर आउनुपर्दाको विछोडको पीडा आँखाको गहमा छर्लक्कै भरिन पुग्यो । फेरि आउँछौँ है पाटन भन्दै दशणाम जोडेर प्रणाम गर्यौँ ।
अझै तल झरेपछि एउटा भयङ्कर अँध्यारो ओढारले हाउऽऽऽऽ गर्दै बाटो छेक्यो । हामीले यो चरीपोल्ने ओढार हो भनेर चिनिसकेका थियौँ तसर्थ डराएनौ । मनलालले भनेः आज यतै चरा पोलेर बस्ने हो कि त
मैले विरोध जनाएँ । एउटा प्राणीले अर्को प्राणीलाई त्यसरी निर्मम हत्या गरेर आहारा बनाउनुहुँदैन । यदी चराहरूले पनि मान्छेपोलेर खाने ओढार भन्ने नाम राखिदिए हामीलाई कत्तिको भय सिर्जना होला ?
हामी हाँस्दै तल कागमारे झर्यौँ । अहिले बेलुकाको ६ बजेको थियो साढे २ घण्टामा १३०० मिटरको ओरालो झरिसकेछौँ । अब त तीनभागको एक भाग बाटो बाँकी त छ । बिहान ३ घण्टा लागेको बाटो बढीमा डेढ घण्टामै पार गरिएला ।
आधा रातसम्म सुकुेटेको जङ्गलमै हराउँदाः
मैले रुपेलाई भोजन र पथप्रदर्शनको हिसाब चुक्ता गरेर नयाँडाँडा पुगेर बास बस्ने प्रस्ताव गरेँ । एक्कबहादुरले ठाडै अस्वीकार गरेः त्यति मिठो भोजन र न्यानो बास छोडेर अन्त लाग्ने होला बलै ।
अरू साथीहरूले पनि एक्कबहादुरको प्रस्तावलाई अस्वीकार गर्न सकेनन् । मैले भनेँः उसोभए बिहानको बाटो निकै ठाडो र चिप्लो छ । अलिकति सजिलो बाटो भए अर्को बाटो जाऊँ न त ।
रुपेले भनेः सुइकुटे हुँदै सालिमपाखापट्टिबाट अलि बाटो सजिलो छ त्यतैबाट जाम् न त ।
हामीले फरि रुपेको पथप्रदर्शन आवश्यकता खट्कियो । अलिकति पर पुगेपछि ठाउँठाउँमा ढालिएका गोब्रे सल्लाका विशाल मुढाहरूले बाटो छेकिएको थियो । ठाउँठाउँका बडेमानका मुढा नाघेर पारि जाने नै महामुस्किल पर्दथ्यो । हामी तेर्छैतेर्छो मात्र लागिरहेका थियौँ । बाटो त सजिलै थियो तर जङ्गल विनाशले गर्दा बाटो नराम्रोसँग बिग्रिसकेको थियो । हेर्नेको मन नसम्हालिने गरी जङ्गल सखाप बनाइएको थियो । हामीलाई उकालो चढ्नुभन्दा बिगारिएको बाटो पार गर्न निकै सकस परिरहेको थियो । हामीलाई तेर्छो बाटो काट्न नै डेढ घण्टा लाग्यो र ५० मिटर ओरालो पनि झर्न नपाउँदै अँध्यारो पनि भैहाल्यो ।
अबको बाटो ठाडै ओरालो थियो । दिउँसै अँध्यारो हुने जङ्गलमा रातमा झन् बाटो कता थियो भुइँ कता थियो देखिने कुरै थिएन । हामीसँग पर्याप्त उज्यालोको व्यवस्था पनि थिएन । रुपे र एक्कबहादुरको मोबाइलको टर्च बाल्न नै आएन । मेरो मोबाइल स्विचअफ थियो । धन्न खगेश्वरले पावरबैँक बोकेको कारण र मनलालको मोबाइलको ब्याट्री पनि नसकिएको हुँदा दुईजना अघिपछि लागेर बाटो पहिल्याउन मद्दत गर्न थाले । मुढाहरू लोटाएर ठाउँठाउँमा सुख्खा पहिरोजस्तो भूभागमा हामीहरू चारहातखुट्टा टेकेर सर्न थाल्यौँ । मेरो जुत्ता असाध्यै चिप्लिएकोले म पाइलापाइलामा पछारिन थालेँ । पुराना जुत्ता भएकोले जुत्ता यसै चिप्लिने भएका थिए त्यसमा पाइतालामा आएको पसिनाले मोजा समेत भिजेको हुँदा मोजाले नै जुत्ता चिप्ल्याइरहेका थिए र म घरीघरी लडिरहेको थिएँ । मेरो हालत देखेपछि रुपेले आफूले लगाएका जुत्ता मलाई दिएर मेरो जुत्ता लगाए । बल्ल चिप्लिन कम भयो । हामीलाई ६०० मिटरको ओरालो झर्न १३०० मिटरको उकालो चढ्नुभन्दा पनि बढी सकसपूर्ण हुन गयो र समय पनि अझ बढी लाग्न गयो ।
बल्लतल्ल हामी रातको साढे नौबजे मगा पुगेर विश्रान्ति लियौँ ।
लेखक आधा दर्जन कृतिका रचनाकार एवम् रुकुमेली वाङमय अधिष्ठानका सचिव हुनुहुन्छ ।