गहभरि आँसु,ठुलो मान्छे बन्ने सपना बोकी सहर हिँडेको त्यो दिन
बा मन भारी बनाई आशीर्वाद दिँदै हुनुहुन्थ्यो
आमा कुटिरो कस्दै सुँक्क सुँक्क रुँदै ,
परिवारबाट टाढा कसरी बस्छस् कान्छा भन्दै भक्कानिनु भो ।
बितेका दिनमा दुःख सुखमा सँगै बसेका हामी
अहिले बाध्यताले सहर लगे सँगै खुसी नि खोसिदियो
आमाको आँसु बा को सपना बोकी सहर हिँडे सँगै
भोक न प्यास , दिन न रात समान भइदियो ।
आज एक्लै सुनसान अनजान कोलाहल यो सहरमा
को आफ्नो को बिरानो बनायो झैँ लाग्दै छ
तल्ला घरे काका छैनन्, माथिल्लो घरको राई मामा छैनन्
सबै देखि टाढा चार कोठे पिँजडा को कैदी झैँ लाग्दै छ
भित्ताको पात्रोमा समय बदलियो, दिन ,महिना बदलियो
तर खोइ कसैले आफ्नो मानेन कसैले वास्ता गरेन
स्वार्थ को जालो चारै तिर लागेको छ सहरमा
मर्नै लाग्दा को कुरा होइन ठेस लाग्दा कसैले मद्दत गरेन ।
छोराको सम्झनामा भोकै आमा उता भक्कानिँदै छिन्
भोक प्यासले आज यहाँ म छटपटिँदै छु
जिम्मेवारीको कति ठुलो भार हुँदो रहेछ बुझ्दै छु म
बा -आमा दुःख सुख सँगै गरौँला ठुलो मान्छे बनी गाउँ आउँदै छु म ।।