Kakhara सबैको खबर सम्पूर्ण खबर
‘सर्वाधिक चर्चित’ एनपिएल आजबाट सुरु हुँदै, उदघाटनमा जनकपुर र विराटनगर खेल्ने

नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । एनपीएल-फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ । सहभागि टिम र खेलाडीहरुका साथै लगानीकर्ता अनी क्रिकेटका क्रेजी समर्थकहरु आज देखि हुने एनपीएलका लागि तयार छन् र निकै उत्सहित भएर बसेका छन् । अब त्यो प्रतिक्षाको घडी सकिन केही घण्टा मात्र बाँकी छ ।

आयोजक नेपाल क्रिकेट संघले दुई वर्षअघि नेपाल टी२० लिग गरेपनि त्यसलाई निरन्तरता दिन सकेन र नयाँ शैलीमा एनपीएल आयोजना गर्न लागेको जनाइसकेको छ । क्यानले एनपीएलको पहिलो संस्करण भनेको छ ।

उद्घाटन खेलका लागि तयार किंग्स र बोल्ट्स

एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ । त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ । जसमा केही प्रस्तुती पनि हुने जनाइएको छ । विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन् । सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो ।

उद्घाटन खेलका लागि दुवै टोली तयार रहेको कप्तानले बताएका छन् । विराटनगरका कप्तान सन्दीपले टिमले धेरै लगानी गरेको र जितकै लागि खेल्ने बताए । ‘निश्चित रुपमा हामी जितकै लागि खेल्नेछौँ । मैदान उत्रेपछि जसले पनि जित्न नै चाहन्छ ।’ मैदान बाहिर सबै जना राम्रो साथी भएपनि मैदान भित्र राइभलरी हुने र सबैले जितका लागि नै खेल्ने सन्दीपले बताए ।

यस्तै जनकपुरका कप्तान अनिल शाहले पनि बोलेर भन्दा मैदानमै खेलेर देखाउने बताए । ‘हामीले जनकपुर मैदान नभएर काठमाडौंमा‌ आएर मात्र तयारी गर्‍यौं, अभ्यास खेलमा पनि राम्रो भयो, विदेशी खेलाडी आएर टिम‌ पनि राम्रो देखिएको छ।’

467574498_122126615270455690_7793160118759470767_n-1732938393.jpg
आईपीएल देखि विश्वका चर्चित सबै लिग खेलेको अनुभव रहेको सन्दीपले एनपीएलका लागि सबै जना उत्सहित रहेको र आफ्नै लिग खेल्ने सपना पूरा भएको बताए ।

किंग्स र बोल्ट्स दुवै जितसहित लिग सुरु गर्ने लक्ष्यमा छन् । दुवै टोद्यीमा विदेशी खेलाडीहरुको राम्रो साथ छ । विराटनगर किंग्समा विश्व चर्चित ब्याटर मार्टिन गप्टिलसहित ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल छन् । पहिलो खेलमा यही चार जना खेल्नेछ  ।

यस्तै जनकपुरको टिममा न्युजलियाण्डकै अलराउण्डर जिम्मी निसम देखि पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकन लाहिरु मिलान्था र जोसुअ ट्रोम्प, इंग्ल्याण्डका बेन माइक र क्यानडाका अलराउण्डर हर्श थाकेर छन् । निसम र ट्रोम्प बाहेक बाँकी चार खेलाडी नेपाल आइसकेका छन् र पहिलो खेलमा स्पीन अलराउण्डर मोहसिन, टप अर्डर ब्याटर लाहिरु तथा अलराउण्डरद्वय बेन र थाकेर खेल्नेछन् ।

एनपीएलमा हरेक टिमले चार खेलाडी पहिलो रोजाईँमा खेलाउनुपर्नेछ । टिममा भने ६ जना सम्म विदेशी खेलाडी राख्न पाउनेछ । नाम चलेका स्टार विदेशी खेलाडीहरु आउँदा नेपालका युवा खेलाडीहरुका लागि सिक्ने अवसर हुनेछ । विराटनगरमा राष्ट्रिय टिमका सन्दीप सहित राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम प्रतिश जिसी र बसिर अहमद जस्ता खेलाडी छन् । यस्तै २०१४ को विश्वकप खेलेका जितेन्द्र मुखिया पनि छन् ।

किग्स र बोल्ट्स दुवैमा टप अर्डर स्पीन अट्याक राम्रो देखिएको छ । जनकपुरमा नेपाली ओपनिङ जोडी अनिल र आसिफ छन् । यस्तै लहिरु मिलान्थ मुख्य ब्याटरको रुपमा छन् । तीनै जनाले ओपनिङ र टप अर्डरमा खेल्ने अनी विकेटकिपर समेत हुन् । त्यसपछि भने मध्यक्रममा जनकपुरको भर विरेशी खेलाडीमा हुनेछ । पहिलो खेलमा निसम उपलब्ध हुने छैनन् । अमजन बोल्ट्सबाट टि२० लिग खेलिरहेका निसम उता खेल छाडेर एनपीएलका लागि नेपाल आउँदैछन् । पहिलो खेलमा जनकपुरका विदेशी खेलाडीमा लाहिरु मिलान्थासँगै अलराउण्डरहरु मोहसिन, बेन माइक र थाकेरले खेल्नेछन् ।

यस्तै विराटनगरमा मार्टिन गप्टिलसहित ओमानका आकिश इल्यास र नेपालकै लोकेश बम छन् । स्पीनतर्फ विराटनगरमा कप्तान सन्दीप लामिछाने सहित स्पीन अलराउण्डर बसिर अहमद, युवा स्पीनरद्वय सुवास भण्डारी र अनिल खरेल छन् । पेस बलिङका स्कटिस क्रिस सोलसहित नेपालका प्रतिशत जिसी र जितेन्द्र मुखिया छन् ।

यसैगरी जनपुरमा ललित राजंवक्कीको नेतृत्वमा रहेको स्पीन अट्याकमा मोहसिन र शेर मल्लको साथ हुनेछ । पेस बलिङमा अष्ट्रेलियाबाट आएका किशोर महतो छन् । उनलाई बलिङ अलराउण्डर बेन माइक र हर्श थाकेरले साथ दिनेछन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update