रोल्पामा झोलुङ्गे पुलको रिटेनिङ वाल भत्किँदा पुरिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सुनछहरी गाउँपालिका–३, बाहिरी गाम निवासी ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, २७ बर्सिया आइती परियार, ४० बर्सिया सवित्रा परियार र ६६ वर्षीय देवीराम परियार रहको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिनुभयो ।
जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा-कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ९ः५० बजेको समयमा पहिरोमा पुरिएको खबर आउना साथ प्रहरी चौकी गामबाट ५ जनाको टोली र इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
एल.बी. एण्ड पल्ल्भी जक्सन निर्माण सेवाले काम गरिरहेको उक्त स्थानमा ७ जना कामदार रहेकोमा दुई जना भागेर बाँच्न सफल भएको स्थानीयले बताएका छन् ।