Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ५ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न, झन्डै ८० प्रतिशत मत खस्यो 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । वडाध्यक्षका लागि भएको उपनिर्वाचन अन्तर्गत आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सकिएको हो । शान्तिपूर्ण र उल्लासमय वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सानीभेरी ५ मा झन्डै ८० प्रतिशत मत खसेको छ । कुल १४ सय ३४ जना मतदाता रहेको वडामा ११ सय ४६ मत खसको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो । मतदान गर्नेहरूमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको छ । कार्यालयका अनुसार ६ सय ६ जना महिलाले मतदान गर्दा ५ सय ४० पुरुष मतदाताले मतदान गरेका छन् ।

झन्डै ८०  प्रतिशत मतदाताले मतदान गर्नु निकै उत्साहजनक उपस्थिति रहेको मुख्य निर्वाचन अधिकृत बस्यालको भनाई छ । उपनिर्वाचनका लागि सानीभेरी ५ मा नेपाल राष्ट्रिय मावि घापाघारमा एउटा मात्र मतदान स्थल र त्यसमा दुई वटा मतदान केन्द्र कायम गरिएको थियो । मतदान सम्पन्न भएको र आवश्यक प्रक्रिया पूरा गरेर मत पेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय लाखुरीबोटमा ल्याउने तयारी चलिरहेको छ । 

मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएपछि सर्वदलीय बैठक गरेर मतगणना आजै गरिने कार्यालयको भनाई छ । धेरै मत नभएका कारण आजै रातीसम्म मत परिणाम सार्वजनिक भइसक्ने बताइएको छ । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्‍याएसँगै सर्वदलीय बैठक बसेर आजै मत गणना सुरु गर्ने र कुनै विवाद नआए २ घण्टामै मत गणनाको नतिजा आउने मुख्य निर्वाचन अधिकृत बस्यालको उहाँको भनाई छ ।

वडाध्यक्षका लागि नेपाली काँग्रेसका तर्फबाट मोतीराम खत्री र नेकपा माओवादी केन्द्रका तर्फबाट जसीराम बस्नेत चुनावी मैदानमा हुनुहुन्छ ।यस वडामा २०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष अलबहादुर कुसारीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि आज उप निर्वाचन भएको हो । 

नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल समाजवादी पार्टी लगायतको गठबन्धनबाट नेपाली काँग्रेसका कुसारी वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार तीर्थबहादुर केसीलाई २८ मतले पराजित गर्नुभएको थियो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अलबहादुर ४ सय ६२ मत पाएर निर्वाचित हुनुभएको थियो भने नेकपा माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४ सय ३४ मत पाउनुभएको थियो । 

उक्त चुनावका लागि वडामा मतदाता सङ्ख्या १२ सय ५७ रहेको थियो । यस पटकको उपनिर्वाचनमा भने मतदाता सङ्ख्या बढेर १ हजार ४ सय ३४ पुगेको छ । गत चुनावमा कडा प्रतिस्पर्धा भएकोमा यो चुनावको नतिजामा पनि सोही अनुसारको प्रतिस्पर्धा हुने देखिएको छ । उप निर्वाचनमा पनि नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टी माओवादी विरुद्ध एकजुट भएका छन् ।

काँग्रेस, एमाले, नेसपा गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार मोतीराम स्वर्गीय वडाध्यक्ष अलबहादुरका सहोदर भाइ हुनुहुन्छ भने माओवादीका उम्मेदवार जसीराम २०७४ का वडा सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update