Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथामा ५३ प्रतिशत मत खस्यो, मत गणना सोमबार गरिने 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५३ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको अवधिमा ५३ प्रतिशत अर्थात ५ हजार ९ सय ३१ मत खसेको  हो । पालिकाका १४ वटा वडाका २२ मतदान केन्द्रबाट उक्त संख्यामा मत खसेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ हजार ९६ महिला र २ हजार ८ सय ३५  पुरुष गरी कुल ५ हजार ९ सय ३१ मतदाताले मतदान गरेका हुन् । सवै वडामा शान्तीपूर्ण रुपमा मतदान सम्पन्न भएको उहाँको भनाई छ । पालिकाका केही वडाहरु टाढा भएकाले मतदानस्थलबाट मत पेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइपुयाउन समय लाग्ने बताएको छ ।

सवै मत पेटीका पालिकाको केन्द्र १० नम्बर वडाको तकसेरामा ल्याइ पुर्याएपछि मात्र मत गणना हुनेछ । सोमबार विहानसम्म मत पेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय तकसेरामा आइपुगेपछि सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत हमालले जानकारी दिनुभयाे । 

यहाँ कुल ११ हजार १ सय ८० मतदाता रहेका थिए । उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्नबाट  केशकुमारी तुलाचन  र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा पुन उपाध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । वडाध्यक्ष पदमा भने माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ । 

गत भदौ २८ गते बागलुङमा गाउँपालिकाको गाडी दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नम्बर  वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । 


 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update