नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिका वडा नम्बर ५ ले मतदातलाई धन्यवाद दिएको छ । आइतबार भएको उपचुनावमा नेपाली काँग्रेस, एमाले र नेपाल समाजवादी पार्टी सम्मिलित गठबन्धनसंग पराजित भएको माओवादी केन्द्रले आज एक विज्ञप्ती जारी गर्दै पार्टीका उम्मेदवार जसीराम बस्नेतलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिएको हो ।
सानीभेरी ५ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार जसिराम वस्नेतले सत्तापक्ष गठवन्धनको समर्थनमा नेपाली काङ्ग्रेसका उम्मेद्वार मोतिराम खत्रीसंग बहुदलीय प्रतिपर्दामा विजय र पराजय हुनु स्वभाविक छ, यस सन्दर्भमा गठवन्धन विरुद्ध एकल पार्टीको जनमतलाई मूल्यांकन गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतलाई दुई तिहाई बहुमत दिनुहुने पार्टीका कार्यकर्ता, शुभेच्छुक र समर्थक दाजुभाई दिदीवहिनीलाई हार्दिक धन्यवाद छ, विज्ञप्तीमा भनिएको छ ।
साथै माओवादीले एकल चुनाव लड्दा उत्साहित भएको जनाएको छ । दुई ठुला दल काँग्रेस र एमाले लगायतका दल मिल्दा पनि राम्रो मत प्राप्त गरेको भन्दै माओवादीले एकल चुनावका लागि उत्साहित रहेको बताएको हो । हाम्रो पार्टीले उप निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकार गरी आत्म समीक्षा गर्दा पार्टीहरुको एकल प्रतिस्पर्दामा हामी उत्साहित छौँ । सत्तापक्ष गठवन्धन र एकल प्रतिपक्ष माओवादी केन्द्र हुँदा हामीलाई चुनौतीले गम्भीर बनाएको छ भने संभावना सहितको शिक्षाले उत्साहित बनाएकोले आउने दिनमा विशेष ध्यान दिन गहिरो महशुस गरेका छौं, विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै माओवादीले उपनिर्वाचनमा विजयी नेपाली काँग्रेसका उम्मेद्वार मोतिराम खत्रीलाई बधाई समेत दिएको छ । यसका साथै मुख्य निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र बुथमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी, अनुगमणकर्ता र संचारकर्मीलाई निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा भुमिका पुरा गरेको भन्दै सबैलाई धन्यवाद पनि दिएको छ । वडाध्यक्षमा पराजित जसीराम बस्नेत र पार्टीका वडाध्यक्ष तीर्थबहादुर खत्रीले विज्ञप्ती जारी गर्नुभएको हो ।
यसवडामा २०७९ को स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेस विजयी भएको थियो ।